१ करोड बढीको खरबुजाको बीउ सहित ५ वटा सवारी साधन सशस्त्र प्रहरीको नियन्त्रणमा

188 Shares

सर्लाहीको बलरा नगरपालिका– २ स्थित हतिओलबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा तस्करी हुन लागेको सामान लोड भएका पाँच वटा माल वाहक सवारी साधन नियन्त्रणमा लिएको छ । बलरा नगरपालिका–२ हतिओल स्थित बाँध नजिकैबाट चार वटा भारतीय नम्बरका बोलेरो पिकअप र एउटा नेपाली नम्बरको मिनी ट्रक सहित दुई सय ४९ बोरा खरबुजाको बीउ नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम सशस्त्र प्रहरी उपरिक्षक अमर बहादुर खत्रीले जानकारी दिए ।
गणपति खत्रीका अनुसार पछिल्लो समय बीउजन्य वस्तुको अवैध कारोबार बढ्दै गएको गुनासो आएपछि सशस्त्र प्रहरीले तस्करी नियन्त्रणमा लगातार सक्रियता देखाएसँगै दुइ सय ४९ बोरा सवारी साधन सहित अन्दाजी मुल्य रु एक करोड नौ लाख ८० हजार बराबरको खरबुजाको बीउ नियन्त्रणमा आएको हो ।
केही दिन पहिला मलंगवाबाट ठूलो परिणाममा फर्सीको बिउ बरामद् गरेको सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवाका गुल्मपति एवम सशस्त्र प्रहरी नायव उपरिक्षक विष्णु अधिकारी, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म सिमराका गुल्मपति एवम सशस्त्र प्रहरी नायव उपरिक्षक विष्णुदत्त अवस्थी सहित सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका सशस्त्र प्रहरी निरीक्षक कृष्ण गुरुङको कमाण्डमा खटिएको संयुक्त सशस्त्र प्रहरीको टोलीले सीमा क्षेत्रमा छापा मारेको हो ।
सशस्त्र प्रहरीको टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको दुई सय नौ बोरा खरबुजाको बीउ सहित मधेस प्रदेश–०३–००२ ख ०३०६ नम्बरको आईचर ट्रक, बिआर ३० जीबि २६७२,बिआर ०६  ई ९६२९ नम्बर,बिआर ०६ जीएच ११२१ र बिआर ०६ जीजी ९४७१ भारतिय नम्बरका पिकअप बोलेरो नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ ।कार्यालयका अनुसार सशस्त्र प्रहरी पुगेको थाहा पाए लगत्तै संलग्न व्यक्तिहरू गाडी तथा सामान छाडेर भागेका थिए।बरामद गरिएको खरबुजाको बीउ सहित पाँच वटै सवारी साधनलाई आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवा बुझाउने तयारी भई रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवाका गुल्मपति एवम सशस्त्र प्रहरी नायव उपरिक्षक अधिकारीले बताए ।
पछिल्लो समय सीमा क्षेत्रबाट हुने अवैध गतिविधिमा सशस्त्र प्रहरीले कडा प्रस्तुति देखाउन थालेपछि अवैध गतिविधि गर्नेहरुको निद हराम भएको छ।उनीहरु विभिन्न किसिमका फण्डा अपनाएर सशस्त्र प्रहरीलाई बद्नाम गराउने कार्यमा सक्रिय देखिएका सुरक्षा स्रोतले जनाएको छ ।
मलंगवा नगरपालिका क्षेत्रमा केही दिन पहिला खरबुजाको बिउको बिल देखाएर फर्सीको बिउ गोदाम गरिएको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले ठूलो मात्रामा फर्सीको बिउ नियन्त्रणमा लिएको थियो ।पछि सोही विषयलाई लिएर अवैध कारोबारमा संग्लग्नहरुले सशस्त्र प्रहरीलाई बद्नाम गराउन  विभिन्न किसिमका फण्डा रचेका थिए ।

सम्बन्धित समाचार