प्रहरी कार्यालय परिसर भित्रै मुखियाले गरे आत्मदाहको प्रयास

126 Shares

जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाही परिसरमा एकजनाले पेट्रोलियम पदार्थ छर्केर आत्मदाहको प्रयास गरेका छन् ।सर्लाहीको चन्द्रनगर गाउँपालिका ६ कामदका नथुनी मुखियाले बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीको परिसरमा आत्मदाहको प्रयास गरेका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।कार्यालयका अनुसार मुखियाले जिल्ला प्रहरी कार्यालयको गेटभित्र पसेर शरीरमा पेट्रोलियम पदार्थ छर्किएर आत्मदाहको प्रयास गरेका हुन् ।उनले शरीरमा पेट्रोलियम पदार्थ छर्किएर आगो लगाउन लाइटर निकाल्न खोज्दा खोज्दै प्रहरीले रोकेपछि कुनै अप्रिय घटना हुन नपाएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले बताए ।
उनका अनुसार मुखियालाई अहिले प्रहरी सुरक्षामा जिल्ला प्रहरी कार्यालय भित्रै राखिएको छ । मुखियाले गरिमा विकास बैङ्क मलंगवा शाखाले घरजग्गा लिलाम गरेको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमै आत्मदाहको प्रयास गरेका बुझिएको छ ।गरिमा विकास बैङ्कले ऋण दिने भनी आफूहरुलाई झुक्याएर जग्गाधनी प्रमाण पुर्जा र अन्य विभिन्न कागजात लिएर ऋण दिँदै नदिइ घर,जग्गा नै लिलाम गरिदिएको सर्लाहीका धेरै स्थानीयले लामो समयदेखि गुनासो गर्दै आइरहेका छन् ।जालसाजी गरेर आफूहरुलाई बर्बाद पारिएको भन्दै स्थानीयले पत्रकार सम्मेलन गर्ने र जिल्ला प्रहरी कार्यालयमा पुगेर हारगुहार गर्ने गर्दै आइरहेका थिए ।
यता,गरिमा विकास बैङ्क मलंगवा शाखाका प्रवन्धक सहित पीडितहरुलाई राखेर छलफल गराउने तयारी गर्दा गर्दै केही मानिसको हुलसँगै कार्यालय प्रवेश गरेका मुखियाले एक्कासी शरीरमा पेट्रोलियम पदार्थ छर्किएका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।
कार्यालकया अनुसार ऋण लिएका व्यक्तिहरुबाट नै आफूहरु असुरक्षित रहेको भन्दै गरिमा विकास बैङ्क मलंगवा शाखाले पनि प्रहरीमा निवेदन दिएको छ ।जिल्ला प्रशासन कार्यालयबाट समेत केही मानिसहरुबाट प्राप्त गुनासो बारे छलफल गराउन र बैंकका कर्मचारीलाई सुरक्षा प्रदान गर्नु भनी जिल्ला प्रहरी कार्यालयलाई पत्राचार भएको पाइएको छ ।पछिल्लो समय जिल्लाका सहकारीहरुका साथै बैँक तथा वित्तीय संस्थाहरुले चर्काे व्याज असुल्ने, ऋणीहरुबाट ऋण लिएको भन्दा धेरै गुण बढी रकम असुल्ने र अनावश्यक दुख दिने गरेका धेरै गुनासोहरु आएका छन् ।

सम्बन्धित समाचार