सर्लाहीको गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्र कुमार यादवले प्रमुख प्रशासकीय अधिकृत नआउँदा सम्म नगरपालिका कार्यालय नआउने घोषणा गरेका छन्।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रमुख प्रशासकीय अधिकृत पठाइदिन धाउँदा धाउँदै हैरान भएपछि प्रमुख प्रशासकीय अधिकृत नआउँदा सम्म आफु नगरपालिका कार्यालय नजाने नगर प्रमुख यादवले बताए ।
गोडैता नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत उपसचिव शम्भुप्रसाद यादव मंसिर २४ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएर गएदेखि गोडैता नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको छ ।मन्त्रालयले पुस १४ गते उपसचिव हेमबहादुर कार्कीलाई गोडैता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेर पठाएको भएपनि कार्की हालसम्म पनि हाजिर हुन नआएका नगर प्रमुख यादवले बताए ।प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गर्दै आफू तीन पटक काठमाडौं धाइसके पनि मन्त्रालयले कुनै कर्मचारी पठाउन नसकेको नगर प्रमुख यादवको गुनासो छ ।
प्रमुख प्रशासकीय अधिकृत नभएकै कारण कर्मचारी,शिक्षक,स्वास्थ्यकर्मीहरुको गएको कात्तिकदेखि तलब निकासा हुन सकेको छैन् भने सामाजिक सुरक्षा भत्ता पनि रोकिएको छ ।प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोवार र विकास निर्माणका सम्पूर्ण काम ठप्प भएकाले असाध्य तनाव भइरहेको नगर प्रमुख यादवले गुनासो गरे ।
कार्यालय जाँदा पनि प्रमुख प्रशासकिय अधिकृत नहुँदा कुनै काम नै नहुने भएकाले विज्ञप्ती नै जारी गरेर कार्यालय नजाने घोषणा गरेको नगर प्रमुख यादवले बताए । आर्थिक कारोवार ठप्प हुँदा कार्यालयमा दैनिक आवश्यक पर्ने सामग्री तथा मसलन्द,विद्यालयहरुमा स्यानेटरी प्याड र स्वास्थ्य संस्थामा औषधीको अभाव हुन थालेको गोडैता नगरपालिकाले जनाएको छ ।
संघीय मामिला तथा सामान्य मन्त्रालयले बेलैमा प्रमुख प्रशासकीय अधिकृत नपठाइदिने र पठाएका कतिपय अधिकृत हाजिर हुनै नआउने परिपाटीले मधेशका स्थानीय तहहरु समस्यामा पर्दै आएका छन्।मधेशका कतिपय स्थानीय तहहरुमा जनप्रतिनिधिहरुको अनावश्यक दवाव तथा राजनीतिक आग्रह पुर्वाग्रह राखेका कारण कर्मचारीहरु आउन अटेर गर्ने गरेका जानकारहरु बताउँछन् ।