फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी तीव्र पारिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी ऋषिराम पौडेलले जानकारी दिए । उनका अनुसार सर्लाही निर्वाचन क्षेत्र नं. १ को लालबन्दी,क्षेत्र नं. २ को मलंगवा,क्षेत्र नं. ३ को हरिवन र क्षेत्र नं. ४ कोा गोडैतामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरिएको हो ।
सर्लाही क्षेत्र नं. २ को कार्यालय मलंगवा स्थित जिल्ला समन्वय समितिको भवनमा र क्षेत्र नं. ४ को कार्यालय गोडैतास्थित वेणी भोला नमूना माध्यमिक विद्यालयमा रहने करिब टुंगो लागेको भएपनि क्षेत्र नं. १ र ३ का लागि भवन छनोट हुन बाँकी रहेको निर्वाचन अधिकृत पौडेलले बताए।
सर्लाही क्षेत्र नं. १ मा लालबन्दी नगरपालिकाको पुरानो भवनमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालन हुँदै आएको भएपनि अहिले उत्त भवनमा लालबन्दी नगरपालिका ६ को वडा कार्यालय र भूमि आयोग तथा न्यायिक समितिको काम भइरहेकाले यस पटक वैकल्पिक स्थान खोजिने भएको छ ।
त्यस्तै,सर्लाही क्षेत्र नं. ३ को हरिवनमा पनि कार्यालय स्थापना गर्ने तयारी भए तापनि उपयुक्त भवन छनोट हुन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ। कार्यालयका अनुसार सर्लाही क्षेत्र नं. १ र ३ का हकमा प्रमुख जिल्ला अधिकारी,जिल्लास्थित सुरक्षा निकायका प्रमुख सहितको टोलीले अनुगमन गरेपछि अन्तिम निर्णय हुने छ। सुरक्षा,पार्किङ सुविधा र मतगणनाका लागि पर्याप्त स्थान र पूर्वाधारलाई प्राथमिकतामा राखेर भवन छनोट गरिने जिल्ला स्तरिय सुरक्षा समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए । उनका अनुसार एक दुई दिनभित्रै चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय रहने स्थान निश्चित हुने छ ।तीन सय १२ मतदानस्थल अन्तर्गत छ सय २८ मतदान केन्द्र रहेको सर्लाहीमा पाँच लाख ११ हजार छ सय छ जनाले मतदानत गर्ने छन् ।
त्यसैगरी,निर्वाचन आयोगले सर्लाही जिल्लाका चारवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृत तोकि सकेको छ। आयोगले जिल्ला अदालतका मुख्य न्यायाधीश पुष्पराज थपलियालाई जिल्लाको मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत,निर्वाचन क्षेत्र नं. १ मा सर्वोच्च अदालतका इजलास अधिकृत टीकाबहादुर थापा,क्षेत्र नं. ३ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका उपसचिव नवराज आचार्य र क्षेत्र नं. ४ मा सर्वोच्च अदालतका इजलास अधिकृत विनोद प्रसाद घिमिरेलाई निर्वाचन अधिकृत तोकेको छ ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि माघ महिनाको पहिलो सातादेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने निर्वाचन आयोगले जनाएको छ।