Close This

सर्लाहीमा मैनबत्तीबाट सल्केको आगोबाट लाखौंको क्षति

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-७-३० गते   ३७२ पटक हेरिएको

जिल्लामा लक्ष्मीपूजाको अवसरमा दिपावली गर्न बालिएको मैनबत्तीको आगो सल्केर जिल्लामा लाखौंको क्षति भएको छ । शनिबार राती बाग्मती नगरपालिका–१, डुमाजोर निवासी सुनिल तामाङको घरमा लक्ष्मीपूजा गर्न बालेको मैनबत्तीको आगो सल्किँदा लाखौंको क्षति भएको हो । राती करिब आठ बजे भएको आगलागीबाट तामाङको दुई तले कच्ची घर तथा घर भित्र भएका लत्ताकपडा, अन्नपात, फर्निचर लगायत नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । स्थानीय बासिन्दा, सुरक्षाकर्मी र हरिवन नगरपालिकाको दमकलको सहयोगले आगो नियन्त्रणमा लिईएकाले थप ठूलो क्षति हुनबाट जोगिएको स्थानीय बासिन्दाले बताएका छन् ।
त्यस्तै ब्रहम्पुरी गाउँपालिका–१ निवासी निरज साहको गोठ घरमा बालेको मैनबत्तीबाट सल्केको आगोले गोठ एवं गोठ भित्र रहेको एक पाडो र चारवटा बाख्रा मरेका प्रहरीले जनाएको छ । शनिबार साँझ करिब सात बजे भएको आगलागीबाट रु एक लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी शनिबार राती करिब आठ बजे बरहथवा नगरपालिका–७ स्थित बरहथवा बजारमा मोहमद मफुज आलमको आरसी कम्प्लेक्समा रहेको जुत्ताचप्पल पसलमा आगलागी हुँदा रु १० लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । त्यसैगरी बरहथवा नगरपालिका–९ निवासी मनोज कुशवारको गन्तब्य शू सेन्टरमा विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।
त्यस्तै शनिबार साँझ करिब ७ बजे गोडैता नगरपालिका–८ मा रोकी राखेको ना. ७ ख ३५१५ नम्बरको बसमा सोही बसकै ब्याट्रीको करेन्ट सट भई आगलागी हुँदा झण्डै रु १० लाख मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कायाृल्य सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो ।स्थानीय बासिन्दा, सुरक्षाकर्मी र दमकलको सहयोगले आगो नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech