Close This

११६ मध्ये ११५ जनाको स्बाव रिपोर्ट नेगेटिभ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-१५ गते   ४५७ पटक हेरिएको

जिल्लामा सङ्कलन गरेर परीक्षणका लागि टेकु पठाइएको १ सय १५ जनाको थ्रोट स्वाब रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भाईरस (कोभिड–१९) संक्रमित धनकौल गाउँपालिकाका १४ वर्षीय बालकका परिवार सहित चन्द्रनगर गाउँपालिका र ईश्वरपुर नगरपालिकाको क्वारेन्टाइनमा बसेका १ सय १६ जनाको गत शुक्रवार थ्रोट स्वाब सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाण्डौं पठाइएको थियो । त्यसमध्ये सोमवार दिउँसोसम्म १ सय १५ जनाको रिपोर्ट आएको र उनीहरु सबैमा कोरोना संक्रमण नरहेको पुष्टी भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो ।
जिल्लाबाट पठाइएको मध्ये एक जनाको स्वाब भने काठमाण्डौं नपुगेको जानकारी प्राप्त भएको र त्यस सम्वन्धमा बुझ्ने काम भइरहेको प्रजिअ जिसीले बताउनु भयो । उहाँका अनुसार अब ईश्वरपुरका एक जनाको स्वाब परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ । केही दिनअघि आरडीटी विधीबाट परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएका ईश्वरपुर नगरपालिका–९, रामनगरका ती पुरुषको पीसीआर विधीबाट स्वाब परीक्षण गर्न टेकु पठाइएको थियो ।
जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनबाटै स्वाब सङ्कलन गरी टेकु पठाइएका ती पुरुषको पनि सोमवार नै रिपोर्ट आउने बुझिएको प्रमुख जिल्ला अधिकारी जिसीले बताउनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech