Close This

३६ महिनामा बन्नु पर्ने पुलको आठ वर्षमा पनि बनेन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-११-२९ गते   ३२५९ पटक हेरिएको

सर्लाही र रौतहट जोड्ने बागमती नदीको पुलको निर्माण कार्य करिब आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । निर्माण  सुरु भएको आठ वर्ष बिती सक्दा पनि ठेकेदारको लार्पबाहीका कारण पुल निर्माण कार्य सम्पन्न नभएको हो । 
समयमा पुल नबनेका कारण स्थानीयलाई आवतजावतमा समस्या भएको हजरियाका गोविन्द पोख्रेलको गुनासो छ । सर्लाहीको हजरिया र रौतहटको समनपुर जोड्ने बागमती नदीमा निर्माण कार्य सुरु भएको करिब आठ वर्ष बितिसक्दा पनि पुलको निर्माण कार्य सम्पन्न नहुदा स्थानीयले सास्ती खेप्नुपरेको अर्का स्थानिय रविन्द्र महतोले गुनासो गरेका छन् । 
पूर्व–पश्चिम लोकमार्गबाहेक ४२ किलोमिटर दक्षिण नेपाली सीमासम्म बागमती नदीमा पुल नहुँदा स्थानीय सास्ती खेप्न बाध्य छन् । वि.सं.२०६९ असार २६ गते रु ३२ करोड ७६ लाख ११ हजारमा एलाइट कन्स्ट्रक्सन काठमाडौं जेभीले ६ सय मिटर लम्बाइ भएको डबल लेनको पुल बनाउन सम्झौता गरेको थियो । 
सो पुलको तत्कालीन भौतिक योजना तथा पुर्वाधार मन्त्री विमलेन्द्र निधिले शिलान्यास गर्नु भएको थियो । एलाइट कन्स्ट्रक्सनले नेपाल सरकारको पुल डिभिजन महाशाखाबाट सम्झौता भएको करिब ३६ महिनामा पुलको निर्माण कार्य पूरा गर्ने लिखित सम्झौता गरेको थियो ।  तर, सम्झौता भएको करिब आठ वर्ष बितिसक्दा पनि पुल  निर्माण काम पूरा नहुँदा त्यस भेगका स्थानीले समस्या झेल्नुपरेको रौतहटको गढीमाई नगरपालिकाका रामपुकार यादवले बताएका छन् । निर्माण कम्पनीले कहिले मधेस आन्दोलन, कहिले बाढी त कहिले कोरोना भाइरस लगायतका विभिन्न बहाना बनाई निर्माण कार्य निर्धारित समयभन्दा करिब ५ वर्ष ढिलाइ गरेको थियो । अझै निर्माण पूरा गर्न दुई वर्ष लाग्ने ठेकेदार कम्पनीले बताएको समनपुरका बासिन्दा जब्बार मियाँले बताएका छन् । 
चारपटक म्याद थप भइसकेको हुँदा अन्तिम पटक वि.सं.२०७८ असार मसान्तसम्म मात्रै म्याद रहेको बताउँदै कछुवा गतिमा भइरहेको निर्माणको अवस्था हेर्दा अझै पुल करिब दुई वर्षमा पनि पुल निर्माण हुने अवस्था नदेखिएको मियाले  बताएका छन् । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech