फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुलीका दुई वटा निर्वाचन क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टी सिन्धुलीले २१ जना उम्मेदवारहरु सिफारिस गरेको छ।दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि ११ जना प्रत्यक्ष तर्फ र १० जना समानुपातिक तर्फ गरी २१ जना उम्मेदवार सिफारिस गरिएको नेपाली कम्युनिष्ट पार्टी सिन्धुलीका इन्चार्ज वसन्त माझीले जानकारी दिए ।उनका अनुसार सिन्धुली क्षेत्र नम्बर १ बाट पाँच जना प्रत्यक्ष तर्फ र पाँच जना समानुपातिक तर्फगरी १० जना र क्षेत्र नम्बर २ बाट छ जना प्रत्यक्ष तर्फ र पाँच जना समानुपातिक तर्फ गरी ११ जनाको नाम सिफारिस गरिएको हो ।
सिन्धुली क्षेत्र नम्बर १ बाट निवर्तमान प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन),चित्र बहादुर लुङ्गेली मगर,डेकेन्द्र सुवेदी,जानुका कुमारी तिमल्सिना र विजय खड्कालाई प्रत्यक्ष तर्फ सिफारिस गर्दा दिल बहादुर वि.क.,वन्दन श्रेष्ठ(सुवेदी),विष्णु बहादुर सुनुवार,सर्मिला श्रेष्ठ र यम कुमार दनुवारलाई समानुपातिक तर्फ सिफारिस गरिँएको नेपाली कम्युनिष्ट पार्टी सिन्धुलीले जनाएको छ ।
त्यसैगरी,सिन्धुली क्षेत्र नम्बर २ बाट गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवम नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्प कमल दाहाल(प्रचण्ड),निवर्तमान मन्त्री हरिवोल प्रसाद गजुरेल(सितल कुमार),पानीराज बम्जन,महेश्वर दाहाल,अनिता कुमारी राई र सुमन राना मगरलाई प्रत्यक्ष तर्फ सिफारिस गर्दा समानुपातिक तर्फ चित्र बहादुर पुलामी मगर,शुभ कुमारी गुर्मछाने मगर,भरत कुमार योञ्जन,ज्ञान बहादुर राई र शान्ता पाख्रिनलाई समानुपातिक तर्फ सिफारिस गरिएको नेपाली कम्युनिष्ट पार्टीका नेता सुरद बहादुर स्याङ्तान(वृहत)ले बताए ।
यता,२०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निवर्तमान संसद गंगा प्रसाद नेपाल र सावित्रि श्रेष्ठलाई सिफारिस गरिएको नेपाली कम्युनिष्ट पार्टी सिन्धुलीले जनाएको छ ।क्षेत्रगत सिफारिस भएका र केही छुटेका उम्मेदवारहरुको नामावली संसोधन गरी जिल्ला कमिटिले केन्द्रीय समितिलाई सिफारिस पठाउने नेपाली कम्युनिष्ट पार्टीको व्यावस्था अनुसार सिन्धुलीका दुई वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट सिफारिस भएर आएका उम्मेदवारहरुको नामावली संसोधन गरेर केन्द्रीय समितिमा पठाईएको नेपाली कम्युनिष्ट पार्टी सिन्धुलीले जनाएको छ ।