पार्टी सदस्यता लिएको पाइएपछि हरिहरपुरगढीका ६ शिक्षक कर्मचारी निलम्बित

349 Shares

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षकसहित विभिन्न कार्यालयमा कार्यरत छ जना शिक्षक तथा कर्मचारीलाई निलम्बन गरेको छ।विभिन्न राजनीतिक दलको सदस्यता लिएको विवरण सार्वजनिक भएपछि हरिहरपुरगढी गाउँपालिकाका सामुदायिक विद्यालयका शिक्षकसहित विभिन्न कार्यालयमा कार्यरत छ जना शिक्षक तथा कर्मचारीलाई निलम्बन गरिएको हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेले जानकारी दिए ।उनका अनुसार  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को सदस्यता लिएको विषय सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरुमा समाचार सार्वजनिक भएपछि गाउँपालिकाले उनीहरूमाथि प्रशासनिक कारबाही अघि बढाएको हो ।
गाउँपालिकाले सम्बन्धित शिक्षक तथा कर्मचारीसँग स्पष्टीकरण माग गर्दा राजनीतिक दलको सदस्यता लिएको विषयमा उनीहरूले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नभएपछि कारबाही गरिएको हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए ।हरिहरपुरगढीस्थित जनकल्याण नि.मा.वि.गुर्जीडाँडाका सुकराम घिसिङ र टेकबहादुर घिसिङ तथा कर्मीडाँडा चिसापानीस्थित मा.वि.का शिक्षक अभिनाश भोलन कारबाहीमा परेका छन् । राजनीतिक दलसँगको आबद्धतासम्बन्धी विवरण सार्वजनिक भएपछि गाउँपालिकाले उनीहरूलाई स्पष्टीकरण सोधेको थियो।स्पष्टीकरण सन्तोषजनक नभएपछि उनीहरुलाई निलम्बन गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
शिक्षकसँगै गाउँपालिकाअन्तर्गतका स्वास्थ्य संस्था,वडा कार्यालय र गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारीसमेत निलम्बनमा परेका छन्। चिसापानी स्वास्थ्य इकाइकी कार्यालय सहयोगी कोपिला कुमारी भोलन,हरिहरपुरगढी गाउँपालिका–१ कार्यालयका सहयोगी सन्तराम घिसिङ र हरिहरपुरगढी गाउँपालिका कार्यालयका गाउँ प्रहरी जवान निलबहादुर वि.क.लाई पनि निलम्बन गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अनुसार शिक्षकहरूलाई तत्कालका लागि ९० दिन र कर्मचारीहरूलाई ६० दिन निलम्बन गरिएको छ।गाउँपालिकाले सार्वजनिक भएका विवरणलाई आधार बनाएर सम्बन्धित व्यक्तिहरूसँग जवाफ मागेको र ती जवाफ चित्तबुझ्दो नदेखिएपछि निलम्बनको निर्णय लिएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेको भनाइ छ ।
राजनीतिक दलको सदस्यतासम्बन्धी विषयबाट सुरु भएको यो घटनाले शिक्षक तथा कर्मचारीको पदीय जिम्मेवारी,राजनीतिक आबद्धता र सार्वजनिक सेवा सञ्चालन बीचको सम्बन्धलाई चर्चामा ल्याएको छ।गाउँपालिकाको निर्णयसँगै राजनीतिक दलको सदस्यता लिएको विषयमा कारबाहीमा परेका शिक्षक तथा कर्मचारीको आगामी प्रशासनिक अवस्था र प्रभावित विद्यालयको शैक्षिक गतिविधि कसरी व्यवस्थित गरिन्छ भन्ने पनि चासो बढेको छ ।

सम्बन्धित समाचार