गाउँस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने प्रदेश सरकारको प्राथमिकता रहेको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बाँनियाले बताए।सिन्धुलीको तीनपाटन गाउँपालिकामा निर्माण भएको गाउँपालिका अस्पतालको भवनको उद्धघाटन गर्न लाम्पन्टार पुगेका मुख्यमन्त्री बाँनियाले नयाँ भवनले तीनपाटनवासीका लागि स्वास्थ्य सुविधामा थप सहजता र भरोसा बढाउने विश्वास व्यक्त गरे ।
संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रु १२ करोड ७१ लाखमा तीनपाटन गाउँपालिका ११ मा निर्माण भएको २५ शैयाको गाउँपाकिला अस्पताल उद्धघाटन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज साहले जानकारी दिए ।तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापा मगरको अध्यक्षता एवम मुख्यमन्त्री बाँनियाको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि तीनपाटने गाउँपालिका अस्पतालको उद्धघाटन गरिएको तीनपाटन गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक राम वेचन साहले जानकारी दिए ।
शाखाका अनुसार स्थानीय स्तरमा स्वास्थ्य पूर्वाधार सुदृढ गर्ने अभियान अन्तर्गत निर्माण गरिएको यो अस्पताल भवनले आकस्मिक सेवा, मातृशिशु स्वास्थ्य,सामान्य उपचार, स्वास्थ्य परामर्श तथा प्रयोगशाला सेवा प्रभावकारी रूपमा सञ्चालनमा सहयोग पुग्ने छ।
साविकका वेलघारी,भिमस्थान, जरायोटार,बालाजोर,तोश्रामखोला, बाहुनतिल्पुङ्ग,आम्वोटे र लाम्पन्टार गा.वि.स.गरी आठ वडा गाविस मिलेर बनेको तीनपाटन गाउँपालिकामा ११ वटा वडा रहेका र प्राय सबै वडामा सामान्य स्तरमा स्वास्थ्य संस्थाहरु रहेका भएपनि सुविधा सम्पन्न अस्पताल नहुँदा स्थानीयलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता रहेकामा गाउँपाकिला अस्पताल निर्माण भएपछि सो असुविधा हटेको गाउँपालिका उपाअध्यक्ष धन बहादुर पुलामी(अशोक)ले बताए ।