सिन्धुलीका चार हुलाक कार्यालयबाट पिट्स(PITS) सेवा सञ्चालन

410 Shares

जिल्ला हुलाक कार्यालय सिन्धुली सहित जिल्लाका पाँच स्थानबाट पिट्स (PITS) सेवा सञ्चालन गरेको छ।जिल्लाका नौ वटा पालिका मध्य आठ वटा पालिकामा पालिकागत हुलाक कार्यालय,एउटा काउन्टर र जिल्ला हुलाक कार्यालयका साथै  ३५ वटा अतिरिक्त हुलाक कार्यालय रहेको सिन्धुलीमा दर्ता गरेको पत्रहरु सम्बन्धित स्थानमा पुगे/नपुगेको र कहाँ/कसले प्राप्त गरेको भन्ने विवरण अनलाइनको माध्यमबाट हेर्न सकिने प्रणाली पिट्स(PITS) सेवा पाँच स्थानबाट सञ्चालन गरिएको जिल्ला हुलाक कार्यालय सिन्धुलीका प्रमुख एवम हुलाक अधिकृत कुमार थापाले जानकारी दिए ।

उनका अनुसार जिल्ला हुलाक कार्यालय सिन्धुली,हुलाक कार्यालय दुधौली,भिमान काउन्टर,हुलाक कार्यालय मरिण र हुलाक कार्यालय हरिहरपुरगढीबाट पिट्स(PITS) सेवा सञ्चालनमा आएको हो।पिट्स(PITS) सेवा सञ्चालनका लागि तीन दिन परिक्षण गरिए पछि अहिले पिट्स(एक्ष्त्क्) सेवा पुर्ण रुपमा सञ्चालनमा आएको र अब दर्ता गरेको पत्रहरु सम्बन्धित स्थानमा पुगे/नपुगेको र कहाँ/कसले प्राप्त गरेको भन्ने विवरण अनलाइनको माध्यमबाट हेर्न सकिने भएको जिल्ला हुलाक कार्यालय सिन्धुलीका सूचना अधिकार चन्द्र बहादुर मगरले जानकारी दिए।उनका अनुसार सेवाग्राहीहरुलाई पनि प्रभावकारी,भरपर्दो र बिश्वसनिय सेवा प्रदान गर्न राहत पुगोस भनेर पिट्स(PITS) सेवा  सञ्चालनमा ल्याईएको हो ।

हुलाकबाट प्रदान गरिने सेवा प्रवाहलाई प्रविधि मैत्री,पारदर्शी र छिटो छरितो बनाउन जिल्ला हुलाक कार्यालय सिन्धुली मातहतका विभिन्न कार्यालयहरुमा सिसिटिभि जडानको काम पनि भई रहेको जिल्ला हुलाक कार्यालय सिन्धुलीका प्रमुख एवम हुलाक अधिकृत थापाले बताए ।उनका अनुसार जिल्ला हुलाक कार्यालय सिन्धुली मातहतका कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहे/नरहेको साथै सेवा प्रवाहमा सेवाग्राहीहरुको गुनासो रहे/नरहेको लगायतका विषयमा कडाईका साथ निगरानी गर्न भन्दै सिसिटिभी जडानको काम भइ रहेको हो ।

के हो पिट्स(PITS) सेवा ?

यो हुलाक सेवा अन्तर्गत प्रयोग गरिने एक प्रकारको सूचना व्यवस्थापन प्रणालीलाई पिट्स( PITS:Postal Internal Tracking System)सेवा भनिन्छ।जसले हुलाक कार्यालयबाट पठाइने तथा प्राप्त गरिने सामग्रीहरूको ट्र्याकिङ र व्यवस्थापन गर्न मद्दत पु¥याउँछ।

हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै पत्रपत्रिका,पार्सल र अन्य सामग्रीहरूको व्यवस्थापन कम्प्युटर प्रणालीबाट गर्ने,पठाइएका सामग्री कहाँ पुगेका छन् भन्ने जानकारी तत्काल उपलब्ध गराउने,सेवाको गति र सटिकतामा सुधार गर्न र सामग्रीको स्थितिबारे सेवाग्राही तथा सेवा प्रदायकलाई सहजै जानकारी गराउन प्रविधियुक्त प्रणाली पिट्स (PITS) सेवाले सहयोग पुर्याउने हुलाक कार्यालयले विश्वास लिएको छ ।नेपालमा हुलाक सेवामा पिट्स (PITS) सेवा लागू गर्नाले ग्राहकले आफ्नो सामाग्रीको अवस्थाबारे समयमै जानकारी प्राप्त गर्न सक्ने र सेवा अझ प्रभावकारी,भरपर्दो र बिश्वसनिय बनाउँन सहयोग पुग्ने छ।

सम्बन्धित समाचार