सर्लाहीका स्वास्थ्यकर्मीहरुले प्रमुख जिल्ला अधिकारीलाई आफ्ना मागहरु समेटी ज्ञापन पत्र बुझाएका छन्।सि.अ.हे.ब.र सि.अ.न.मि चौथो/पाँचौँ जिल्लास्तरिय संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठलाई आफ्ना विभिन्न मागहरू समेटिएको ज्ञापन पत्र बुझाइएको संघर्ष समितिले जानकारी दिएको छ ।

समितिका अनुसार २० वटा स्थानीय तहहरु रहेको सर्लाहीका २० वटै पालिकामा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीहरूले सेवा शर्त,समायोजन तथा अन्य अधिकार सुनिश्चित गर्न पहल गरिदिन प्रशासन प्रमुख जिल्ला अधिकारी श्रेष्ठ समक्ष आग्रह गरिएको हो ।
मधेश प्रदेशका स्वास्थ्यकर्मीहरूले आफ्ना मागहरू तत्काल सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालय मार्फत प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएका हुन्।मधेश प्रदेशका आठवटै जिल्लाका सि.अ.हे.ब.र सि.अ.न.मि.स्वास्थ्य कर्मचारीहरू एकजुट भई प्रदेशस्तरिय संघर्ष समिति गठन गरी प्रदेश लोक सेवा आयोग जनकपुर,मधेश प्रदेश गृह मन्त्रालय तथा मुख्यमन्त्री कार्यालयमा पनि पत्र बुझाइसकेका छन्।

हाल चौथो तहबाट हुने प्रवेश प्रक्रिया खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति हुने गरी परिवर्तन गर्नुपर्ने,स्थानिय सेवा गठन तथा सञ्चालन ऐन २०७१ को दफा २९ उपदफा २ मा उल्लेखित बाध्यत्मक वाक्यांश हटाइनुपर्ने,विगतदेखि पाउँदै आएको २ तह स्तरवृद्धि पाउनुपर्ने लगायतका माग राख्दै सािमतिले ज्ञापन पत्र बुझाएको हो। गत चैत्र ६ र ७ गते बसेको प्रदेश सभा बैठकमा पनि मागहरू पेश नभएकाले स्वास्थ्यकर्मीहरूले चैत्र ८ गते एक दिने धर्ना दिएका थिए।तर,प्रदेश सरकारको ध्यानाकर्षण नभएपछि आगामी चैत्र २५ गतेदेखि प्रदेश सभा र मुख्यमन्त्री कार्यालय अगाडि अनिश्चितकालीन धर्ना दिने संघर्ष समितिले चेतावनी दिएको छ ।उनीहरुले आफुहरुको माग पुरा नहुँदा सम्म आन्दोलन जारी राख्ने बताएका छन् ।