सिन्धुलीमा पछिल्लो समय सम्बन्ध विच्छेदका घटनाहरु दिनप्रतिदिन बढी रहेका पाइएको छ । वैवाहिक जीवनमा आउने सामान्य असमझदारी,परिवार र आफन्तबाट मध्यस्थताको मार्ग नपहिल्याउनुका साथै वैदेशिक रोजगारी र सामाजिक सञ्जालको प्रयोगका कारण जिल्लामा सम्बन्ध विच्छेदका घटनाहरु दिनप्रतिदिन बढी रहेका पाइएको जिल्ला अदालत सिन्धुलीले जनाएको छ ।
जिल्ला अदालत सिन्धुलीको तथ्यांक अनुसार सम्बन्ध विच्छेदका मुद्दा पछिल्ला वर्षमा बढ्दै गएका छन्।आर्थिक वर्ष २०८०/०८१ मा तीन सय २३ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए।आर्थिक वर्ष २०८१/०८२ मा तीन सय २१ वटा मुद्दा दर्ता भए।आर्थिक वर्ष २०८२/०८३ मा भने यो संख्या बढेर चार सय ३८ पुगेको छ ।
तीन आर्थिक वर्षको तथ्यांक हेर्दा २०८०/०८१ को तुलनामा २०८२/०८३ सम्म आइपुग्दा सम्बन्ध विच्छेदका मुद्दा एक सय १५ ले बढेको छ।पछिल्लो वर्षमा मात्रै अघिल्लो आर्थिक वर्षको तुलनामा एक सय १७ वटा बढी मुद्दा दर्ता भएका अदालत स्रोतले जनाएको छ।
अदालतका अनुसार सिन्धुलीमा सम्बन्ध विच्छेद बढ्नुको महत्वपूर्ण कारण जिल्लाका धेरै परिवारको आर्थिक आधार वैदेशिक रोजगारीसँग जोडिएको छ।घरको आर्थिक अवस्था सुधार्ने उद्देश्यले श्रीमान् वा श्रीमती विदेश जाने जसका कारण लामो समयसम्म हुने भौतिक दूरी, आपसी सम्पर्कमा कमी,विश्वासको संकट तथा पारिवारिक जिम्मेवारीमा देखिने समस्याले कतिपय वैवाहिक सम्बन्धमा समस्या निम्त्याउने गरेको छ।विदेशमा रहेका श्रीमान–श्रीमतीबीच लामो समयसम्म प्रत्यक्ष भेटघाट नहुनु र पारिवारिक जीवनमा दूरी बढ्दै जाँदा विवाद उत्पन्न हुने गरेको सरोकारवालाहरू बताउँछन्।कतिपय अवस्थामा विदेशमा रहेका व्यक्तिले परिवारलाई पर्याप्त समय तथा साथ दिन नसक्दा पनि सम्बन्धमा समस्या देखिन्छ ।
त्यसैगरी पछिल्लो समय मोबाइल फोन र सामाजिक सञ्जालको बढ्दो प्रयोगले पनि वैवाहिक सम्बन्धमा नयाँ चुनौती थपेको छ।सामाजिक सञ्जाल मार्फत हुने नयाँ चिनजान,गोप्य कुराकानी,शंका तथा त्यसबाट उत्पन्न अविश्वासले कतिपय दम्पतीबीच विवाद बढाउने र सम्बन्ध विच्छेद सम्ममा पुग्ने गरेको सरोकालाहरवारू बताउँछन् ।
अदालतका अनुसार जातीय आधारमा तुलना गर्दा सम्बन्ध विच्छेदका मुद्दामा दलित समुदायका सेवाग्राहीको संख्या तुलनात्मक रूपमा धेरै देखिएको छ।यसले सम्बन्ध विच्छेदलाई केवल व्यक्तिगत सम्बन्धको विषयका रूपमा मात्र नभई सामाजिक तथा आर्थिक अवस्थासँग जोडको देखाउँछ ।
पालिकागत रुपमा हेर्ने हो भने सिन्धुलीका नौ वटा स्थानीय तहहरु मध्य सबै भन्दा धेरै कमलामाई नगरपालिकाबाट सम्बन्ध विच्छेद सम्बन्धी र फिक्कल गाउँपालिकाबाट सबैभन्दा कम मुद्धा आउने गरेका अदालतको तथ्यांकमा उल्लेख गरिएको छ ।स्थानीय तह अनुसार मुद्दाको संख्यामा देखिएको अन्तरका पछाडि जनसंख्या,बसाइँसराइ, वैदेशिक रोजगारीको अवस्था,सामाजिक संरचना,कानुनी पहुँच तथा सम्बन्ध विच्छेद प्रतिको सामाजिक स्वीकार्यता जस्ता विभिन्न कारण हुन सक्ने देखिन्छ ।
तीन वर्षमा तीन सय २३ बाट चार सय ३८ पुगेको सम्बन्ध विच्छेदका मुद्दाको संख्या एउटा तथ्यांक मात्रै नभई सिन्धुलीका परिवारमा बदलिँदो सम्बन्ध,वैदेशिक रोजगारीले ल्याएको दूरी, प्रविधिको बढ्दो प्रभाव र बदलिँदो सामाजिक सोचबारे प्रश्न समेत उठाएको छ ।सम्बन्ध विच्छेद केहि हदसम्म न्यूनीकरण गर्नको लागि दम्पतीबीच आपसी समझदारी,विश्वास र प्रभावकारी संवाद आवश्यक रहेको र वैवाहिक जीवनमा देखिने आर्थिक समस्या,पारिवारिक हस्तक्षेप,अविश्वास तथा असमझदारीलाई समयमै छलफल गरी समाधान गर्न सके सम्बन्ध विच्छेदका घटना कम गर्न सकिने कानूनका जानकारहरु बताउँछन् ।