नेपालमा प्रदेश सभाको निर्वाचन भएको दुई कार्यकालको आठ वर्षमा मधेश प्रदेशमा छ जना मुख्यमन्त्री भएका छन् ।आठ वटा जिल्ला मिलेर बनेको मधेश प्रदेशमा छ जना मुख्यमन्त्री हुँदा पाँच जिल्लाले मुख्यमन्त्री पाएको छ ।पर्साबाट प्रदेश सभा सदस्य लालबाबु राउत मधेशका प्रथम मुख्यमन्त्री हुँदा रौतहटका प्रदेश सभा सदस्य कृष्णप्रसाद यादव छैठौँ मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
राउतले पाँच वर्षे कार्यकाल सफलतापूर्वक पूरा गरेका भएपनि त्यसपछिका तीन वर्षमा पाँच जना मुख्यमन्त्री नियुक्त हुँदा बाराका सरोज कुमार यादव दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री बनेका थिए।सप्तरीका सतीश कुमार सिंह तेस्रो मुख्यमन्त्री,बाराका जीतेन्द्र सोनल चौँथो मुख्यमन्त्री र महोत्तरीका सरोज कुमार यादव पाँचौ मुख्यमन्त्रीको रुपमा नियुत्त भएका थिए ।
पछिल्लो पटक दुई महिनामा तीन जना मुख्यमन्त्री हटेर नेपाली कांग्रेसका नेता यादव चौथो मुख्यमन्त्रीमा नियुक्त भएका छन्।मधेश प्रदेश सभाको दोस्रो कार्यकालमा सभामुख पनि पदमुक्त भएका छन्।दोस्रो सभामुखको चयन हुन बाँकी रहेको छ भने आठ वर्षको अवधिमा छैठौँ मुख्यमन्त्री बनेका यादवले विश्वासको मत बुधबार लिने भएका छन् ।
देश संघीय संरचनामा गएपछि “गाउँ गाउँको सिंह दरबारको”एउटा सरकार मधेश प्रदेश सरकारको पहिलो कार्यकाल अत्यन्त व्यवस्थित र उत्साहपुर्ण देखिएपनि दोस्रो कार्यकालमा भएको राजनीतिक उथलपुथलले प्रदेशको संरचना माथि नै प्रश्न खडा गरेको छ ।
मधेश प्रदेशको पहिलो पञ्चवर्षीय कार्यकालमा एकजना मुख्यमन्त्री राउत र एकजना सभामुख सरोज कुमार यादव रहे पनि दोस्रो कार्यकालमा सबै दु्रतगतिले बदलिएको छ ।आमनिर्वाचन पछि जनता सामाजवादी पार्टी(जसपा)नेपाल संसदीय दलका नेता सरोज कुमार यादवको नेतृत्वमा सरकार गठन भयो।संविधानको धारा १६८(२)बमोजिम गठन भएको सो सरकारमा नेपाली कांग्रेस,लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नेकपा(एकीकृत समाजवादी),जनमत पार्टी र नेकपा(माओवादी केन्द्र)सहभागि भए ।तत्कालिन मुख्यमन्त्री यादवले प्रदेश सभाको आफ्नो पहिलो कार्यकालमा बहुमत सिद्ध गरेपनि दोस्रो पटक प्रदेश सभामा बहुमत सिद्ध गर्न असफल भएपछि उनको नेतृत्वको सरकार ढल्यो ।
त्यसपछि जनमत पार्टीको प्रदेश सभा सदस्य सतीश कुमार सिंहको नेतृत्वमा मधेश प्रदेश सरकार गठन भयो ।जहाँ नेकपा(एमाले),नेपाली कांग्रेस,लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा)सहभागी थिए।सिंह नेतृत्वको सरकारलाई जनमत पार्टीकै अग्रसरतामा ढाल्ने काम भयो।सत्ता साझेदार अन्य दलहरुले सरकारलाई जोगाउने हरसम्भव प्रयास गरिरहेपनि जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई प्रदेश सभा बैठकमा राजिनामा दिन बाध्य बनाए र आफ्नै दलका सांसदहरुको असहयोगको कारण मधेश प्रदेशमा पहिलो पटक सरकार ढल्यो ।
सिंहको सरकार ढलेपछि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा सरकार गठन गर्ने सहमति गरेको जनमत पार्टीका प्रदेश सभा सदस्यहरु रातारात निर्णय फेर्दै लोसपाका सांसद जितेन्द्र सोनलको नेतृत्वमा सरकार बनाउन तयार भए।लोसपाका नेता सोनल नेतृत्वको सरकार पनि २५ दिनमै ढल्यो।सोनलले विश्वासको मत लिने बखत सत्ता साझेदार दल नेकपा(माओवादी केन्द्र)र जनमत पार्टीका दुई/दुई जना गरी चार जना प्रदेश सभा सदस्यहरुले मतदानमा सहभागी नहुने बताएपछि सोनलले बाध्य भइ राजीनामा गर्नु पर्यो ।
सोनलको राजीनामा स्वीकृत भएपछि मधेश प्रदेशमा नसोचेको राजनीति अध्याय सुरु भयो।तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी(भण्डारी)ले ७३ जना प्रदेश सभा सदस्यहरुको हस्ताक्षर सहित सरकार बनाउन दाबी पेश गरेका सोनललाई मौका नदिइ गुपचुप रुपमा संविधानको धारा १६८(३) बमोजिम नेकपा(एमाले)संसदीय दलका नेता सरोज कुमार यादवलाई महोत्तरीको एउटा होटलमा लगेर मुख्यमन्त्री नियुक्त गरिन् ।
यादवको नियुक्तिलाई गैर कानुनी भन्दै ७३ जना प्रदेश सभा सदस्यहरु सर्वोच्च अदालत पुगे पछि सर्वोच्च अदालतको परमादेशपछि २४ घण्टा भित्र मुख्यमन्त्री यादवले विश्वासको मत लिन सक्ने वातावरण नबनेपछि उनी पनि प्रदेश सभामा राजीनामा घोषणा गर्न बाध्य भए ।
त्यसपछि नेपाली कांग्रेस संसदीय दलका नेता यादव सात दलको गठबन्धनबाट मुख्यमन्त्री बनेका छन्।उनी दुई महिना भित्र चौथो मुख्यमन्त्रीको रुपमा नियुक्त भएका हुन।उनलाई ७७ जना प्रदेश सभा सदस्यहरुको समर्थन रहेको छ भने प्रदेश सरकारको अबधी अब दुई वर्ष बाँकी छ ।भने मुख्यमन्त्री यादवले मंसिर २४ गते बुधबार विश्वासको मत लिने भएका छन् ।