सर्लाही र रौतटहको सीमा स्थित रहेको बागमती नदीका विभिन्न घाटमा नदीजन्य पदार्थको अन्धाधुन्ध उत्खनन भइरहेको रहस्य फेला परेको छ।सर्लाहीको बरहथवा नगरपालिका –१ हजरिया स्थित सहनीटोल घाटदेखि रौतहटको गढीमाई नगरपालिका र बृन्दावन नगरपालिका क्षेत्रमा पर्ने हरैया घाटसम्म उत्खन्न अनियन्त्रित रूपमा भइरहेको पाइएपछि जिल्लाका सरोकारवालाहरुले स्थलगत अवलोक गर्दा नदीजन्य पदार्थको अन्धाधुन्ध उत्खनन भइरहेको रहस्य फेला परेको हो ।
सर्लाही क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा सदस्य नरेन्द्र साह कलवार र सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया सहितको टोलीले स्थलगत अनुगमनका गर्दा बागमती नदीमा नदीजन्य पदार्थको अन्धाधुन्ध उत्खनन भइरहेको रहस्य फेला परेको हो ।सरोकारवालाहरुको टोली बागमती नदी किनारमा पुगेपछि खोलाभित्र उत्खननमा संलग्न एक दर्जनभन्दा बढी टिपर, जेसीबी तथा स्काभेटरहरू काम छाडेर भागेका थिए।केही मेसिनहरू भने बजार घाट नजिकैको मकैबारीमा लुकाएर राखिएको अवस्थामा फेला परेका थिए।जसले अवैध उत्खनन योजनाबद्ध रूपमा भइरहेको प्रष्ट हुन्छ ।

रौतहटतर्फका गढीमाई र बृन्दावन नगरपालिकाले उक्त क्षेत्रमा उत्खननका लागि ठेक्का लगाइसकेका छन्।तर सर्लाहीतर्फको बरहथवा नगरपालिकाले मलाहटोल घाटमा ठेक्का लगाउन गरेको प्रयास बारम्बार असफल भएको बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौलाले बताए । उनका अनुसार यस वर्ष पनि सूचना निकालिए पनि ठेक्का लागेन।
बरहथवा नगरपालिकाले बागमती बजार घाटमा मात्र वैधानिक रूपमा ठेक्का लगाएको भए पनि त्यसको केही दूरीमै रहेको मलाहटोल क्षेत्रमा भने अनधिकृत रूपमा उत्खनन भइरहेको छ ।दुई जिल्ला विचको सीमा विवादका कारण समस्यामा परेको बागमती नदी किनारको मलाहटोल र हरैया घाट सर्लाही र रौतहटको विवादित सीमा क्षेत्रमा पर्ने भएकाले निगरानी कमजोर बनेको स्थानीयको भनाई छ।यही अवस्थाको फाइदा उठाउँदै रौतहटतर्फबाट आएका समूहहरूले सर्लाहीतर्फ तटबन्धकै छेउसम्म आएर समेत उत्खनन गरिरहेका छन्।स्पष्ट सीमांङ्कन नहुँदा नियन्त्रण गर्न कठिन भइरहेको स्थानीय जनप्रतिनिधिहरु बताउँछन् ।

अत्यधिक उत्खननका कारण बागमती नदीको प्राकृतिक स्वरूप नै बिग्रिँदै गएको छ।नदीभित्र विभिन्न स्थानमा गहिरा खाल्डा बनेका छन्,जसले तटबन्धमा दबाब बढाएको छ र वर्षायाममा बाढीको जोखिम समेत बढाएको स्थानीय बताउँछन्।यसले खेतीयोग्य जमिनमा समेत असर पार्न थालेको र तत्काल नियन्त्रणको स्थानीयले माग गरेका छन् ।
अनुगमनपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारी कडरियाले रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालसँग समन्वय गर्दै उत्खनन रोक्न पहल गरिएको बताएका छन्।सीमा विवाद समाधान र अवैध उत्खनन नियन्त्रणका लागि दुवै जिल्लाका जनप्रतिनिधि,सुरक्षा निकाय र सरोकारवालालाई राखेर संयुक्त छलफल गर्ने तयारी भइरहेको रौतहटका प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए।
तर स्थानीयवासीको भनाइमा यस्ता बैठक र निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा समस्या झन् जटिल बन्दै गएको छ।नियमित अनुगमनको अभाव,मापदण्ड कार्यान्वयनमा कमजोरी र स्थानीय तहबिच समन्वय नहुँदा बागमती नदीमा दैनिक रूपमा मनपरी दोहन भइरहेको स्थानीयको गुनासो छ।समयमै कडाइ नगरे बागमती नदीको अवस्था झन् विकराल बन्ने र यसले दीर्घकालीन रूपमा वातावरण र जनजीवनमा गम्भीर असर पार्ने देखिन्छ ।
यता,नदीजन्य पदार्थको ठेक्का तथा नदीजन्य पदार्थ सम्बन्धी उद्योगहरुको नियमन र नियन्त्रण गर्ने काम सम्बन्धीत स्थानीय तहहरुको रहेको बताउँदै केही दिन पहिला मात्रै सर्लाहीका सबै स्थानीय तहहरुलाई जिल्ला प्रशासन कार्यालय सर्लाहीले परिपत्र गरेको थियो।बागमती नदीको उत्त क्षेत्रको सवालमा वरहथवा नगरपालिकाले पटक पटक समन्वयात्मक सहयोग माग्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिलाई पत्राचार गरेको भएपनि दुवै निकाय कानमा तेल हालेर बसेका थिए ।