Close This

सिन्धुलीमा बजार भाउभन्‍दा महँगोमा युरियामल बेच्‍ने व्यापारी पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-३ गते   ६३० पटक हेरिएको

लकडाउनको समयमा बढी मूल्यमा युरिया मल बिक्री गरेको आरोपमा एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका–६ रातमाटामा रहेको जय बागवानी कृषि सहकारी संस्थाका सञ्चालक युवराज दाहाललाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

किसानले मल नपाएको गुनासो आइरहेका बेला बढी मूल्यमा मल बिक्री गरेको उजुरीका आधारमा सहकारी सञ्चालक दाहाललाई पक्राउ गरी कालोबजारी ऐन अन्तर्गत कार्बाही प्रक्रिया अघि बढाएको कार्यालका प्रबक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार प्रतिबोरा ८५० रुपैयाँ मात्र पर्ने युरिया मललाई एक हजार रुपैयाँमा बिक्री गरेको आरोपमा सहकारी सञ्चालक दाहाललाई ७२४ बोरा युुरिया मलसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका दाहाललाई एउटा जिल्लामा बेच्न भनेर ल्याएको मल अर्को जिल्लामा बेचबिखन गरेको समेत आरोप छ ।

गत बुधबार किसानले जय बागवानी कृषि सहकारी संस्थाले बढी मूल्यमा मल बेचेको भन्दै उजुरी दिएपछि प्रहरीले गोदाममा छापा मारेर ताला लगाएको थियो । कमलामाई नगरपालिका–६ रातमाटाका दुई गोदाममा छापा मारी प्रहरीले ७२४ बोरा मल पनि नियन्त्रणमा लिएको थियो ।

प्रहरीले मल बोकेका तीन वटा ट्रक पनि नियन्त्रणमा लिएको जनाएको छ । सहचालक दाहाललाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी कार्यालयका प्रमुख एवम प्रहरी उपरिक्षक रन्जु सिग्देलले कमलामाई खबरलाई जानकारी दिनुभयो । वीरगन्जबाट जनकपुरका लागि चलान भएको युरिया मल दाहालले सिन्धुली ल्याएका हुन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech