मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मंसिर २४ गते विश्वासको मत लिने भएका छन्।धेश प्रदेशका सात दलहरुको गठबन्धनको आईतबार बसेको बैठकले सो निर्णय गरेको नेकपा(माओवादी केन्द्र)का नेता एवम प्रदेश सभा सदस्य तथा निवर्तमान मन्त्री युवराज भट्टराई(समीर)ले जानकारी दिए ।उनका अनुसार मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आईतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।मुख्यमन्त्री यादवले शपथपछि सानो आकारको मन्त्रिपरिषद् गठन गरेका छन्।
जसमा नेपाली कांग्रेसका जंगीलाल राय यादव र नेकपा(एकीकृत समाजवादी)का कनिश पटेलले विना विभागीय मन्त्रीका रूपमा र जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले अर्थमन्त्रीको शपथ लिएका छन् ।विश्वासको मत पाएपछि बाँकी मन्त्रालयको टुङ्गोे लगाउने मधेश सरकारको तयारी छ ।
यसका साथै यसअघिको सरकारले गरेका सबै निर्णयहरू बदर गरेका छन् ।मधेश सरकारको मन्त्रिपरिषद् बैठकले गत कात्तिक २३ गतेदेखि मंसिर १७ गतेसम्मका तत्कालीन क्याबिनेटबाट भएको सम्पूर्ण निर्णयहरू बदर गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा गत कात्तिक २३ गते राति मुख्यमन्त्री नियुक्त भएका नेकपा(एमाले)का नेता सरोज कुमार यादवले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेका थिए ।एमालेका नेता एवम निवर्तमान मुख्यमन्त्री यादवका विरुद्ध सर्वाेच्च अदालतमा मुद्धा परेपछि उनलाई दिर्घकालीन कुनैपनि निर्णय नगर्दै विश्वासको मत लिन आदेश भएको थियो ।तर उनले विश्वासको मत नपाउने सम्भावना देखेपछि राजिनामा दिएपछि अर्काे सरकार गठन भएको हो ।