प्रहरी कार्यालयबाट प्रदान गरिने सेवा निःशुल्क हुन्छ : प्रहरी उपरीक्षक पौडेल

241 Shares

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेलले प्रहरी कार्यालयबाट नागरिकलाई प्रदान गरिने सम्पूर्ण सेवा निःशुल्क हुने भएकाले कुनै पनि बहानामा रकम मागिए तत्काल उजुरी गर्न आग्रह गरेका छन्।सर्लाहीको इश्वरपुर नगरपालिका–४ स्थित सागरनाथमा आयोजना गरिएको नागरिक सुनुवाई कार्यक्रममा उठेका सवालहरुको जवाफ दिँदै प्रहरी उपरीक्षक पौडेलले प्रहरी संगठन जनताको सुरक्षाका लागि स्थापना भएको संस्था भएकाले सेवाग्राहीलाई सहज,छिटो र पारदर्शी सेवा प्रदान गर्नु प्रहरीको प्रमुख दायित्व रहेको बताए।
उनले नागरिकता सिफारिस,हराएको कागजात सम्बन्धी मुचुल्का,निवेदन दर्ता,उजुरी सुनुवाइ, शान्ति सुरक्षा व्यवस्थापन तथा अन्य कानुनी प्रक्रियाका क्रममा प्रहरीले कुनै शुल्क नलिने स्पष्ट पारे।“प्रहरी कार्यालयबाट प्रदान गरिने सेवा निःशुल्क हुन्छ।यदि कसैले प्रहरीको नाममा रकम माग्छ वा अनावश्यक दुःख दिन खोज्छ भने तत्काल सम्बन्धित निकायमा जानकारी गराउनुस्,” उनले भने।
प्रहरी उपरीक्षक पौडेलले पछिल्लो समय सामाजिक सञ्जालमार्फत फैलाइने अफवाह,साइबर अपराध तथा विभिन्न प्रकारका ठगीका घटनाप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह समेत गरेका छन्।उनले अपरिचित व्यक्तिको प्रलोभनमा नपर्न,बैंक तथा वित्तीय विवरण कसैलाई नदिन र शंकास्पद गतिविधिबारे नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउन समेत अनुरोध गरे।
कार्यक्रममा सहभागी स्थानीयवासीले ट्राफिक व्यवस्थापन,लागूऔषध नियन्त्रण,घरेलु हिंसा, बालविवाह,नागरिकता सिफारिसका तथा सीमा सुरक्षा र गैर कानूनी क्रियाकलापहरुका साथै सार्वजनिक सुरक्षा सम्बन्धी विषयमा जिज्ञासा राखेका थिए।उनीहरूका प्रश्नको जवाफ दिँदै प्रहरी उपरीक्षक पौडेलले अपराध नियन्त्रण र अनुसन्धान कार्यमा प्रहरीले मात्रै चाहेर सम्भव नभएकाले नागरिक तथा अन्य निकायहरुले आ–आफ्नो ठाउँबाट प्रहरीलाई सहयोग गर्नु आवश्यक रहेको समेत बताए ।
उनले समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई थप सशक्त बनाउँदै स्थानीय तह,नागरिक समाज, तथा सर्वसाधारणसँग समन्वय गरेर शान्ति सुरक्षा कायम गरिने प्रतिबद्धता व्यक्त गरे। “अपराध नियन्त्रण प्रहरी एक्लैले गर्न सक्दैन।यसका लागि समुदायको सहयोग आवश्यक हुन्छ,” उनले भने।केही दिन पहिला मात्रै सर्लाही प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरीक्षक पौडेलले प्रहरी संगठनलाई थप जिम्मेवार,उत्तरदायी र जनमुखी बनाउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै सेवाग्राही मैत्री वातावरण निर्माणमा विशेष ध्यान दिने समेत बताए।कुनै पनि प्रहरी कर्मचारीबाट अनुचित व्यवहार भएमा प्रमाणसहित उजुरी गर्न आग्रह गर्दै दोषीमाथि आवश्यक कारबाही गरिने उनको भनाइ छ ।
प्रहरी प्रशासनले नागरिकको विश्वास जित्दै कानुनको प्रभावकारी कार्यान्वयन तथा अपराध नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गरिरहेको बताउँदै प्रहरी उपरीक्षक पौडेलले सबै नागरिकलाई कानुनी राज्यको प्रत्याभूति दिलाउन प्रहरी सदैव तत्पर रहेको समेत बताए।उनले शान्त,सुरक्षित र अपराधमुक्त समाज निर्माणका लागि सबै पक्षको सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रममा इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्य,सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरे र सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक अमर बहादुर खत्री लगायत स्थानीय जनप्रतनिधिहरु र स्थानीय नागरिकहरुको उल्लेख्य सहभागीता रहेको इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक नितेश कुमार सिंहले जानकारी दिए ।

सम्बन्धित समाचार