Close This

संक्रमित फेला परेपछि हरिवन नगरलाई सिल गर्ने तयारी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-६ गते   ४४५ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका–९, नयाँरोड स्थित एक घरलाई मंगलबार साँझबाट सिल गरिएको छ । कोरोना भाईरस संक्रमण पुष्टि भएपछि संक्रमित बस्दै आएको घरलाई सिल गरिएको हरिवन नगरपालिकाका वडा नम्बर ९ का वडा अध्यक्ष यज्ञविनोद पोख्रेलले जानकारी दिनु भयो ।
संक्रमित ३४ वर्षीय पूरुषलाई भने उपचारका लागि मंगलबार साँझ नै प्रादेशिक अस्पताल जनकपुर पठाईएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनु भयो । संक्रमित बाहेक उक्त घरमा १५ जना बस्दै आएका जानकारी पाएको र उनिहरुलाई हरिवन नगरपालिकाको क्वारेन्टिनमा राख्ने तयारी भई रहेको हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाईले जानकारी दिनु भयो ।
उदयपुरको त्रियुगा नगरपालिका–११ घरभई हाल हरिवनको नयाँरोडमा डेरा गरी बस्दै आएका एक ३१ वर्षीय पुरुषलाई कोरोना भाईरस पुष्टी भएपछि उनी डेरा गरी बसेको घरलाई मंगलबार नै सिल गरिएको नगरपालिकाले जनाएको छ । 
सोही घरमा बस्ने  १५ जनालाई बुधबार हरिवन नगरपालिकाको निर्माणधिन भवनमा रहेको क्वारेन्टिनमा राखिने र उनिहरुको स्वाब संकलन गरिने नगर प्रमुख प्रसाईंले बताउनु भयो । संक्रमित पुरुष तरकारी बोक्ने ट्रक चलाउने चालक भएको प्रहरीले जनाएको छ । नवलपुर र लालबन्दी बजारबाट काठमाडौं लगायत विभिन्न ठाउँमा तरकारी ओसार्ने ट्रक चलाउँदै आएका उनले गत जेठ २ गते टेकु अस्पतालमा स्वाब परीक्षणका लागि दिएको जानकारीमा आएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech