सर्लाहीको हरिवन नगरपालिकाले आगामि आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट पारित गरेको छ।हरिवन नगरपालिकाले १० औँ नगर सभा अधिवेशनमा नगर उपप्रमुख हरिमाया घलानले आगामी आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्दै रु ६५ करोड १८ लाख ५७ हजार बराबरको बजेट प्रस्तुत गरेकी हुन् । संघीय सरकारकाबाट हस्तान्तरित अनुदान रु ३९ करोड ५९ लाख,राजस्व बाँडफाँडबाट प्राप्त रकम रु १६ करोड ४८ लाख ८३ हजार,प्रदेश सरकारबाट हस्तान्तरित अनुदान रु दुई करोड ७४ लाख र आन्तरिक आय स्रोतको रु सात करोड १० लाख गरी कुल रु ६५ करोड १८ लाख ५७ हजार बराबरको बजेट अनुमान गरिएको छ ।
बजेटमा सडक,कृषि,शिक्षा र स्वास्थ्य लगायतलाई प्राथमिकता दिइएको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले जानकारी दिए।उनका अनुसार बजेट सार्वजनिक कार्यक्रमकै अवसरमा हरिवन नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ।सामाजिक सुरक्षा भत्ता र शिक्षकहरुको तलब भत्ता नसमेटिएकाले यो बजेट केही सानो देखिएको नगर प्रमुख बुढाथोकीले बताए ।
नगर सभाले कर्मचारीको मनोबल उच्च बनाउँदै सेवाप्रति थप लगनशील बनाउन आगामी आर्थिक वर्षदेखि नगरपालिका मातहत कार्यरत शिक्षक र कर्मचारीहरुको पारिश्रमिक १० प्रतिशतले वृद्धि गर्ने निर्णय पारित गरेको हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज फुँयालले बताए ।विगत वर्षहरुमा जनप्रतिनिधिहरु बीच बजेट बाँडफाँडका विषयमा विवादका कारण ढिलो गरी नीति तथा कार्यक्रम एवम बजेट पारित हुने हरिवन नगरपालिकाले यो वर्ष भने असार मसान्त भित्रै बजेट पारित गरेको छ ।
११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी २० वटा स्थानीय तह रहेको सर्लाहीमा एउटा नगरपालिका सहित तीन वटा गाउँपालिकाले आगामि आर्थिक वर्षको वार्षिक बजेट,नीति तथा कार्यक्रम पारित गर्न बाँकी छ।भूमि व्यवस्था,सहकारी,सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार गोडैटा र हरिपुर्वा नगरपालिका सहित चक्रघट्टा,धनकौल र विष्णु गाउँपालिकाले आगामि आर्थिक वर्षको वार्षिक बजेट,नीति तथा कार्यक्रम पारित गर्न बाँकी रहेको छ।