भरखरै सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनी सिन्धुली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका प्रतिनिधि सभा सदस्यमा धनेन्द्र कार्की(विजय)लाई सांसदको शपथ नखुवाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
प्रतिनिधि सभा सदस्य कार्कीविरुद्ध उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का नेता प्रदिप कुमार कटुवाल क्षेत्री (केसी)ले मंगलबार रिट दायर गरेका हुन्।कटुवालले कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको व्यक्ति उम्मेदवार नै हुन नपाउनेमा निर्वाचन आयोगले निर्वाचित घोषणा गरेको भन्दै कार्कीसँगै निर्वाचन आयोगलाई समेत विपक्षी बनाएका छन् ।
सिन्धुली क्षेत्र नम्बर १ बाट रास्वपाबाट निर्वाचित कार्की १६ हजार छ सय ५९ मतसहित निर्वाचित हुँदा एमालेका कटुवालले १५ हजार आठ सय ७५ मत पाएर दोस्रो भएका थिए । तत्कालीन नेकपा(माओवादी केन्द्र)बाट उम्मेदवार बनेका कार्की पराजीत भएपछि राजनीतिक निश्क्रिय रहेका थिए ।