सर्लाहीको हरिपूर्वा नगरपालिकाका कार्यालय सहायक अरुण कुमार यादव र तत्कालीन गा.वि.स सचिव राम प्रकाश सिंह दनुवार विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।योग्यता नपुगेका व्यक्तिलाई नक्कली स्थायी नियुक्ति पत्र बनाएर सरकारी कोषबाट तलब भत्ता खुवाएको भन्दै अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।अनुसन्धानका क्रममा यादवले आफ्नो उमेर १८ वर्ष नपुग्दै २०६४ सालमै अस्थायी नियुक्ति पाएको भनी सरकारी कागजातमा केरमेट र थपघट गरेको फेला परेको अख्तियारले जनाएको छ।
अख्तियारका अनुसार यादवको जन्म मिति २०४७ असोज ५ गते रहेको र २०६४ असोज मसान्तसम्म उनको उमेर १७ वर्ष २५ दिन मात्र पुगेको छ।नागरिकता नै नबनेको समयमा नियुक्ति लिएको भनी झुट्टा विवरण पेश गरेर यादवले आर्थिक वर्ष २०७८÷०७९ देखि स्थायी नियुक्ति लिएका पाइएको छ ।
यसअघि २०७३ सालदेखि करारमा कार्यरत रहेका यादवले करार रद्द भएपछि पुरानै मितिमा स्थायी नियुक्ति पाएको देखाउन तत्कालीन सचिव दनुवारसँग मिलेमतो गरेको पुष्टि भएको अख्तियारले जनाएको छ।हरिपूर्वा गा.वि.स.को लेटर प्याड प्रयोग गरी २०७१ भदौ ३१ गते तयार पारिएको भनिएको स्थायी नियुक्ति पत्र नक्कली भएको र सोको कुनै पनि आधिकारिक अभिलेख निजामती किताबखाना वा कर्मचारी सञ्चय कोषमा नरहेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
सरकारी लिखतको दुरुपयोग गरी राष्ट्रसेवकको पदमा गैर कानूनी रुपमा नियुक्ति लिई तलब, भत्ता र सञ्चय कोषको सुविधा लिएर राज्यलाई नोक्सानी पु¥याएको भन्दै अख्तियारले दुवै प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाहीको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।