“जान्ने र नयाँलाई छान्ने”नारा लिएको रास्वपामा नेकपा छोडेकाहरु निर्वाचित

290 Shares

“जान्ने र नयाँलाई छान्ने”नारासहित चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करिब दुईतिहाइ बहुमत ल्याएको छ।प्रत्यक्षमा एक २५ र समानुपातिकमा ५७ जनाले जितेर एक सय ८२ जना रास्वपाका उम्मेदवारहरु निर्वाचित भएका छन् । रास्वपाबाट प्रत्यक्ष चुनाव जित्नेमा करिब ४० जनाभन्दा बढी अन्य पार्टी छोडेर गएकाहरू रहेका पाइएको छ।नेपाली कम्युनिस्ट पार्टी (नेकपा) छोडेर रास्वपाबाट टिकट लिएर चुनाव जितेर संसदमा पुग्नेहरूको संख्या पनि धेरै छ । 
“जान्ने र नयाँलाई छान्ने”पुराना दलहरूले केही काम गरेनन् भन्ने भाष्य बनाएको रास्वपाका ४२ जना सांसदहरू नेपाली कांग्रेस,नेकपा(एमाले)र नेकपा छोडेर गएकाहरू छन्।केही सांसदहरू राज्यसत्ताका विभिन्न निकायमा परीक्षण भएका सरकारी जागिर खाएर अवकाश भएकाहरू छन् ।नेकपाबाट टिकट लिनेहरू माघ २ गतेसम्म पनि नेकपामा नै थिए तर अन्तिम समयमा रास्वपा प्रवेश गरेर टिकट लिएका जितेका छन् ।
आफूलाई सबैभन्दा नयाँ पार्टी भएको दाबी गरिरहेको रास्वपाबाट टिकट लिएर चुनाव लड्ने र जित्नेमा अन्य पार्टीबाट धेरै नेताहरू छन्।ती नेताहरू पटक पटक परीक्षण भएका छन् । कोही प्रदेशसभामा जितेर मन्त्रीसम्म भएकाले रास्वपाबाट चुनाव जितेका छन् भने कोही संघीय मन्त्री नै बनेका छन् ।
जसमा बाराको क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका रहबर अन्सारी उम्मेदवारी दर्ता गर्नु दुई दिनअघि रास्वपामा प्रवेश गरेका थिए।तत्कालीन नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य समेत रहेका अन्सारी पुष्पकमल दाहाल(प्रचण्ड)को विश्वास पात्र थिए।त्यही कारण पर्सामा धेरै माओवादी नेताहरूभन्दा बढी रहबरले अवसर पाएका थिए ।  
२०७९ मा भएको स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको नगर प्रमुखमा हारेका रहबरले पाँच महिनापछि प्रदेशसभाको टिकट पाएका थिए।कांग्रेससँग गठबन्धन भएका कारण रहबरले चुनाव जिते र प्रदेशसभामा पुगेपछि मन्त्री पनि भए।अर्थात्,माओवादी केन्द्रबाट अवसर लिन रहवर हरदम अगाडि रहे।तर,तिनै रहबर अहिले माओवादी केन्द्र पुरानो भएको भन्दै अवसरको खोजीमा रास्वपा प्रवेश गरेर बारा क्षेत्र नम्बर ४ बाट चुनाव लडेर जितेका छन् । 
अहिलेको नेकपा छोडेर रास्वपाबाट चुनाव लड्ने रहबर मात्र नभई धेरै जना रहेका छन् ।सर्लाही क्षेत्र नम्बर ३ बाट जितेका रास्वपाका नरेन्द्र साह कलवार पनि पुसको अन्तिमसम्म नेकपाका नेता थिए।तर,उनको टिकट नारायणकाजी श्रेष्ठले खोसेपछि रास्वपा प्रवेश गरेर टिकट लिएका थिए । 
कलवारले श्रेष्ठलाई हराएर संसदमा पुगेका छन्।तर,रास्वपाले भन्दै आएको जस्तो कलवार नयाँ होइनन्।२०७४ को प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए,तर त्यतिबेला उनी पराजीत भए ।त्यसपछि उनी २०७० को संविधानसभा निर्वाचनमा तराई मधेश सद्भावना पार्टीबाट समानुपातिक सभासद् बनेका थिए।कलवार उम्मेदवार बन्नका लागि २०७९ असोज १२ मा माओवादी केन्द्रमा प्रवेश गरेका थिए।नभन्दै २०७९ मा सर्लाही क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेर ३२ हजार एक सय ६८ मत ल्याएपनि जीत निकाल्न सकेनन्।तर,योपटक टिकट नपाउने भएपछि उनी रास्वपा प्रवेश गरेका थिए ।
रास्वपाका रौतहट क्षेत्र नम्बर ३ बाट चुनाव जितेका रवीन्द्र पटेल पनि नेकपाका नेता हुन् । उनले पनि अन्तिम समयमा नेकपा छोडेर रास्वपा रोजेका थिए।पटेल तत्कालीन माओवादी जनयुद्धका नेता हुन्।उनी तत्कालीन माओवादीको प्रदेश समिति सदस्य थिए ।
उनलाई २०७९ मा तत्कालीन माओवादीले यही क्षेत्रबाट टिकट दिएको थियो।तर,अन्तिम समयमा माओवादी केन्द्रले स्वतन्त्र उठेका प्रभु साहलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय गरायो ।तर पनि पटेलको पक्षमा आठ हजार पाँच सय ५८ मत आएको थियो । 
यो पटक पनि उनी नेकपाबाट टिकटको आकांक्षी थिए।तर,अन्तिम समयमा नेकपाले रौतहट क्षेत्र नम्बर ३ बाट पुनम देवीलाई टिकट दिएपछि उनी रास्वपा प्रवेश गरेर टिकट लिएका थिए ।उनी २०७४ को स्थानीय तहको निर्वाचनमा पनि टिकटका आकांक्षी थिए ।
पर्सा क्षेत्र नम्बर ४ मा रास्वपाबाट टेकबहादुर शाक्यले चुनाव जितेका छन्।उनी पनि करिब चार वर्ष पहिला तत्कालीन माओवादी केन्द्रमा प्रवेश गरेका थिए।उनी तत्कालीन माओवादीको केन्द्रीय सदस्य थिए।तर,केही समय राजनीतिमा सक्रिय नरहेका उनी यो पटक रास्वपा प्रवेश गरेर टिकट लिएका थिए।पर्सा क्षेत्र नम्बर ४ बाट चुनाव जितेर संसद पुगेका शाक्य पनि रास्वपाले भनेजस्तै नयाँ होइनन् । 
रास्वपाबाट धादिङ क्षेत्र नम्बर २ बाट चुनाव जितेका बोधनारायण श्रेष्ठ पनि तत्कालीन माओवादी केन्द्रका समर्थक हुन्।उनी नेता नभए पनि माओवादीमा आस्थावान् थिए । उम्मेदवारी दिनुभन्दा एक महिना पहिलासम्म युनिसेफमा जागिर गर्दै आएका थिए।तर, रास्वपा प्रवेश गरेर नै टिकट लिएका हुन्।उनले अत्यधिक मतले चुनाव जितेका छन् । 
नवलपरासी सुस्तापूर्व  १ बाट रास्वपाको तर्फबाट राजन गौतमले जितेका छन्।उनी तत्कालीन माओवादीले चलाएको“जनयुद्ध”मा सहभागी भएका नेता हुन्।२०७४ को स्थानीय तहको निर्वाचनमा देवचुली नगरपालिकामा वडा अध्यक्षको टिकटको दाबेदार थिए।तर,उनले टिकट पाएनन्।२०७९ मा प्रतिनिधिसभाको टिकटको आकांक्षी थिए।टिकट पाएनन्।कांग्रेससँग गठबन्धन गरेको माओवादी केन्द्रले शशांक कोइरालालाई समर्थन गरेपछि उनी रास्वपा प्रवेश गरेर टिकट लिएका थिए।उनले त्यो समयमा कोइरालासँग हार व्यहोरेका थिए । 
यसका साथै सिन्धुलीको क्षेत्र नम्बर १ मा रास्वपाबाट निर्वाचित भएका धनेन्द्र कार्की र सिन्धुली क्षेत्र नम्बर २ का आषिश गजुरेल दुवै जना माओवादी केन्द्रका कार्यकर्ता हुन । रास्वपाबाट निर्वाचित भएका कुनैपनि नेताहरुले नत माओवादी केन्द्र छाडेका छन् नत कुनै नयाँ हुन ।
यसरी हेर्दा नयाँलाई छान्ने अभियान चलाएको रास्वपामा नेकपा छोडेर गएकाहरूले पनि चुनाव जितेका छन्।कोही वडा अध्यक्षको टिकट नपाएर,कोही वडा अध्यक्षमा पराजीत भएका र कोही पटक पटक अवसर पाएकाहरू गएका छन्।कोही प्रदेश सांसद र मन्त्री भइसकेकाहरू नै गएका छन् त कोही प्रतिनिधिसभामा उम्मेदवार भएर पराजित भएकाहरू गएका छन् ।
आफूहरू नयाँ भएकाले जनताले मत दिएको दाबी रास्वपाको छ तर नयाँ होइन कि रास्वपाको सुनामी आएको समयमा जताबाट आएका भए पनि चुनाव चिन्ह घण्टी भन्दै भोट हालेको देखिन्छ।यहाँसम्म कि मतदाताहरूले आफूले भोट दिएको उम्मेदवारको नामसम्म पनि थाहा नपाएर समेत भोट दिएका छन्।यस्तो अवस्थामा भोट दिएका मतदाताले आफूले भोट दिएको रास्वपाका उम्मेदवारको पृष्ठभूमि थाहा पाउने कुरै भएन।त्यही भएर अहिले जितेका रास्वपाका धेरै सांसदहरू नेकपा,कांग्रेस,जसमा,जनमत सहित एमालेलगायतका पार्टीबाट गएर चुनाव जितेका छन् ।

सम्बन्धित समाचार