देशका २२ स्थानमा तीनै तहमा रिक्त रहेका जनप्रतिनिधिहरूको पदपूर्तिका लागि उपनिर्वाचन हुने भएको छ।हाल देशभरका २२ स्थान जनप्रतिनिधि विहीन निर्वाचन आयोगले जनाएको छ । तीमध्ये सबैभन्दा धेरै स्थानीय तहअन्तर्गत १७ जना वडाध्यक्षहरुको पद रिक्त रहेको छ ।
आयोगका अनुसार तीमध्ये २ जना पालिका उपाध्यक्ष,१ जना पालिका अध्यक्ष र एक जना प्रदेशसभा सदस्यसँगै हालैमात्र निधन भएका पूर्व सभामुख एवम् प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ सहित २२ स्थान जनप्रतिनिधि विहीन हुन पुगेको छ ।
आयोगले रिक्त रहेको स्थानको आधिकारिक तथ्याङ्क भने पाई नसकेको बताएको छ।यकिन तथ्याङ्क पालिका,प्रदेश सभा र प्रतिनिधि सभासभाबाट पाउनुपर्ने भए पनि अहिलेसम्म पाउन नसकिएकाले आयोगले जनाएको छ ।सबै तथ्याङ्क उपलब्ध गराउन संघीय मामिला मन्त्रालयलाई पत्राचार गरिसकेको आयोगको भनाई छ ।
रिक्त स्थानमा उपनिर्वाचन गराउन आयोगले गत साउनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली भ्रमणमा रहेका वेला कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कालाई जानकारी गराइसकेको छ। यद्यपि सरकारका तर्फबाट अहिलेसम्म आयोगलाई बोलाएर औपचारिक रूपमा यो विषयमा छलफल नभएको आयोगले जनाएको छ ।उपनिर्वाचनका लागि कानुनमा स्पष्ट व्याख्या नहुँदा केही झण्झटिलो भने देखिएको आयोगको ठम्म्याइ छ।