पूर्व–पश्चिम राजमार्ग तथा सर्लाहीको फुलजोर र बाँके सडक खण्डमा माछा बोक्ने पिकअप सवारी साधनबाट हुने अवैध असुली बढ्दै गएको पाइएको छ।विशेषगरी सर्लाहीको चन्द्रनगर र इश्वरपुर नगरपालिकाका विभिन्न स्थानहरुमा रहेका माछा पोखरीहरुबाट माछा लिएर संघीय राजधानी सहित रामेछाप,सिन्धुली,उदयपुरका साथै धरान तथा पोखरा सम्मका लागि हिड्ने पिकअप भ्यानहरुलाई सर्लाहीको अस्थायी ट्राफिक प्रहरी चेकपोष्ट फुलजोरले आफ्नो आय स्रोतको रुपमा लिएको पाइएको छ ।
चन्द्रनगर गाउँपालिका र इश्वरपुर नगरपालिका क्षेत्रका विभिन्न स्थानहरुमा रहेका माछा पोखरीहरुबाट माछा लिएर निस्कने करिब डेढ दर्जन पिकअप भ्यानहरुबाट अस्थायी ट्राफिक प्रहरी चेकपोष्ट फुलजोरले मासिक रुपमा कमिसन असुलेर आफ्नो अतिरित्त आय स्रोत बनाएको पाइएको हो ।०४७६,०७८३,०३३८,०७९३,३७०७,०८५५,१८८२,१६७३,६३६४,०४५६,१८१६,००५५ र १७२५ का साथै फुलजोर र बाँके निस्कने पिकअप भ्यानहरुबाट अस्थायी ट्राफिक प्रहरी चेकपोष्ट फुलजोर सहित जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले आफ्नो आय स्रोतको रुपमा लिएको पाइएको हो ।माछा बोकेका पिकअप भ्यानहरुबाट डिउटीमा खटिएका ट्राफिक प्रहरी कर्मचारीले प्रति भ्यान रु ५० देखि सय सम्म दैनिक र उक्त युनिटका प्रमुखहरुले मासिक रु एक हजार पाँच सय देखि दुई हजार सम्म प्रति भ्यान मासिक कमिसन असुल्ने गरेका पाइएको हो ।
माछा बोकेका करिब डेढ दर्जन पिकअप भ्यानहरुका साथै सो क्षेत्रमा गोरु तथा भैँसी बोकेका पिकअपहरुबाट ट्राफिक प्रहरीले कमिसन असुलेर सरकारी राजश्वमा हानी नोक्सानी पुर्याएको सूचना पाएपछि कमलामाई मिडिया प्रा.लिले गरेको छड्के अनुसन्धानबाट ट्राफिक प्रहरीले कमिसन असुल्ने गरेको रहस्य फेला परेको हो।दैनिक करिब डेढ दर्जन माछा बोकेका पिकअपहरुका साथै करिब एक दर्जन गोरु तथा भैँसी बोकेका पिकअपहरु चल्ने उक्त क्षेत्रमा ट्राफिक प्रहरीको कार्बाही न्यून देखिएपछि ट्राफिक प्रहरीको असुली मौलाएको प्रष्ट हुन्छ।जुन समयमा माछा बोकेका पिकअपहरु निस्कन्छन् त्यही समयमा अस्थायी ट्राफिक प्रहरी चेकपोष्ट फुलजोरले चेकजाँच निकाले पनि कार्बाही न्यून हुनुले ट्राफिक प्रहरीको असुली चर्किएको पाइएको हो ।
माछा बोकेका पिकअप भ्यानहरुले चेकजाँचको समयमा डिउटीमा खटिएका प्रहरी कर्मचारीहरुलाई रु ५० देखि सय र उक्त युनिटका प्रमुखहरुले मासिक रु एक हजार पाँच सय देखि दुई हजार सम्म प्रति भ्यान मासिक कमिसन नदिए पिकअपहरूलाई बारम्बार रोकेर कागजात जाँच गर्ने र सामान्य त्रुटिलाई आधार बनाएर अनावश्यक दुःख दिने प्रवृत्ति बढेको चालकहरुको गुनासो छ।कतिपय चालकहरूले नाम नखुलाउने सर्तमा निश्चित रकम नदिएसम्म सहज रूपमा गन्तव्यतर्फ जान नदिने गरिएको बताए।
माछा व्यवसायसँग सम्बन्धित एक व्यवसायीले दैनिक उपभोग्य वस्तुका रूपमा रहेको माछाको ढुवानीमा अनावश्यक अवरोध हुँदा व्यापार नै प्रभावित भएको बताए।उनका अनुसार चेकजाँच आवश्यक भए पनि कानुनी प्रक्रिया पूरा गरेका सवारीसाधनलाई बारम्बार रोक्ने र आर्थिक लेनदेनको दबाब दिने कार्यले व्यवसायी तथा उपभोक्ता दुवै मारमा परेका छन्।
यातायात क्षेत्रमा कार्यरत व्यक्तिहरूका अनुसार गर्मी मौसममा माछा छिट्टै बिग्रिने भएकाले ढुवानीमा ढिलाइ हुँदा ठूलो आर्थिक क्षति हुने गर्छ।तर कतिपय स्थानमा सवारी रोकिँदा समयमै बजारसम्म माछा पु¥याउन कठिनाइ भइरहेको उनीहरूको भनाइ छ।यसले गर्दा व्यापारीहरूले अतिरिक्त खर्च व्यहोर्नुपरेको र अन्ततःत्यसको भार उपभोक्तामाथि पर्ने गरेको उनीहरू बताउँछन्। यसका साथै सवारी साधनहरुलाई आवश्यक कानूनी कार्बाही नगरी व्यक्तिगत लाभ लिँदा सरकारी राजश्वमा समेत हानी नोक्सानी पुगेको जानकारहरु बताउँछन् ।
राजस्व छलि,अवैध ढुवानी तथा सुरक्षा जोखिम नियन्त्रणका लागि सवारी साधनहरूको निगरानी आवश्यक रहेको ट्राफिक प्रहरीले दाबी गरेपनि उत्त सडकमा दौडिने माछा बोकेका भ्यानहरु र ट्राफिक प्रहरीको कार्बाही हेर्दापनि ट्राफिक प्रहरीलाई सहजै आरोप लगाउने ठाउँ छ।ट्राफिक व्यवस्थापनलाई पारदर्शी बनाउन सडकमा हुने चेकजाँचको अभिलेख राख्ने,निगरानी प्रणाली सुदृढ गर्ने तथा गुनासो सुनुवाइ संयन्त्र प्रभावकारी बनाउनुपर्ने सामाजिक अभियन्ताहरूको माग छ ।उनीहरूका अनुसार कानून कार्यान्वयनको नाममा कुनै पनि प्रकारको अनाधिकृत आर्थिक गतिविधि हुन नदिन सम्बन्धित निकाय गम्भीर हुन आवश्यक छ।