फागुन २१ गते बिहीबार भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार नरेन्द्र साह कलवार र क्षेत्र नम्बर ४ को पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. अमरेश कुमार सिंहले अग्रता कायम राखेका छन्।
सर्लाही क्षेत्र नम्बर ३ मा ६८ हजार तीन सय ९५ मत खसेकोमा रास्वपाका उम्मेदवार साहले ३७ हजार नौ सय ४६ मत ल्याइ अग्रता कायम राख्दा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार नारायणकाजी श्रेष्ठले ११ हजार पाँच सय ४८ मत ल्याएका छन्। त्यस्तै नेकपा(एमाले)का हरि उप्रेतीले पाँच हजार तीन सय ६१ र नेपाली कांग्रेसका विनोद खनालले पाँच हजार एक सय १६ मत ल्याएका छन् ।६४ हजार सात सय ६२ मत गणना गर्दा रास्वपाका साहले नेकपाका श्रेष्ठ भन्दा २५ हजार तीन सय ९८ मत बढी ल्याएका छन् । क्षेत्र नम्बर ३ मा तीन हजार छ सय ३३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी,सर्लाही क्षेत्र नम्बर ४ मा ७७ हजार नौ सय ३१ मत खसेकोमा हालसम्म ५१ हजार चार सय १६ मत गणना हुँदा रास्वपाका डा.सिंहले २२ हजार आठ सय ६६ मत प्राप्त गरेर अग्रता कायम राखेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले १५ हजार ५३ मत ल्याएका छन्।कांग्रेसका थापा भन्दा रास्वपाका सिंह सात हजार आठ सय १३ मतले अगाडि रहेका छन् ।
यस्तै,नेकपा(एमाले)का अमनिश कुमार यादवले छ हजार चार सय ३६ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का रजनीश राय यादवले एक हजार एक सय ८६ मत पाएका छन्।मतगणना सुरु भएदेखि नै सिंहले अग्र स्थानमा रहदै आएका छन्।रास्वपाका डा.सिंह सोही क्षेत्रबाट पटक पटक निर्वाचित भएका निवर्तमान प्रतिनिधि सभा सदस्य हुन भने यस पटक रास्वपाका वरिष्ठ उपाअध्यक्ष बालेन्द्र साह(बालेन)को फोटो राखेर मत संकलन गरेका हुन ।कांग्रेसका सभापति थापा काठमाण्डौं छाडेर सर्लाही क्षत्रे नम्बर ४ र नेकपाका श्रेष्ठ गोरखा छाडेर सर्लाही क्षेत्र नम्बर ३ मा चुनाव लड्नका लागि झरेका भएपनि लज्जास्पद हार बेहोर्ने अवस्थामा छन् ।