पूर्वाधार विकास कार्यालय सर्लाहीमा योजनाको चिठ्ठी बिचौलिया मार्फत किनबेच भएको आरोप

219 Shares

मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री राजकुमार गुप्ताले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि विगतदेखि चल्दै आएको योजना चिठ्ठी वितरणको विवादित अभ्यास अन्त्य गर्दै सुशासनतर्फ महत्वपूर्ण कदम चालेको दाबी गरि रहेको समयमा पुर्वाधार विकास कार्यालय सर्लाहीमा भने विनियोजित योजनाको चिठ्ठी बिचौलियाको हातमा पुगेको रहस्य फेला परेको छ ।
लालबन्दी नगरपालिका–१४ नारायण खोलामा सडक निर्माणका लागि २५–२५ लाखका तीन वटा योजना परेको र ती योजनाको चिठ्ठी लिन लालबन्दी नगरपालिका–१४ नारायण खोलाका वडा अध्यक्ष छेनामसिंह घिसिङ पूर्वाधार विकास कार्यालय मलंगवा पुग्दा उत्त योजनाको चिठ्ठी अर्काे मानिसले लगि सकेको कार्यालय प्रमुख तथा इन्जिनियर संजयकुमार यादवले बताएपछि योजनाको चिठ्ठी बिचौलियाको हातमा पुगेको रहस्य फेला परेको हो ।
उपभोक्ता समिति गठन गरेर काम अघि बढाउन तयार पारिएको चिठ्ठी पहिले नै बिचौलियाको हातमा परिसकेको जानकारी कार्यालयले दिएको वडा अध्यक्ष घिसिङले बताए ।उनका अनुसा योजनाको चिठ्ठी लिन कार्यालयमा पुग्दा अर्कै मानिसले उक्त चिठ्ठी बुझि सकेको जानकारी पाएपछि योजनाको चिठ्ठी बिचौलियाले बुझिसकेको रहस्य सार्वजनिक भएको हो ।
नीयमानुसार कुनै पनि योजनाको चिठ्ठी वडा कार्यालयमा पठाउनुपर्ने र वडा कार्यालयले उपभोक्ता समिति गठन गरी पुनःपूर्वाधार विकास कार्यालयलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।तर वडा कार्यालयलाई जानकारी नै नदिई बिचौलियाले चिठ्ठी बुझेर उल्टै कमिसन मागिरहेको वडाध्यक्ष घिसिङको गुनासो छ ।
मधेशको कर्णाली भनेर चिनिले लालबन्दी नगरपालिका–१४ नारायण खोलालाई स्थानीय तह लालबन्दी नगरपालिकाले उपेक्षा गरेको गुनासो आई रहेको समयमा पुर्वाधार विकास कार्यालयले विचौलिया मार्फत कमिसन असुलेर चिठ्ठी दिएको प्रति वडाध्यक्ष घिसिङले गम्भीर गुनासो गरे ।साविक नारायणखोला गाविसको केन्द्र मटरदोभानसम्म सडक पुग्ने अवस्था रहे पनि सुरुमै बिचौलियाको हातमा चिठ्ठी पर्दा काम गर्न समस्या भएको वडाध्यक्ष घिसिङले बताए ।
“सडक नै नभएको ठाउँमा सडक बनाउन हारगुहार गरेर योजना ल्यायौँ,तर कर्मचारी र बिचौलियाले त्यसैमा आँखा लगाएका छन्,कार्यालय प्रमुखले नै तपाईँको वडाको चिठ्ठी गइसक्यो, फलानो व्यक्तिसँग सम्पर्क गर्नु भन्छन्।”लालबन्दी नगरपालिका–१४ नारायण खोलाका वडाध्यक्ष घिसिङको गुनासो छ ।
हरेक आर्थिक वर्षको अन्त्यमा पुर्वाधार विकास कार्यालय सर्लाहीमा योजनाको चिठ्ठी बुझ्नेहरूको भिड लाग्ने र बिचौलिया मार्फत कमिसन असुलीको खेल हुने गरेको विषय सार्वजनिक हुने गरेको भएपनि कमिसनको खेल कहिलै नरोकिएको जानकारहरु बताउँछन् ।
‎विगतमा भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत योजना चिठ्ठी मन्त्रालय,मन्त्रीको सचिवालय, मन्त्रीको निवास तथा बिचौलियाको पहुँचमार्फत वितरण हुने गरेको र  कमिसनको आधारमा योजना बाँडफाँट हुने, विचौलिया र आसेपासेलाई प्राथमिकता दिने तथा योजना चिठ्ठी बिक्री हुने जस्ता विषय सार्वजनिक रूपमा आलोचित बन्दै आएका छन् ।
‎‎पूर्वमन्त्रीहरूको कार्यकालमा समेत योजना चिठ्ठी सम्बन्धित जिल्ला कार्यालय भन्दा बढी मन्त्रालय,मन्त्रीको सचिवालय,मन्त्रीको निवास र विभिन्न अनौपचारिक स्थानबाट वितरण हुने गरेको भन्दै व्यापक असन्तुष्टि देखिएको अवस्थामा यस पटक सो नदेखिएपनि पुर्वाधार विकास कार्यालयमा त्यस्तो दृश्य देखिँदा वर्तमान मन्त्री गुप्तालाई समेत गिज्याई रहेको छ ।
मन्त्रालय,मन्त्रीको सचिवालय,मन्त्रीको निवास र विभिन्न अनौपचारिक स्थानबाट प्रति योजना १० देखि २५ प्रतिशतसम्म कमिसन लिएर योजना बिक्री भएको आरोप सार्वजनिक रूपमा उठ्ने गरेको अवस्थामा पुर्वाधार विकास कार्यालयले कमिसन लिएर योजना बिक्रि गर्छन् । भन्ने प्रष्ट भएको छ ।
‎मन्त्री गुप्ताले सर्लाही सहित मधेशका सबै आठै वटा जिल्ला स्थित रहेका सम्बन्धित कार्यालयमा योजना चिठ्ठी सिधै पठाएर मन्त्रालय,सचिवालय,मन्त्री निवास तथा बिचौलियाको हस्तक्षेप बन्द गर्ने चेष्टा गरेका भएपनि पुर्वाधार विकास कार्यालयहरुले कमिसन विना योजनाका चिठ्ठी नदिने गरेका धेरै गुनासो आएका छन् ।
“नयाँ सरकार बनेपछि अन्य कार्यालयमा केही सुधार देखिए पनि पूर्वाधार विकास कार्यालयको अवस्था उस्तै रहेको साथै जनप्रतिनिधि चिठ्ठी लिन धाइरने तर चिठ्ठी अर्कैले बुझेर बाहिर बार्गेनिङ गरि रहँदा “जुन जोगि आएपनि कानै चिरेका”भन्ने उखान चरितार्थ भएको जानकारहरु बताउँछन् ।
यता,सो विषयमा जिज्ञासा राख्दा कार्यालय प्रमुख यादवले यसअघिका कार्यालय प्रमुखले वितरण गरेको चिठ्ठीको “ओसी”(कार्बन प्रतिलिपि) नै फेला नपरेको बताए ।उनले निवर्तमान कार्यालय प्रमुख विजयकुमार यादवसँग कागजात माग गर्दा पनि नदिएको बताए ।
पुर्वाधार विकास कार्यालय गौरमा सरुवा भएका पुर्वाधार विकास कार्यालय सर्लाहीका तत्कालीन प्रमुख यादवले आफूले कागजात लगेको भन्ने आरोप अस्वीकार गरे।सम्बन्धित व्यक्ति नै चिठ्ठी बुझ्न आएपछि कार्यालयले अर्को पत्र बनाएर पनि दिन सक्ने भन्दै दर्ता–चलानी रजिस्टरबाट समेत विवरण हेर्न सकिने उनले बताए ।
उनले आर्थिक वर्षको अन्तिममा मात्र बजेट आउने परिपाटीका कारण पूर्वाधार विकास कार्यालयमा समस्या हुने गरेको स्वीकार गरे।अन्तिम समयमा बजेट आउने र तत्काल खर्च गर्नुपर्ने बाध्यताको फाइदा उठाउँदै कर्मचारी र बिचौलियाले योजना बिक्री गर्ने गरेको आरोप लाग्ने गरेको उनको भनाइ छ ।
यता,घटनाबारे जानकारी भएको बताउँदै पुरानो कार्यालय प्रमुखले कागजात लिएर गएको विषयमा २४ घण्टाभित्र स्पष्ट पार्न निर्देशन दिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए ।
त्यस्तै,कसैले योजना चिठ्ठी बिक्री गरेको पाइए कडा कारबाही गर्ने मन्त्री गुप्ताले चेतावनी दिए।‎मन्त्री गुप्ताले प्रदेशभर अधुरा रहेका पुलहरूको निर्माण सम्पन्न गर्ने,सडक लगायतका पूर्वाधार विकासलाई तीव्रता दिने तथा योजनामा पारदर्शिता कायम गर्ने आफ्नो प्राथमिकता रहेको समेत बताए।‎उनको नेतृत्वपछि मन्त्रालयभित्र विगतको कमिसन संस्कृति तोडिएको,योजना वितरण प्रक्रियामा पारदर्शिता आएको तथा जिल्लास्तरबाटै योजनाहरू कार्यान्वयन हुने वातावरण बनेको समेत दाबी गरे ।

सम्बन्धित समाचार