सर्लाहीको हरिवन नगरपालिकाले गरिबीको कारण पढाइबाट बञ्चित भएका बालबालिकाको पढाइको सम्पूर्ण दायित्व लिने भएको छ। हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल)ले नगरपालिका स्थानिय सरकार रहेकाले पनि नगर भित्रका नागरीकहरुको समृद्धि,शुशासन, विकास निर्माण लगायत सबै कामको उत्तरदायित्व नगरपालिकाले लिनु पर्ने बताउनु भयो ।
‘चरम गरिबीमा रहेका अभिभावकका छोराछोरीलाई नगरपालिकाले नै पढाइदिने’ नगर प्रमुख बुढाथोकीले बताउनु भयो ।उहाँले ‘त्यस्ता बालबालिकाको पढाइको सम्पूर्ण दायित्व नगरपालिकाले लिने बताउनु भयो ।’
यसै आर्थिक वर्षबाट हरिवन नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा कक्षा १ देखि नै अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने निर्णय गरिएको, हरिवनका नागरिकका माग र गुनासो सम्बोधनका लागि ‘हेल्लो हरिवन सरकार’ कार्यक्रम सञ्चालन गरिने,असक्त जेष्ठ नागरिक र अपांगता भएकाहरुलाई घरमै सामाजिक सुरक्षा भत्ता पुर्याउने, दुई सन्तान जन्माउने सुत्केरीलाई सुत्केरी भत्ता बापत रु ४ हजार प्रदान गर्ने निर्णय गरिएको नगर प्रमुख बुढाथोकीले जानकारी दिनुभयो ।
नगरका सबै वडामा योग अभ्यास केन्द्र सञ्चालन गर्ने, नगरका सबै खेतीयोग्य जमिनमा सिंचाइको सुविधा पुर्याइने, अव्यवस्थित बसोबासीलाई व्यवस्थित गरिने, सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न भूमि आयोगसँग समन्वय गर्ने, हरिवन बजारलाई रातको १० बजेसम्म सञ्चालन गर्ने वातावरण सिर्जना गर्ने जस्ता निर्णय पनि हरिवन नगरपालिकाले गरेको हरिवन नगरपालिका ११ का वडा अध्यक्ष शेष मेहबुब रेजाले बताउनु भयो ।
नगर प्रमुख बुढाथोकी नेकपा(माओवादी केन्द्र)को तर्फबाट हरिवन नगरपालिकाको नगर प्रमुख निर्वाचित हुनु भएको हो । हरिवन नगरपालिकामा माओवादी केन्द्रबाट नगर प्रमुख बाहेक एक जना पनि सदस्य निर्वाचित भएका छैनन ।