सर्लाहीको सशस्त्र प्रहरीको बर्दिमै असुली धन्दा,कमिसन नबुझाउने व्यापारीलाई सास्ती

369 Shares

सर्लाहीमा सशस्त्र प्रहरीको घुमुवा आतंकले सर्वसाधारण तथा व्यवसायीहरु त्रसित बनेका छन्। जिल्लाका विभिन्न नाकाहरू,बजार क्षेत्र तथा राजमार्ग आसपासमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरुले अवैध रूपमा रकम असुली गर्ने,अनावश्यक दुःख दिने तथा धम्क्याउने कार्य बढाएको भन्दै स्थानीयहरूको गुनासो छ ।
जिल्लाको सीमा क्षेत्रका साथै बरहथवा,हरिवन,लालबन्दी तथा ईश्वरपुर क्षेत्रका विभिन्न सडक खण्डमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुले भन्सार छली नियन्त्रणको वाहनामा सवारी साधन रोकेर चालक तथा व्यवसायीसँग रकम माग्ने गरेका स्रोतको दाबी छ ।सशस्त्र प्रहरी कर्मचारीलाई रकम दिन अस्वीकार गरे सामान नियन्त्रणमा लिने,राजश्व छलीको आरोप लगाउने तथा मुद्दा हालिदिने धम्की दिने गरिएको व्यवसायीहरूको आरोप छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीमा कार्यरत सहायक हबल्दार अरुण झा र सशस्त्र प्रहरी बल नेपाल वेश फरहदवामा कार्यरत देखाईने हबल्दार मकेन्द्र महत्तोका साथै हरेक पटक बिओेपी देखि बिओपी मै कार्य रत रहेका बरिष्ठ हबल्दार गंगाराम भाटले भन्सार काटेर ल्याएको सामान पनि नियन्त्रणमा लिएर भन्सार बुझाएर अनावश्यक दुख दिने काम गरेको इश्वरपुरकी एक व्यापारीको गुनासो छ।
 ती व्यापारीका अनुसा २०८३ बैशाख ३१ गते फुलजोर त्रिभुवन नगर सडक खण्डबाट ना १ ह ९९५० नम्बरको अटो र केही स्टिलका सामानहरु फुलजोर त्रिभुवननगर सडक खण्डमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीमा कार्यरत सहायक हबल्दार झा र सशस्त्र प्रहरी बल नेपाल वेश फरहदवामा कार्यरत देखाईने हबल्दार महत्तो तथा बिओपी संग्रामपुरबमा कार्यरत देखाउने  बरिस्ठ हबल्दार भाटले नियन्त्रणमा लिएपछि सशस्त्र प्रहरीले कमिसन नबुझाउनेको सामान नियन्त्रणमा लिने र कमिसन बुझाउनेको सामान छाडिदिने गरेका पाईएको छ ।
उत्त सामान सहित  अटो र ती व्यापारी समेत नियन्त्रणमा लिएको भएपनि सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीमा ल्याएपछि आर्थिक चलखेल गरी ती मानिस छाडिएको स्रोतको आरोप छ।स्रोतका अनुसार उनीहरुले कमिसन नबुझाउनेहरुको सामान नियन्त्रणमा लिने तर कमिसन बुझाउनेको सामान नियन्त्रणमा नलिने गरेका र उनीहरु सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक अम्बर बहादुर खत्रीको निर्देशनमा घुमुवाको रुपमा काम गर्ने गरेका छन् ।
आफुलाई ठूलो पत्रकारको सालो बताउने सहायक हबल्दार झाले आफुहरु फिल्डमा खटिने सशस्त्र प्रहरी कर्मचारी रहेको स्वीकार गरे।उनले सुरुमा आफ्नो परिचय नबताएपनि पछि उनले आफ्नो नाम बताएर आफ्नो कमाण्डर हबल्दार महत्तोसंग कुरा गरेपछि पुग्ने बताए ।उनले उल्टै पार्टीमा बस्नु भएको थियो की क्याहो भन्ने अनावश्यक शब्द समेत प्रयोग गरे ।उनको उक्त शब्दको आशय उनलाई प्रश्न गर्ने पत्रकार होसमा नरहेको भन्ने संकेत गर्छ ।
यता,स्थानीय नागरिक अगुवाहरूले पनि सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठाउन थालेका छन्।उनीहरूका अनुसार सीमावर्ती जिल्लामा तस्करी नियन्त्रण तथा सुरक्षा व्यवस्थापनका लागि खटिनुपर्ने सुरक्षाकर्मी नै अवैध असुलीमा संलग्न भएको आरोप लाग्नु दुःखद विषय हो।यसले सुरक्षा निकायप्रतिको जनविश्वास कमजोर बनाउने उनीहरूको भनाइ छ।
“सुरक्षा निकायले जनताको सुरक्षा गर्ने हो,आतंक सिर्जना गर्ने होइन।यदि कुनै कर्मचारीले आफ्नो जिम्मेवारीभन्दा बाहिर गएर असुली तथा दुव्र्यवहार गरिरहेका छन् भने त्यसमाथि तत्काल छानबिन हुनुपर्छ।”नागरिक समाजको भनाई छ ।
सीमावर्ती क्षेत्रमा व्यापार गर्ने व्यवसायीहरूका अनुसार भारतसँग खुला सीमा भएका कारण विभिन्न नाकामा सुरक्षाकर्मीको निगरानी आवश्यक भए पनि त्यसको आडमा सर्वसाधारणमाथि अनावश्यक दबाब सिर्जना गर्न हुँदैन्।कतिपयले त घुमुवा टोलीकै कारण साना व्यवसाय सञ्चालन गर्न कठिन बन्दै गएको गुनासो गरेका छन्।
यता,सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका सूचना अधिकारी एवम सशस्त्र प्रहरी नायव उपरीक्षक एकराज बुर्लाकोटीले सादा पोशाकमा शसस्त्र प्रहरी परिचालन नभएका र उनीहरुलाई बर्दि मै फिल्डमा खट्ने गरेका बताए।उनले सुरुमा सहायक हबल्दार झा विगत ३÷४ दिन पहिलादेखि बिदामा बसेका बताए तर झालाई हामीले फोन गर्दा उनी कार्यालय मै रहेको पाइयो।तपाई बिदामा छनु भन्नु हुन्छ के हो भन्दा सशस्त्र प्रहरी नायव उपरीक्षक बुर्लाकोटीले “मलाई थाहा छैन् । यदी संगठनको आचरण विपरितका गतिविधिहरु गरिएका भए आवश्यक कारबाही हुन्छ”बताए ।
तर विगतमा पनि पटक–पटक यस्ता गुनासा उठे पनि प्रभावकारी अनुगमन र कारबाही हुन नसक्दा समस्या झन् बढ्दै गएको छ।मानवअधिकारकर्मीहरूले सुरक्षा निकायको काम कारबाही पारदर्शी र जवाफदेही हुनुपर्ने बताएका छन्। उनीहरूका अनुसार सादा पोशाकमा परिचालन हुने टोलीको स्पष्ट परिचय, जिम्मेवारी र अनुगमन प्रणाली नहुँदा यस्ता विवाद दोहोरिने गरेका छन्।
सर्लाहीमा पछिल्लो समय सुरक्षा चुनौतीसँगै तस्करी,अवैध कारोबार तथा राजश्व छलीका घटना पनि बढिरहेका छन्।यस्ता गतिविधि नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन आवश्यक भए पनि त्यसको नाममा सर्वसाधारणमाथि मानसिक दबाब सिर्जना हुनु चिन्ताको विषय बनेको स्थानीयहरूको भनाइ छ।
स्थानीय प्रशासन तथा सुरक्षा निकायले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही नगरे जनस्तरबाट थप विरोध बढ्न सक्ने संकेत देखिन्छ। जिल्लावासीहरूले सुरक्षाको अनुभूति हुने वातावरण निर्माण गर्न तथा घुमुवा आतंक अन्त्य गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

सम्बन्धित समाचार