Close This

सर्लाही काँग्रेसको अधिवेशन विवाद मिल्यो तर सदस्यता विवाद बाँकी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-७ गते   १७९५ पटक हेरिएको

नेपाली काँग्रेस सर्लाहीको अधिवेशनको विवाद टुंङ्गीएको छ । केन्द्रीय पार्टी कार्यालय सानेपा काठमाण्डौँमा चार दिनसम्म चलेको वार्तापछि आज(मंगलवार)केन्द्रीय समितिले जिल्लाका दुवै पक्षलाई सहमती गराई अधिवेशनको विवाद टुंङग्याएको हो । 
सहमती भएसँगै सर्लाहीमा काँग्रेसको अधिवेशन गराउन नयाँ निर्वाचन अधिकृत भरत राउतलाई खटाइएको नेपाली कांग्रेसले जनाएको छ । राउत यसअघि जिल्लामा छ निर्वाचन क्षेत्रबाट चार वटा निर्वाचन क्षेत्र कायम गर्दा काँग्रेस नेताहरुको समायोजनका लागि सर्लाही आएका थिए । सर्लाहीमा मुख्यगरी वडा स्तरमा खटिने मतदान अधिकृतको विषयमा विवाद भएकाले काँग्रेसको अधिवेशन रोकिएको थियो ।
अहिले भने केन्द्रीय निर्वाचन समिति आफैले क्षेत्र नं. १ लाई क्षेत्र नं. ३ तथा क्षेत्र नं. ३ लाई क्षेत्र नम्वर १, क्षेत्र नं. २ लाई क्षेत्र नंं. ४ र क्षेत्र नं. ४ लाई क्षेत्र नं. २ मा खटाएको छ । कुन मतदान अधिकृतलाई कुन वडा प¥र्यो भन्नेबारे नेपाली कांग्रेसले खुलाएको छैन । वडा स्तरमा मतदान गराउन काँग्रेस निकटनै शिक्षकहरुलाई मतदान अधिकृतको रुपमा खटाइने भएको छ । निर्वाचन समितिले मतदान अधिकृत खटाएसँगै अब काँग्रेसको वडा अधिवेशन मंसिर १० गते सम्ममा हुने जिल्ला सभापति नागेन्द्र कुमार रायले जानकारी दिनु भयो । वुधवारसम्ममा नयाँ निर्वाचन अधिकृत सर्लाही आएर मतदान अधिकृतहरुलाई आवश्यक प्रशिक्षण र कागजात दिनासाथ अधिवेशन प्रक्रिया अघि बढ्ने सभापति रायले बताउनु भयो ।
त्यसैगरी नेपाली काँग्रेस सर्लाहीमा क्रियाशील सदस्यताको विवाद कायमै छ । केही क्षेत्रमा नयाँ क्रियाशील सदस्यहरु थपिएका र कतिपय ठाउँमा हटाइएको कांग्रेस सर्लाहीले जनाएको छ । जिल्ला सभापति राय र पूर्व जिल्ला सभापति लक्ष्मण राय समूह बीचको विवादले अधिवेशन गराउन नसकेर यसअघि दुई पटक खटाइएका निर्वाचन अधिकृतले राजिनामा दिएका थिए । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech