निर्वाचनमा सेना परिचालन : शान्ति–सुरक्षा कि मतदाता तर्साउने खेल ?

278 Shares

लोकतन्त्रको सबैभन्दा पवित्र अभ्यास भनेको निर्वाचन हो।नागरिकले आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर प्रतिनिधि छान्ने क्षण नै लोकतन्त्रको आत्मा हो।यस्तो संवेदनशील र ऐतिहासिक प्रक्रियामा राज्यका सम्पूर्ण संयन्त्रहरू निष्पक्ष,संयमित र जनउत्तरदायी ढंगले परिचालित हुनुपर्छ।तर,निर्वाचनका बेला सेना परिचालन गर्ने विषय बारम्बार विवादको केन्द्रमा आउने गरेको छ।के सेना परिचालन वास्तवमै शान्ति–सुरक्षाका लागि आवश्यक हो ?वा यो मतदातालाई मनोवैज्ञानिक रूपमा तर्साउने खेल मात्र हो ? यो प्रश्न गम्भीर बहसको विषय बन्नुपर्छ।
नेपालमा सेना परिचालनको संवैधानिक व्यवस्था नेपाली सेना सम्बन्धी प्रावधानमार्फत गरिएको छ।नेपालको संविधानले विशेष परिस्थितिमा मात्र सेना प्रयोग गर्न सकिने व्यवस्था गरेको छ। संविधानको मर्म के हो भने सेना अन्तिम विकल्प हो।सामान्य प्रशासनिक वा राजनीतिक प्रक्रियामा नभई असाधारण संकटमा मात्र सेना परिचालन हुनुपर्छ।निर्वाचन त नियमित, पूर्वनिर्धारित र संस्थागत प्रक्रिया हो।यस्तो अवस्थामा नियमित सुरक्षा निकायहरु नेपाल प्रहरी र सशस्त्र प्रहरी नै पर्याप्त र सक्षम हुनुपर्छ।यदि ती निकाय असक्षम देखिन्छन् भने समस्या संरचनात्मक हो ।समाधान सेना होइन।
इतिहासले देखाएको छ कि सेना राजनीतिक प्रक्रियाबाट टाढा रहँदा नै लोकतन्त्र बलियो हुन्छ। नेपालको राजनीतिक संक्रमणकालमा सेना र राजनीतिक शक्तिबीचको दूरी कायम राख्न विशेष सावधानी अपनाइएको थियो।किनकि,राज्यको सबैभन्दा शक्तिशाली सशस्त्र संरचना राजनीतिक प्रक्रियामा प्रत्यक्ष देखिनु आफैंमा “राज्य शक्तिशाली र सचेत छैन्।”भन्ने प्रष्ट उद्धाहरण हो ।यस्तो सन्देशले स्वतन्त्र मतदानको वातावरणलाई कमजोर पार्न सक्छ।
निर्वाचनका बेला गाउँ–टोलमा हतियारसहित सेना गस्ती गर्नु,मतदान केन्द्र नजिकै सैन्य उपस्थिति देखिनु वा मतपत्र र मतपेटिका ओसार पसारमा सैन्य संलग्नता देखिनु सबै दृश्यले मतदातामा मनोवैज्ञानिक प्रभाव पार्छ।विशेषतःग्रामीण क्षेत्रका वृद्धबृद्धा,महिला र सीमान्तकृत समुदायका मतदाताले यस्तो उपस्थितिलाई “नियन्त्रण”वा “दबाब”का रूपमा बुझ्न सक्छन्। लोकतन्त्रमा मतदाता स्वतन्त्र,निडर र आत्मविश्वासी हुनुपर्छ तर सैनिक उपस्थितिले मतदाताको मनमा डरको सानो छायाँ पनि आयो भने त्यो निर्वाचनको आत्मामाथि प्रहार हो।
“सेना परिचालनले शान्ति–सुरक्षा मजबुत हुन्छ,मतपेटिका सुरक्षित रहन्छ र हिंसा नियन्त्रणमा आउँछ।तर प्रश्न उठ्छ के हालको निर्वाचनहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पर्याप्त थिएनन् ? कि उनिहरु असक्षम भए ? यदि सुरक्षा निकायमा राजनीतिक हस्तक्षेप,स्रोत अभाव वा तालिम कमी छ भने त्यसलाई सुधार्नु राज्यको कर्तव्य हो।हरेक समस्याको समाधान “सेना”बनाउनु संस्थागत कमजोरीको स्वीकारोक्ति जस्तै हो।
अर्कोतर्फ,सेना आफैं पनि राष्ट्रिय सुरक्षाको संवेदनशील अंग हो।उसको प्राथमिक दायित्व सीमाको सुरक्षा,विपद् व्यवस्थापन र राष्ट्रिय संकटमा हस्तक्षेप गर्नु हो।निर्वाचन जस्तो नियमित प्रशासनिक प्रक्रियामा बारम्बार संलग्न हुँदा सेनाको व्यावसायिक छवि प्रभावित हुन सक्छ। राजनीतिक विवादमा सेना अप्रत्यक्ष रूपमा तानिनु उसकै संस्थागत हितविपरीत हुन्छ। लोकतान्त्रिक मूल्य मान्यताले सैनिक संस्थालाई राजनीतिक तटस्थतामा राख्न जोड दिन्छ।
विश्वका परिपक्व लोकतान्त्रिक मुलुकहरूमा सेना सामान्य निर्वाचनमा प्रत्यक्ष परिचालित हुँदैन।यदि विशेष खतरा वा आतंकवादी जोखिम छ भने पनि सेना पर्दा पछाडि रणनीतिक सहयोगमा सीमित रहन्छन्।प्रत्यक्ष मतदान केन्द्रमा देखिँदैन।हाम्रो सन्दर्भमा,कहिलेकाहीँ असुरक्षा र अविश्वासको राजनीतिक वातावरण सिर्जना गरेर सेना परिचालनलाई “आवश्यक”बनाइने प्रयास पनि देखिन्छ। यो प्रवृत्ति खतरनाक हो।
निर्वाचनमा हिंसा वा अवरोधको सम्भावना रहन सक्छ।तर त्यसको समाधान नागरिक मैत्री सुरक्षा संयन्त्र,राजनीतिक सहमति र जनचेतना हो।मतदाता शिक्षामा लगानी गर्नु,दलहरूलाई आचार संहितामा बाँध्नु र निष्पक्ष निगरानी संयन्त्र सुदृढ गर्नु दीर्घकालीन उपाय हुन्।सेना परिचालन भने राज्यको अल्पकालीन “शक्ति प्रदर्शन”जस्तो देखिन्छ।
के सेना उपस्थित हुँदा मतदाता पूर्ण रूपमा स्वतन्त्र महसुस गर्छन् ?यो सबैभन्दा ठूलो र गम्भीर प्रश्न हो।लोकतन्त्रको मापन मत प्रतिशतले मात्र हुँदैन,मतदाताको मनस्थितिले पनि हुन्छ।यदि नागरिकले मतदान केन्द्रमा पुग्दा“राज्यको निगरानी”महसुस गर्छन् भने त्यो स्वतन्त्रताको भावनामा आँच पुर्याउनु हो।निर्वाचन उत्सव हुनुपर्छ,सैनिक परेड होइन।
राजनीतिक दलहरूले पनि आफ्नो कमजोरी ढाकछोप गर्न सेना परिचालनको माग गर्ने गरेका छन्।दलहरूबीच अविश्वास,गुटबन्दी र हिंसात्मक संस्कृतिका कारण जोखिम बढ्दा समाधान आत्मसमिक्षा हुनुपर्छ।सेना परिचालन होइन।लोकतन्त्रलाई सैन्य संरचनामा आश्रित बनाउनु दीर्घकालीन रूपमा खतरनाक संकेत हो।
यसको अर्को आयाम आर्थिक पनि छ।सेना परिचालन महँगो प्रक्रिया हो।उनीहरुको फिल्डमा व्यवस्थापन देखि भत्ता,उपकरण र यातायात सबैमा ठूलो खर्च हुन्छ।त्यो स्रोत निर्वाचन व्यवस्थापन सुधार,मतदाता शिक्षा र प्रविधि विकास वा पारदर्शिता प्रवद्र्धनमा लगानी गर्न सकिन्छ। सीमित स्रोत भएको देशमा प्राथमिकता विवेकपूर्ण हुनुपर्छ।
सेना नभए मतपेटिका लुटिन्छ ? धाँधली हुन्छ ?तर धाँधली रोक्ने उपाय पारदर्शी प्रक्रिया,कडा निगरानी र दण्डहीनताको अन्त्य हो।यदि राजनीतिक इच्छाशक्ति बलियो छ भने सुरक्षा निकाय पर्याप्त हुन्छन्।सेना राखेर पनि यदि राजनीतिक हस्तक्षेप रह्यो भने निष्पक्षता सुनिश्चित हुँदैन।
राज्य र नागरिकबीचको विश्वास,दलहरूबीचको विश्वास र मतदाताको आफ्नै आत्म विश्वासमा लोकतन्त्र विश्वासमा टिकेको हुन्छ।सेना परिचालनले कहिलेकाहीँ यही विश्वासमा दरार ल्याउँछ।विशेष गरी विगतमा द्वन्द्व अनुभव गरेको समाजमा सैनिक उपस्थिति संवेदनशील विषय हो।त्यसैले राज्यले अत्यन्त संयमित र विवेकपूर्ण निर्णय लिनुपर्छ।
निर्वाचनलाई शान्तिपूर्ण बनाउन राज्यले नागरिक सुरक्षालाई प्राथमिकता दिनुपर्छ तर त्यो सुरक्षा नागरिक मैत्री हुनुपर्छ।प्रहरी समुदायसँग नजिक हुन्छन् ।स्थानीय सन्दर्भ बुझ्छ।सेना भनेकोे रणनीतिक र केन्द्रीयकृत संरचना हो।निर्वाचनमा स्थानीय सन्दर्भ बुझ्ने निकाय प्रभावकारी हुन्छन्।सेना परिचालन होईन् ।
फागुन २१ गतेको निर्वाचनका लागि भन्दै नेपाली ईतिहाँसमा पहिलो पटक नेपाली सेना १ महिना पहिलैबाट सडकमा निस्कनुले अहिलेको अन्तरिम सरकार निर्वाचन गराउन सफल वा असफल के छ ?भन्ने प्रश्न गरि राख्नु जरुरी छैन् ।
अन्ततःसेना परिचालनलाई सामान्य अभ्यास बनाउनु लोकतन्त्रको परिपक्वता माथि प्रश्न उठाउनु हो।यदि प्रत्येक निर्वाचनमा सेना आवश्यक पर्छ भने हामीले हाम्रो राजनीतिक संस्कार, सुरक्षा संरचना र प्रशासनिक क्षमतामाथि पुनर्विचार गर्नैपर्छ।लोकतन्त्रको रक्षा लोकतान्त्रिक माध्यमबाटै हुनुपर्छ।तानाशाही माध्यमबाट होईन् ।
त्यसैले निर्वाचनमा सेना परिचालनलाई “शान्ति–सुरक्षा”को नाममा सामान्यीकरण गर्नु उचित होइन।यो असाधारण परिस्थितिमा अन्तिम विकल्प मात्र हुनुपर्छ।अन्यथा,यो मतदाता तर्साउने खेलका रूपमा बुझिने जोखिम रहन्छ।लोकतन्त्रलाई बलियो बनाउन सेना होइन,संस्थागत सुधार,राजनीतिक परिपक्वता र नागरिक सशक्तीकरण आवश्यक छ।
निर्वाचनलाई सैनिक छायाँबाट मुक्त राख्नु नै स्वस्थ लोकतन्त्रको संकेत हो।जब नागरिक निडर भएर मतदान केन्द्रमा पुग्छन्,हर्षोल्लासका साथ मत हाल्छन् र परिणाम स्वीकार्छन् ।त्यो नै साँचो शान्ति–सुरक्षा हो।सेना होइन,जनविश्वास नै निर्वाचनको वास्तविक सुरक्षा कवच हो।तसर्थ मतपेटी र मतपत्र सेनाको हातमा होईन् ।स्वतन्त्र रुपमा नागरिकको हातमा पुग्नु पर्छ ।
लेखक शंखर पहाडी(गौरब) विगत करिब डेढ दशकदेखि सक्रिय पत्रकारिता गरि रहेका छन् ।

सम्बन्धित समाचार