मधेश प्रदेशको महोत्तरी र धनुषामा भूमिगत सिँचाइ प्रणाली प्रभावकारी बनेको छ । कृषि क्षेत्रको उत्पादकत्वमा वृद्धि तथा किसानको खेतमा सिँचाइ सुविधा पु¥याउनका लागि नहर एवम् नदीनालाबाट सिँचाइको व्यवस्था नभएको तथा आकाशे पानीमाथि निर्भर रहेका किसानका लागि यो प्रविधि वरदान साबित भएको हो ।यसबाट खेतीका लागि मात्रै नभई खानपिनका साथै दैनिक जीवनमा समेत प्रयोग भइरहेको भन्दै स्थानीय खुसी भएका छन्।जलस्रोत तथा भूमिगत सिँचाइ विकास डिभिजन कार्यालय जलेश्वर,महोतरीद्वारा धनुषा तथा महोत्तरीको ग्रामीण क्षेत्रमा जडान गरिएका डिप ट्युवेल तथा पावर ड्रिलबाट सिँचाइ सुविधा पुगेपछि सो क्षेत्रको करिब ४० बिघा खेत सिञ्चित भएको छ ।
महोत्तरी तथा धनुषामा हालसम्म ३५ वटा डिप ट्युवेल जडान भएर एक हजार चार सय बिघा कृषियोग्य जमिन सिञ्चित भइरहेको जलस्रोत तथा भूमिगत सिँचाइ विकास डिभिजन कार्यालय जलेश्वर,महोतरीले जनाएको छ।कार्यालयका अनुसार एउटा डिप ट्युवेलको संरचना निमार्णदेखि सञ्चालन गर्दाको अवस्थासम्म रु एक करोडभन्दा बढी रकम लाग्ने गरेको छ । गत आर्थिक वर्षमा थप पाँचवटा डिपट्युवेलको निर्माण प्रक्रिया सुरु भएको र एउटा निर्माणमा रु ३० लाखसम्म खर्च भएको तथा चालु आर्थिक वर्षमा थप खर्च गरेर निर्माण सम्पन्न गरिने जलस्रोत तथा भूमिगत सिँचाइ विकास डिभिजन कार्यालय जलेश्वर,महोतरीले जनाएको छ।कार्यालयका अनुसार अहिले पाँचवटाको निर्माणमा रु एक करोड ५० लाख खर्च भइसकेको छ ।
त्यसैगरी,महोत्तरी तथा धनुषामा हालसम्म ५० वटा पावर ड्रिल निर्माण भई सञ्चालनमा रहेको र एउटा पावर ड्रिलबाट नौ बिघा जमिन सिञ्चित हुने जलस्रोत तथा भूमिगत सिँचाइ विकास डिभिजन कार्यालय जलेश्वर,महोतरीका सूचना अधिकारी तथा इन्जिनियर अमलेश यादवले जानकारी दिए ।उनका अनुसार एउटा पावर ड्रिल निर्माणदेखि सञ्चालनसम्ममा रु १६ लाख लाग्ने छ । अहिलेसम्म ५० वटा पावरड्रिल निमार्णमा रु एक करोड २९ लाख ६० हजार खर्च भएको कार्यालयले जनाएको छ।दुवै जिल्लामा डिप ट्युवेल तथा पावर ड्रिलबाट करिब १८ सय ५० बिघा जमिनमा सिँचाइ भइरहेको जलस्रोत तथा भूमिगत सिँचाइ विकास डिभिजन कार्यालय जलेश्वर,महोतरीका कार्यालय प्रमुख नयन पोखरेलले बताए ।उनका अनुसार डिप ट्युवेल निर्माणमा उपभोक्ता समिति मार्फत काम हुने गरेको छ ।