करिब ११ हजार मतदान केन्द्रहरु मध्य ३५१८ मतदान केन्द्र अतिसंवेदनशील

213 Shares

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि तीन हजार पाँच सय १८ वटा मतदान केन्द्रहरु अतिसंवेदनशील रहेका सुरक्षा निकायहरूले निष्कर्ष निकालेका छन्।देशभरका तीन हजार पाँच सय १८ वटा मतदान केन्द्रहरु अतिसंवेदनशील रहेका सुरक्षा निकायहरूले निष्कर्ष निकालेका गृह मन्त्रालयका प्रवत्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।
उनका अनुसार विशेषतःतराईका क्षेत्र र सीमा क्षेत्रमा रहेका मतदान केन्द्रहरूलाई अतिसंवेदनशील क्षेत्रको रुपमा मानिएको छ।“सुरक्षा निकायबाट तीन हजार पाँच सय १८ मतदान केन्द्रलाई अतिसंवेशनशीलको रूपमा प्रस्ताव गरिएको छ। त्यस सम्बन्धमा राष्ट्रिय सुरक्षा परिषद्मा पनि प्रस्तुत गरेपछि आवश्यक निर्णय लिइने छ।”प्रवत्ता काफ्लेले जानकारी दिए ।त्यस्तै चार हजार पाँच सय २९ मतदान केन्द्र संवेदनशील र दुई हजार आठ सय ७९ मतदान केन्द्र सामान्य रहेका सुरक्षा निकायले पेश गरेको तथ्यांकमा उल्लेख गरिएको छ । 
मन्त्रालयका अनुसार प्रतिनिधि सभाको निर्वाचन फागुन २१ लाई लक्षित गरेर सरोकारवाला निकायहरुसंग निरन्तर छलफल समेत भई रहेको छ।गृह मन्त्रालयको संयोजकत्वमा चारवटै सुरक्षा निकायका प्रतिनिधिहरु रहेको एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ को मस्यौदा गर्नका लागि कार्यदल गठन समेत गठन भएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।उक्त कार्यदलले निर्वाचन सुरक्षा योजनाको मस्यौदा लगायतका विषयमा छलफल जारी राखेको हो ।उत्त मस्यौदामा निर्वाचन क्षेत्र,मतदान केन्द्र लगायत विषय सहित निर्वाचनमा सुरक्षा निकायलाई कसरी परिचालन गर्ने भन्ने विषयहरुपनि योजनामा समेटिएको छ। सुरक्षा निकायले संवेदनशील क्षेत्र र सीमा सुरक्षा लगायतका विषयमा विभिन्न योजना बनाएका छन् ।
त्यस्तै निर्वाचनका लागि तीन तहमा सुरक्षा योजना बनाइएको गृह मन्त्रालयले जनाएको छ। जसमा निर्वाचन पूर्वको तयारी,निर्वाचनका दिन गर्ने तयारी र निर्वाचन पछि गरिने तयारीहरू समेटिएको प्रवक्ता काफ्लेले बताए ।त्यस्तै निर्वाचन केन्द्रित सुरक्षा योजनाका लागि सातवटै प्रदेशमा गोष्ठी सुरु भएका छन् ।हिंसा भड्काउने र जनतालाई आतंकित बनाउने जस्ता गैरकानुनी गतिविधिहरूलाई कडाइका साथ निगरानी गरिरहेको मन्त्रालय स्रोतले जनाएको छ।स्रोतका अनुसार सुरक्षा योजना बनाउँदा पहिलेकै मतदान केन्द्रलाई आधार बनाइएको छ।अहिले मतदाता थपिएकाले यो संख्या तलमाथि हुन सक्ने समेत निर्वाचन आयोगले जनाएको छ ।

सम्बन्धित समाचार