सर्लाहीको इन्दुशंकर चिनी मिल पुस दोस्रो साताबाट सञ्चालन हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-२८ गते   ५३ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ११ मा रहेको ईन्दुशंकर चिनी उद्योगले डोंगा पूजा गरेको छ । चालु सिजनमा उद्योग सञ्चालन गर्नका लागि सोमबार डोंगा पूजा गरेर साईत जुराईएको उद्योगका उखु प्रवन्धक योग नारायण रजकले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी पुसको दोस्रो साताबट उखु क्रसिङ्ग सुरु गरिने उहाँले बताउनु भयो । पछिल्लो समय सर्लाहीका किसानहरुले ढिलो तयार हुने जातको उखु लगाएका  कारण बिगतका बर्ष भन्दा ढिलै क्रसिङ्ग हुने उद्योगले जनाएको छ ।
यस बर्ष अत्याधिक बर्षा भएकाले उखु उत्पादनमा पनि कमी आउने अनुमान उद्योगले अनुमान गरेको छ । उधोगले गतवर्ष रु २२ लाख १० क्विन्टल उखु क्रसिङ गरेको थियो, यसवर्ष भने रु ३० लाख क्विन्टल उखु पेल्ने लक्ष्य राखेको उखु प्रवन्धक रजकले बताउनु भयो ।
गतबर्ष सरकारले उखुको प्रतिक्विन्टल मुल्य रु ५ सय ३६ रुपियाँ ५६ पैसा कायम गरेको थियो । त्यसमा उद्योगीले रु ४ सय ७१ रुपियाँ २८ पैसा र सरकारले अनुदान स्वरुप रु ६५ रुपियाँ २८ पैसा भुक्तानी गरेको थियो ।
जिल्लामा रहेका तीनवटा उखु उद्योगहरु मध्य हाल इन्दु शंकर चिनी उद्योग मात्र किसानहरुको मुक्तानी गर्ने उद्योगको रुपमा परिचित रहेको छ । भने उखु किसानको बक्यौता चुक्ता गर्न नसकेर बन्द भएकोे धनकौल स्थित अन्नपूर्ण चिनी मिल बिक्री भएको छ । उद्योगी राकेश अग्रवालले आफ्नै व्यापारिक साझेदार ज्ञानप्रसाद भट्टराईलाई रु १ अर्ब मा मिल बिक्री गरेका छन् ।
कुल रु १ अर्बमा मिलको सम्पूर्ण स्वमित्व बिक्री गर्न सम्झौता भएकाथियो । ‘विविध कारणले मिल सञ्चालन गर्न सकिएन, किसानको भुक्तानीको विषय पनि सधैं विवादित बन्यो। अब किसानहरुको बक्यौता भुक्तानी तिरेर ढुक्क हुन चाहन्छौं,’ प्रवन्धक भट्टराईले जानकारी दिनु भयो । उहाँका अनुसार मिलले किसानलाई करिब रु ५ करोड बक्यौता तिर्न बाँकी रहेको छ ।
आर्थिक संकटमा फसेको मिल आफूसहित थप दुई जना व्यवसायी मिलेर खरीद गरेको व्यवसायी भट्टराईले बताउनु भयो । व्यवसायी शैलेन्द्र गुप्ता र विनोद साहसहितले मिलमा लगानी रहेको भट्टराईले बताएका छन्। ‘मिल खरीदका लागि पहिलो पटक गत फागुनमा सम्झौता भएको थियो, पछि असारमा त्यसलाई नवीकरण गरियो र अहिले हस्तान्तरणको अन्तिम अवस्थामा पुगेको छ,’ व्यवसायी भट्टराईले बताउनु भयो । उहाँका अनुसार ‘यो वर्षको उखु सिजनमा मिल सञ्चालन गर्नेगरी प्राविधिक सुधारको काम अहिले भइरहेको छ।’
मिलको स्वमित्व टेकओभर गर्ने प्रयोजनका लागि अडिट, भ्याट र ट्याक्सको काम अन्तिम चरणमा पुगेको पनि भट्टराईले बताउनु भयो । यस अघि व्यवस्थापन र आर्थिक संकट ले मिल सञ्चालनमा अवरोध रहेपनि अब पृथक तरिकाले मिल सञ्चालन गरिने उहाँको दाबी छ । पहिले किसानहरुको रकम भुक्तानी गर्ने र त्यसपछि मिलको प्रविधि सुधार र कुशल व्यवस्थापनमा ध्यान दिने नयाँ व्यवस्थापनको दाबी छ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech