हर्षोउल्लासका साथ सर्लाही सहित देशैभरी तीज

82 Shares

हिन्दु नेपाली नारीहरुको महान चाड हरितालिका तीज पर्व आज(शुक्रबार) जिल्लाका महादेव मन्दीहरुमा पूजा आराधना गरी धुमधामसँग मनाइएको छ ।भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा,उपासना गरेमा पारिवारिक सुख,शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वासका साथ हिन्दु नेपाली नारीहरुको महान चाड हरितालिका तीज पर्व मनाउने गर्दछन् ।सत्ययुगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत बसी महादेवलाई प्राप्त गरेको धार्मिक मान्यता अनुसार तीज मनाउने चलन रहेको छ ।
बिहीबार(हिजो)दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ ।तृतीयाका दिन हरितालिका व्रत,चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी हरितालिका तीज समापन हुन्छ ।
जस अनुसार सर्लाहीको लालबन्दी नगरपाकिला ७ स्थित डुमडुमे,हरिवन नगरपालिका १ स्थित कैलाशपुरी र हरिवन नगरपालिका ९ स्थित सुखेपोखरी, ईश्वरपुर नगरपाकिला ४ स्थित सागरनाथ,बरहथवा नगरपालिका ९ स्थित मूर्तियालगायत जिल्लाभरकै शिव मन्दिरहरुमा महिलाहरुले नाचागानसहित हर्षोउल्लासपूर्वक यो पर्व मनाएका छन् ।जिल्लाका मुख्य शहरहरु देखि गाउँ गाउँका शिव मन्दिरहरुमा नाचगान भएका छन् ।
पूर्व पश्चिम राजमार्गको लालबन्दी,नवलपुर,हरिवन,नयाँरोड र बागमती लगायतका स्थानमा रहेका शिव मन्दिरहरुका साथसाथै चोक,बजार र विभिन्न मार्ट अगाडि पनि नाचगानका कार्यक्रम भएका छन् । तीजलाई हिन्दु नेपाली नारीहरुले वर्ष दिनभर आफूलाई परेका दुःख,पीर, मर्कालाई गीतमा पोख्ने पर्वका रुपमा समेत लिने गर्छन,तर विभिन्न चाडपर्वहरुको नाममा पछिल्लो समय भड्किलोपन र देखासिखी बढेको भन्दै जानकारहरुले चिन्ता व्यक्त गर्ने गरेकाछन् ।हरितालिका तीज पर्वको अवसरमा सरकारले यो वर्ष पनि महिलाहरुका लागि बिदा दिएको छ ।
यसैबिच,मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्व आज(शुक्रबार)मनाइँदैछ ।भदौ शुक्ल तृतीया तीथिको हरितालिका तीज व्रत र मिथिलामा भदौ शुक्ल चौथीको चन्द्रदर्शनको पर्व(चौरचन) आज(शुक्रबार) एकैदिन परेको हो यस वर्ष चौथी तिथि आज(शुक्रबार) र भोलि(शनिबार) छ ।
मिथिलाका ठूला पर्वमध्ये एक रहेको चौरचन पर्वमा चन्द्रमालाई पूजा गर्ने परम्परा रहेको छ।पर्वको दिन व्रतालु दिनभर उपवास बसेर बेलुका गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्छन् ।भदौ शुक्ल चौथीको व्रत बसेर गरिने चन्द्रदर्शनले मित्र बढ्ने,सुख शान्ति प्राप्ति हुने लगायतका विश्वास रहेका छन् ।

सम्बन्धित समाचार