भ्यु टावर बन्यो तर बाटो छैन,दायित्व कसको ?

127 Shares

सर्लाहीको लालबन्दी नगरपालिकाले महत्वाकांक्षी योजना अन्तर्गत निर्माण गरिएको भ्यु टावर अहिले विवादको केन्द्रमा परेको छ।लालबन्दी नगरपालिका १३ नारायण डाँडामा निर्माण गरिएको भ्यु टावर लाखौँ रुपैयाँ खर्च गरिएको भएपनि उक्त टावरसम्म पुग्ने उचित बाटो नहुँदा यसको उपयोगिता माथि प्रश्न उठ्न थालेको छ।
लालबन्दी नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आर्थिक वर्ष २०७७/०७८ मा रु एक कराेड १२ लाख खर्चेर भ्यु टावर निर्माण गरिएको हो।निर्माण सम्पन्न भएपछि टावर आकर्षक देखिए पनि त्यहाँ पुग्नको लागि न त पक्की सडक छ,न त सहज पैदल मार्ग नै।स्थानीयका अनुसार वर्षायाममा त भ्यु टावरसम्म पुग्न झन् कठिन हुने गरेको छ।“भ्यु टावर त बन्यो,तर बाटो नहुँदा यहाँ कसरी पुग्ने?”स्थानीय बासिको प्रश्न छ ।
टावर निर्माणका लागि करिब सवा कराेड लालबन्दी नगरपालिकाले खर्च गरेकाे भए पनि पूर्वाधारको अन्य आवश्यक पक्षलाई बेवास्ता गरिएको भन्दै स्थानीयहरू आक्रोशित छन्। उनीहरूका अनुसार योजना बनाउँदा समग्र संरचना र पहुँचको विषयलाई ध्यान दिनुपर्ने भए पनि सम्बन्धित निकायले हतारमा काम सम्पन्न गर्न मात्रै ध्यान दिएको हो ।
आगामी बजेटमा भइु टावरसम्म पुग्ने सडक निर्माणलाई प्राथमिकतामा राखिने लालबन्दी नगरुपालिकाले जनाएको छ।“पहिलोे चरणमा भ्यु टावर निर्माण भएको छ।अब दोस्रो चरणमा पहुँच मार्ग बनाउने साथै भ्यू टावरको पनि बाँकी काम गर्नु पर्ने छ,त्यो सबै हुन्छ।” लालबन्दी नगरपालिका स्रोतले जनाएको छ।तर, स्थानीयहरू भने यस्तो आश्वासनमा विश्वस्त देखिँदैनन्।
कुनै पनि पर्यटकीय संरचना बनाउँदा पहुँच,सुरक्षा र सेवा सुविधालाई समान रूपमा ध्यान दिनुपर्नेमा यस्ता परियोजना केवल “देखावटी”बन्ने खतरा रहने स्थानीय जानकारहरु बताउँछन् ।अहिलेको अवस्थामा उक्त भ्यु टावर पनि त्यस्तै उदाहरण बन्न सक्ने उनीहरुको चिन्ता छ।
यसबीच,केही युवाहरूले सामाजिक सञ्जालमार्फत यस विषयमा आवाज उठाउन थालेका छन्।उनीहरूले स्थानीय जनप्रतिनिधिहरूको ध्यानाकर्षण गरिरहेका छन्।स्थानीय तहले जनताको करबाट उठेको रकमलाई प्रभावकारी ढंगले प्रयोग गर्नुपर्ने माग उनीहरूको छ।अहिले भ्यु टावर आसपास क्षेत्र सुनसान जस्तै देखिन्छ।पर्यटक त परको कुरा,स्थानीयहरू पनि त्यहाँ जान चाहँदैनन्।उचित पूर्वाधार बिना बनाइएका यस्ता संरचनाले दीर्घकालीन रूपमा राज्यको स्रोतको दुरुपयोग मात्र गर्ने जानकारहरुको भनाइ छ।
योजना निर्माण र कार्यान्वयन बीचको समन्वय अभावले राम्रो उद्देश्यका परियोजना पनि विवादमा पर्ने गरेको यो भ्यु टावर एक उदाहरण बनेको छ।अब सम्बन्धित निकायले समयमै सुधारात्मक कदम चाल्ने कि यस्ता परियोजना कागजमै सीमित रहने भन्ने प्रश्न जीवितै छ।

सम्बन्धित समाचार