नेकपा (माओवादी)का १० जना केन्द्रीय सदस्यहरु सहित १२ जनाले संयुत्त रुपमा राजीनामा दिएका छन्।पार्टीका केन्द्रीय सचिवालय सदस्य उमा भुजेल र पोलिट ब्युरो सदस्य चन्द्र बहादुर खड्कालाई पार्टीबाट निष्कासन गरेको विरोधमा १० जना केन्द्रीय सदस्यहरु सहित एक जना पुर्व जिल्ला इन्चार्ज र अर्का एक जना पुर्व जिल्ला सेक्रेटरी गरी १२ जनाले संयुक्त रुपमा राजीनामा दिएका हुन ।
राजीनामा दिने केन्द्रीय सदस्यहरुमा सन्जीप मगर,कमल के.सी.,जनक राउत,गोपाल भोलन,निशान,कपिल भट्ट,दुर्गा तामाङ,धिरज राना,भीमसेन घिमिरे र हेमन्त चौधरी रहेका छन् भने नुवाकोट जिल्लाका पुर्व इन्चार्ज नवीन सुवेदी र सिन्धुलीका पुर्व सेक्रेटरी रवि गोले रहेका छन् ।
“पार्टी तथा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएको घोषणा”भन्दै १२ जनाले हस्ताक्षर गरेर सार्वजनिक गरेको राजीनामा पत्रमा पार्टी निर्माण गर्दाका बखत घोषणा गरिएका कुनै अभियानहरु सफल नभएको साथै अहिले साम्राज्यवादको हस्तक्षेप तीव्र बनेको,राष्ट्रिय स्वाधिनता इतिहास कै सबैभन्दा संकटमा पुगेको अवस्थामा माओवादी धाराहरू सहित सिङ्गो कम्युनिस्ट आन्दोलनलाई रूपान्तरण,एकता,पुनर्गठन,ध्रुवीकरण र केन्द्रीकरण गर्नुपर्ने ऐतिहासिक आवश्यकताबाट स्वयं पार्टीका महासचिव नेत्र विक्रम चन्द(विप्लव)पछि हटेपछि र राष्ट्रिय
संकटको चुनौतिपूर्ण अवस्थाको सामना गर्नुपर्ने बेलामा केवल पद तथा प्रतिष्ठा तर्फ लागेका पाइएपछि गम्भीर ऐतिहासिक भूल हुने निष्कर्ष सहित पार्टीभित्र बहसको माग गर्दा बहसको वातावरण निर्माण गर्नुको सट्टा बहसलाई निषेध गरी केन्द्रीय सचिवालय सदस्य भुजेल र पोलिट ब्युरो सदस्य खड्कालाई निस्कासन गरियो।त्यो स्वीकार्य भएन र राजीनामा दिईयो उनीहरुले बताए ।