आर्थिक गणना गर्न खटिने गणकहरुलाई सही तथ्यांक दिन सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले आग्रह गरेका छन्।जिल्ला आर्थिक गणना कार्यालय सर्लाहीले आयोजना गरेको जिल्ला स्तरीय सचेतना गोष्ठीलाई सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी कडरियाले सबै पक्षबाट सही तथ्यांकको अपेक्षा गरिएको बताए। “सही तथ्यांक दिइयो भने मात्र विकासको मार्ग चित्र बनाउन सहज हुने भएकाले सूचना नलुकाई सही तथ्यांक उपलब्ध गराउनु पर्छ।”प्रमुख जिल्ला अधिकारी कडरियाले कार्यक्रमका सहभागीसँग आग्रह गरे ।
जिल्ला आर्थिक गणना समन्वय समितिको संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी कडरियाले आर्थिक गणना गर्दा उद्योगी र व्यवसायी लगायत सबै पक्षलाई बढाइ चढाइ र नघटाइ तथ्यांक उपलब्ध गराइ दिन अनुरोध गरेका हुन।डाक्टरकहाँ परीक्षण गराउन जाँदा रोग र समस्याबारे सही र सत्य बताए झैँ आर्थिक गणनामा आउने गणकलाई पनि वास्तविक आर्थिक तथ्यांक उपलब्ध गराएर सहयोग गरिदिन उनले आग्रह गरे।
यस्तै सर्लाहीका २० वटै पालिकाका दुई सय वडामा खटिने गणकलाई सही र साँचो विवरण दिएर राष्ट्रिय आर्थिक गणना–२०८२ लाई सफल पार्नुपर्नेमा जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहले बताए।सर्लाहीसहित देशभर आगामी बैशाख २ गतेदेखि असार ७ गतेसम्म आर्थिक गणना कार्य हुँदै छ ।
आर्थिक गणनाका लागि गणक तथा सुपरीवेक्षकको“सर्टलिष्ट”सार्वजनिक भइसकेको जिल्ला आर्थिक गणना कार्यालय सर्लाहीका प्रमुख राजु पोखरेलले जानकारी दिए ।उनका अनुसार उनीहरुमध्ये आवश्यक संख्या छनोट गरेर अभिमुखीकरण प्रदान गर्ने तयारी गरिएको छ ।
“अर्थतन्त्र मापनका लागि आर्थिक गणना”भन्ने नाराका साथ जिल्लाभर सञ्चालित उद्योग प्रतिष्ठान तथा सानादेखि ठुला व्यवसायी कहाँ पुगेर आर्थिक गणना गरिने कार्यालयले जनाएको छ। कार्यालयका अनुसार आर्थिक गणना अभियानमार्फत नेपालमा उद्योगको अवस्था र रोजगारी सिर्जनाको अवस्था लगायतका विषय हेरिनेछ।राष्ट्रिय आर्थिक गणनाबाट उद्योग,व्यापार,व्यवसाय,सेवा क्षेत्र, सहकारी तथा निजी सार्वजनिक संस्थाहरूको संख्या,प्रकार,लगानी,रोजगारी,उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण संकलन गर्ने योजना अघि बढाइएको छ ।