मधेस प्रदेशका आठ जिल्लामा एकै वर्षमा करिब पाँच सय नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन्।मधेश प्रदेशका आठ जिल्लामा चार सय ७४ जना नयाँ एचआइभी सङ्क्रमित भेटिएका मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।निर्देशनालयका अनुसार नयाँ सङ्क्रमितमध्ये १६ जना गर्भवती महिला रहेका छन् ।
नयाँ सङ्क्रमितहरूमा अधिकांश वैदेशिक रोजगारीबाट फर्किएका पुरुषहरू रहेका साथै महिला,तेस्रो लिङ्गी तथा यौनकर्मीहरू पनि रहेका स्वास्थ्य निर्देशनालयका राजवीर यादवले जानकारी दिए। उनका अनुसार सङ्क्रमितहरूलाई दातृ निकायको सहयोगमा नेपाल सरकारले उपलब्ध गराएको एचआइभी एड्स विरुद्धको औषधि मधेस प्रदेशका ११ वटा एआरटी सेन्टरहरु मार्फत स्वास्थ्यकर्मीहरुको निगरानीमा खुवाइँदै आएको छ।
मधेशको सप्तरीमा एक सय ८१ जना,सिरहामा चार सय २६ जना,धनुषामा आठ सय २२ जना,महोत्तरीमा तीन सय ६४ जना,सर्लाहीमा पाँच सय २० जना,रौतहटमा तीन सय ९० जना,बारामा दुई सय ३८ जना र पर्सामा एक हजार आठ सय ९६ जना एचआइभी एड्स सङ्क्रमित रहेका निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार जिल्लागत तथ्यांक अनुसार सबै भन्दा धेरै पर्सामा एक हजार आठ सय ९६ जना एचआइभी एड्स सङ्क्रमित रहेका छन्।मधेश प्रदेशमा नयाँ र पुराना गरी एचआइभी एड्स सङ्क्रमितहरुको संख्या चार हजार तीन सय ३२ पुगेको छ।सबै एचआइभी एड्स सङ्क्रमितलाई रोगसँग लड्ने क्षमता बढाउने औषधि नियमित रूपमा खुवाउने व्यवस्था गरिएको निर्देशनालयले जनाएको छ।