नेपाल प्रहरी प्रधान कार्यालय सहित प्रादेशीक कार्यालय र अन्य विभिन्न निकायमाहरु गरी करिब तीन दर्जन मुद्धा परेका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया,बारा मधेश प्रदेशका प्रमुख एवम प्रहरी उपरीक्षक राजकुमार सिलवालले आफ्नो असुली धन्दा चलाई रहेका भएपनि सरोकारवाला निकाय मौन बसेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, प्रादेशीक कार्यालय,हेलो सरकार र हेलो गृह मन्त्रालयमा गरी करिब तीन दर्जन मुद्धा परेपनि प्रहरी उपरीक्षक सिलवाल उपर छानविन नहुँदा उनको असुली नरोकिएको प्रहरी अधिकारीहरु बताउँछन् । मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख एवम डिआइजी उमाशंकर चतुर्वेदीले एआइजीमा बढुवा सिफारिस भए पछि प्रहरी उपरीक्षक सिलवाललाई सामान्य कार्बाही गरेर गएका भएपनि उनको असुली धन्दा रोकिएको छैन् ।छ वटा कम्पनीका त्रिनेत्र,रोयल एसएस, थानिमाई,लमजुङ कालिका, बन्धन र रोडिज नामका माल वाहक सवारी साधनहरुले ढुङ्गा बोक्ने र भारतबाट कोइला बोकेर नेपाल आउने ठूला ट्रकहरुसंग मासिक रु ५० हजार देखि रु दुई लाख सम्म प्रहरी उपरीक्षक सिलवालको नाममा असुली भई रहेको यातायात व्यवसायीहरू नै बताउँछन्।यी कम्पनीका मालिकहरूलाई प्रहरी उपरीक्षक सिलवालले आफै भेट्ने र मासिक रुपमा रकम असुल्ने गरेका ट्राफिक प्रहरी अधिकारीहरु पनि बताउँछन्।उनीहरुका अनुसार यसका साथै मकवानपुरको ढुङ्गा खानीबाट चुन ढुङ्गा लिएर सिराहाको मिर्चैया स्थित रहेको सौर्य सिमेन्ट,रिद्विसिद्वि सिमेन्ट र मारुती सिमेन्ट उद्योगमा जाने टूकहरुसंग प्रत्येक ट्रक मासिक रु १० हजारको दरले प्रहरी उपरीक्षक सिलवालले कमिसन उठाउने गरेका छन् ।
प्रहरी उपरीक्षक सिलवालले आफ्नो मातहतका मधेस प्रदेशका आठै जिल्लाका ट्राफिक प्रहरी निरीक्षक हरूलाई यसरी कोइला र चुन ढुङ्गा बोक्ने टूकहरुका मालिकहरूलाई कुनै रकम दिनु नपर्ने भन्ने उर्दी समेत दिएको व्यवसायीहरू स्वयंले बताए ।सर्लाहीको नयाँ रोड स्थित रहेको सर्लाही ट्रक व्यवसायी संघले सञ्चालन गरेको काँटामा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट नयाँ रोडका ट्राफिक प्रहरी अधिकारीहरु का अनुसार त्रिनेत्र,रोयल एसएस, थानिमाई,लमजुङ कालिका,बन्धन र रोडिज नामका माल वाहक सवारी साधनहरुले भार वाहन क्षमता भन्दा बढी ढुङ्गा र कोइला बोकेर आउँदा समेत कार्बाही नगर्न प्रहरी उपरीक्षक सिलवालले निर्देशन दिने गरेका छन्। “त्रिनेत्र,रोयल एसएस, थानिमाई,लमजुङ कालिका,बन्धन र रोडिज नामका माल वाहक सवारी साधनहरुले भार वाहन क्षमता भन्दा बढी ढुङ्गा र कोइला बोकेर आउँछन् ।हामी काटाँमा कार्बाही गर्न खोज्छौँ तर एसपी सावको फोन आउँछ ।”ती ट्राफिक प्रहरी अधिकारीले बताए ।
यसका साथै भारतीय नम्बर प्लेटका विभिन्न सामान बोक्ने २२ चक्के मालवाहक सवारी साधनहरुबाट दैनिक प्रति ट्रक रु दुई हजार सम्म प्रहरी उपरीक्षक सिलवालले ट्राफिक प्रहरी कर्मचारी परिचालन गरेर करम असुल्ने गरेका ट्राफिक प्रहरी अधिकारीहरु नै बताउँछन् ।प्रहरी उपरीक्षक सिलवालले गोरू तथा भैँसी ओसार पसार गर्ने सवारी साधनहरुबाट पनि मधेस प्रदेशका प्रहरी प्रमुख एवम डिआइजी गोविन्द थपलियाको नाममा समेत कमिसन असुल्ने गरेका स्रोतको दाबी छ।गोरूको रकम भीम सुनार र उत्तम क्षेत्री मध्ये एउटाले लगेर दिने गरेको प्रमाण ट्राफिक प्रहरी कार्यालयका सिसि क्यामारामा हरेक महिना कैद हुने गरेका एक ट्राफिक प्रहरी अधिकारीले बताए ।
ती ट्राफिक प्रहरी अधिकारीका अनुसार उनीहरुले चितवन नारायणी पुल देखि पथलैया सम्मको प्रहरी मिलाउने जिम्मेवारी लिएका छन् ।यसअघिका डिआइजी चतुर्वेदीको नाममा पनि गोरूको कमिसन प्रहरी उपरीक्षक सिलवालले उठाउने गरेको प्रमाण सहित फेला पारेपछि उनी छानबिनमा परेका थिए ।तर चर्चा गर्न लायक कुनै काबाृही नभएको प्रहरी अधिकारीहरु नै बताउँछन्।प्रहरी उपरीक्षक सिलवालको निर्देशनमा कमिसन उठाउने प्रहरी जवान रवि राईलाई छानबिन र कारबाहीको लागि धनुषा प्रदेश प्रहरीमा तानिएको भए पनि प्रहरी उपरीक्षक सिलवालले डिआइजी थपलियालाई मिलाएर फेरि पथलैया ल्याई सकेका प्रहरी स्रोतको दाबी छ ।
त्यतिमात्र नभई मधेस प्रदेशका आठ जिल्लाका ट्राफिक प्रहरी प्रमुख एवम प्रहरी निरीक्षकहरुले मासिक रु २० हजार प्रहरी प्रमुख एवम आइजिपीको भाग भनेर पथलैया ट्राफिकमा बुझाउने गरेका समेत स्रोतको दाबी छ ।उक्त रकम प्रहरी प्रमुख एवम आइजिपी कहाँ पुग्छ कि पुग्दैन ? त्यो दिने र लिनेलाई थाहा होला ।
चोरीका सवारीसाधन पक्राउ गरेपछि भन्सारमा बुझाउनुपर्ने कानुनी व्यवस्था भए पनि प्रहरी उपरीक्षक सिलवालले सो नियम उल्लंघन गरेका थिए।प्रहरी उपरीक्षक सिलवालले चोरीको स्कारपियो पक्राउ गरी भन्सारमा बुझाउने प्रक्रिया पूरा नगरी चोरीको स्कारपिया अझै भन्सार नबुझाएर आफै चढेर हिडिरहेका समेत पाईएको छ। भन्सारले उक्त सवारीसाधन लिलामी गरेर राज्यलाई राजस्व उपलब्ध गराउने प्रावधान रहेको भएपनि प्रहरी अधिकारी स्वयंले कानुन विपरीत काम गरेको भन्दै त्यती बेलै प्रश्न उठेको थियो ।
यसअघि मधेस प्रदेश प्रहरी कार्यालयले ३ वटा छुट्टाछुट्टै समितिहरू गठन गरी प्रहरी उपरीक्षक सिलवाल माथि अनुसन्धान गरेको थियो।प्रहरी उपरीक्षक सिलवालमाथि ३५ थान उजुरी परेको छ । जसमा विभिन्न जिल्लाबाट आएका उजुरीहरू समेत समावेश थिए। उजुरीहरूमा सवारी चालकलाई मापसे गरेर जरिवाना गर्नुको सट्टा रातभर नियन्त्रणमा राख्ने,रकम असुल्ने,चोरीको स्कारपियो नियन्त्रणमा लिएर आफूखुसी प्रयोग गर्ने र राजमार्गमा स्थानीय प्रहरीसँग समन्वय नगरी चेकजाँच गर्ने लगायतका आरोप छन्।छानबिन समितिको नेतृत्व वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहाल,कमल थापा र प्रहरुी उपरीक्षक नारायण रञ्जितकारले गरेका थिए।तर प्रहरी संगठनको नै बद्नाम गराउने काम गरेका प्रहरी उपरीक्षक सिलवाल माथि कुनै कार्बाही नभएको पाइएको छ।जसका कारण उनको मनोवल झन बढेको हुन सक्ने स्थानीय बताउँछन् ।
यता,भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलन पछि असुली, भ्रष्टाचार र घुषखोरी रोकिने तथा सुशासन कायम हुने आशा गरिए पनि त्यो रोकिएको छैन।असुली,भ्रष्टाचार र घुसखोरी रोकिने तथा सुशासन कायम हुने आशा सहित जेनजी आन्दोलन पछि बनेका गृहमन्त्री ओम प्रकाश अर्यालले थाहा नपाएका हुन वा थाहा पाएर पनि त्यसलाई नियन्त्रण गर्न नसकेका हुन् ?भन्ने प्रश्न उठेको छ । उनलाई सो विषयमा जिज्ञासा राख्दा पत्रकारहरुले समाचार लेख्दैमा आफुलाई कुनै फरक नपर्ने प्रतिक्रिया दिए ।