सर्लाहीको लालबन्दी नगरपालिका १७ की १४ वर्षिय किशोरी प्रियङ्का भुजेलको शव परिवारले बुझ्न अस्वीकार गरेका छन् । मृतक किशोरीको बुधबार जिल्ला अस्पताल सर्लाहीमा शव पोष्टमार्टम भईसकेपनि परिवारले शव बुझ्न नमान्दा शव जिल्ला अस्पतालमै रहेको छ । शव नबुझोका आफन्तले किशोरीको हत्याको विषयलाई लिएर स्थानीयले जिल्ला प्रशासन कार्यालयल सर्लाही र जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पुगी प्रदर्शन समेत गरेका छन्।

किशोरीका आफन्त र स्थानीयले हत्यामा संलग्नलाई कडाभन्दा कडा कारबाही,पीडित परिवारजनलाई क्षेतीपुर्तीको व्यावस्था र थप अनुसन्धानको माग गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाही र जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पुगेर स्थानिय र आफन्तले नाराबाजी गरेका हुन्। किशोरीको बलात्कारपछि हत्या भएको दाबीसहित घटनामा संलग्नहरूलाई हदैसम्मको कानुनी कारबाही र पीडित परिवारलाई उचित राहत उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ ।

किशोरीका आफन्त तथा स्थानीयले दोषीहरूलाई सार्वजनिक गरी कडा कारबाही गर्नु पर्ने, शंकास्पद व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने, किशोरीको मोबाइल फोनको कल डिटेलका आधारमा पनि अनुसन्धान गर्नुपर्ने लगायतका माग गर्दै प्रमुख जिल्ला अधिकारी रामकुमार महतो र प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरलाई ज्ञापन पत्र बुझाएका अनेरास्ववियुका नेता तथा स्थानिय शिवहरी गौतमले बताउनु भयो । किशोरीको शव स्थानियले फेला पारेर प्रहरीलाई खबर गरेपछि प्रहरीले स्थानिय दुई युवकहरुलाई नियन्त्रणमा लिएको थियो। उनीहरूले नै किशोरीको शव गाडिएको ठाउँ प्रहरीलाई देखाएका थिए। हत्या आरोपमा सोही ठाउँका १८ वर्षीय कृष्ण साह र १९ वर्षीय अनिश दाहाललाई ईलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखेर अनुसन्धान भईरहेकोे प्रहरीले जनाएको छ ।
लालबन्दी प्रहरीले घटनाको वास्तविकता पत्ता लगाई कानुन बमोजिम कारवाही गर्ने र घटनाको सूक्ष्म ढंगले अनुसन्धान गरी न्याय दिलाउने भन्दै आश्वासन दिएपनि पीडित परिवारले विश्वास गर्ने आधार नरहेको भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीमा पुगी प्रदर्शन गरेका हुन । गत साउन ३१ गते राती करिब ११ बजे घरबाटै बेपत्ता भएकी लालबन्दी नगरपालिका–१७, रानिगन्ज डाँडाटोलका १४ वर्षीया भुजेलको गत मंगलवार राती कालिन्जोर खोलामा गाढीएको अवस्थामा शव फेला परेको थियो ।
प्रहरीले १४ वर्षिय भुजेलको उमेर १६ बताएको,दोषीलाई सार्वजनिक नगरेको भन्दै पीडित पक्ष थप आक्रोसित बनेका हुन् । आफुहरुले ईलाका प्रहरी कार्यालय लालबन्दीबाट न्यान नपाउने भएका कारण आज(शुक्रबार) जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ज्ञापन पत्र बुझाएको र प्रदर्शन गरेको आक्रोसित पीडित पक्षले बताएका छन् ।