दुर्गा कुमारी अधिकारी
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले कृषि विद्युतीकरणमार्फत किसानको खेत सिँचाई गर्दा उठ्ने विद्युत् महसुल तिरिदिने भएको छ । गाउँपालिका भरीका किसानहरुले कृषि विद्युतीकरणमार्फत खेत सिँचाई गर्दा उठेको विद्युत् महसुल गाउँपालिकाले तिरिदिने गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाले सातवटै वडामा विद्युत् मिटर जडान अभियान सञ्चालन गर्ने र कृषि विद्युतीकरणका लागि जडान गरिएका विद्युत मिटरहरुको महसुल गाउँपालिकाले तिर्ने भएको हो ।
गाउँपालिकाको १२ औँ गाउँसभाको बैठकबाट किसानहरुले कृषि सिँचाई गर्दा उठेको महसुल रकम गाउँपालिकाले एकमुष्टमा तिरिदिने निर्णय गरेको र सो कार्यन्वयनको चरणमा रहेको गाउँपालिकाकी उपा अध्यक्ष गीतादेवी महतोले बताईन् ।उनका अनुसार गतपुस २९ गते भएको गाउँपालिकाको १२ औँ गाउँसभाको बैठकबाट किसानहरुले कृषि सिँचाई गर्दा उठेको महसुल रकम गाउँपालिकाले एकमुष्टमा तिरिदिने निर्णय गरेको हो ।
सिँचाई क्षेत्र विस्तार भएर कृषिजन्य वस्तु उत्पादनमा सहज सिँचाई उपलब्ध भएमा कृषि उत्पादन बढ्ने र किसानहरुले गर्दै आइरहेको आम्दानीमा वृद्धि हुने भएकाले विद्युत् महसुल गाउँपालिकाले बेहोर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष महतोले बताए । “गाउँपालिकाले कृषि विद्युतको महसुल भुक्तानी गर्ने भएपछि सबै किसानहरुको खेतमा सिँचाई पुग्ने साथै खेतिप्रति किसानहरु आकर्षण बढ्ने र कृषि उपज उत्पादनमा लाग्ने लागत घट्ने छ।” गाउँपालिका अध्यक्ष महतोले बताए ।
चन्द्रनगरमा माछा पालनका लागि पोखरी धेरै छन् । ती पोखरीका लागि प्रयोग हुने विद्युत् व्यावसायिक प्रयोजनका लागि हुने र उद्योग अन्तर्गत पर्ने भएकाले पोखरीमा जडान गरिएको विद्युत् मिटरको महसुल भने पोखरी मालिक वा पोखरी ठेक्का लिएका ठेकेदार स्वयंले तिनुपर्ने गाउँसभाबाट निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थिङले बताए ।
उनका अनुसार विद्युत् मिटरका लागि किसानहरु समय,खर्च र हैरानी सहेर सदरमुकाम मलङ्गवासम्म धाउन बाध्य हुनु परेको गुनासो आएपछि नेपाल विद्युत् प्राधिकरण वितण केन्द्र मलङ्गवासँग समन्वय गरी गाउँपालिका कार्यालयमा नै फाराम भरेर बुझाउने व्यवस्था मिलाइएको छ । गाउँपालिकाले नै किसानहरुको फाराम प्राधिकरणमा लगेर मिटर जडान अभियान सञ्चालन गर्ने तयारी गरेको छ । चालू आर्थिक वर्ष २०७९÷०८० मा कृषि विद्युतीकरणका लागि गाउँपालिकाले रु एक करोड ४० लाख बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाको कुल जनसंख्याको ९९ प्रतिशत मानिसहरु खेती किसानीमै व्यस्त छन् । कुल करिब ३८ हजार जनसख्या रहेको गाउँपालिकामा करिब दुई वर्षअघि नै विद्युतका पोलहरु गाडेर अलपत्र रहेको तथा तार र ट्रान्सफर्मरमा विद्युत् लाइन सञ्चालनमा ल्याएर गाउँपालिकाले निःशुल्क बिजुली उपलब्ध गराउने तयारी गरि रहँदा आफुहरुलाई निकै खुसी लागेको चन्द्रनगर ७ का किसानहरु शिवकृष्ण कुर्मीले बताए ।
डिजेलबाट पप्पसेट चलाइ सिँचाई गर्दा निकै महँगो परिरहेको समयमा गाउँपालिकाले निःशुल्क विद्युत् उपलब्ध गराउने निर्णय गर्दा खुसी लागेको चन्द्रनगर गाउँपालिका २,बबरगञ्जका अर्का किसान पुनित महतोले बताए ।“गाउँपालिकाले कृषि विद्युतिकरण अन्र्तगत विद्युतको महसुल तिरिदिने भयो,हामी किसानहरुलाई खुसी लागेको छ ।” महतोले बताए ।
“अहिले महँगो डिजेल प्रयोग गरेर सिँचाई गर्नुपर्दा हामीलाई धेरै मर्का परिरहेको छ,अब गाउँपालिकाले कृषि विद्युतिकरण अन्र्तगत मिटरको व्यावस्था गरि महसुल तिरिदिने भएपछि आफुहरुलाई फाइदा पुग्छ,”कुर्मीले बताए । डिजेलबाट एक पटकमा करिब १० कठ्ठा सिँचाई गर्दा रु एक हजार खर्च हुने गरेको किसानहरुको भनाई छ ।मलखाद,जनशक्ति सबै महँगो भइरहेको समयमा गाउँपालिकाले निःशुल्क विद्युत् उपलब्ध गराउँदा आफूहरुलाई ठूलो राहत मिल्ने चन्द्रनगरका किसानहरुको भनाई छ ।