गढीमाई मेलामा सिन्धुलीको जुनारदेखि नुवाकोटको कफीसम्मलाई स्थान

425 Shares

बाराको गढीमाई नगरपालिका २ स्थित रहेको गढीमाई मन्दीरमा पाँभ वर्षमा एक पटक लाग्ने मेलामा सिन्धुलीको जुनारदेखि नुवाकोटको कपीले समेत स्थान पाएको छ ।दक्षिण यसिया मै सबै भन्दा धेरै बली चढ्ने गढीमाई पञ्चवर्षिय मेलामा विभिन्न कृषि उपजहरू प्रदर्शनीका लागि राखिएकामा सिन्धुलीको जुनारदेखि नुवाकोटको कफीले समेत स्थान पाएको छ ।
कनेक्ट किसान प्रा.लिले सञ्चालन गरेको “बृहत कृषि प्रदर्शनी”मा १८ पालिकाको समेत गरी एक सय ५० वटा स्टलहरू रहेका छन्।जहाँ सिन्धुलीको जुनार,रौतहटको ड्रागन फ्रुट, नुवाकोटको कफी,वीरगञ्जको च्याउ,चितवनको बेसार,सप्तरीको अचार र प्युठानको अर्गानिक मह लगायतले पनि स्थान पाएका छन् ।
यसैगरी सातै प्रदेशको सात फरक परिकार कोदोको सेलरोटी,कोदोको मःम,खुवाको योमरी, मौलिक आलु,गुन्द्रुकको अचार र लोकल खाना समेत“बृहत कृषि प्रदर्शनी”मा समावेश गरिएको पाइएको छ ।कृषिमा आधुनिक प्रविधि अन्तर्गत थोपा सिँचाइ प्रविधि,नर्सरी तथा माछाको प्रदर्शनी,कृषि उपकरणमा विभिन्न कम्पनीका ट्याक्टर,रोटावेटर,हार्बेस्ट कम्पाइन तथा अन्य आवश्यक उपकरणहरू समेत राखिएको छ ।प्रदर्शनीमा किसानहरुले कृषि तथा पशु सेवाका विशेषज्ञसँग कृषि सम्बन्धी विभिन्न समस्या र अवसरको विषयमा प्रत्यक्ष संवाद गर्ने व्यवस्था समेत मिलाइएको कनेक्ट किसान प्रा.लिले बताएको छ ।
त्यस्तै कृषि प्रदर्शनीमा रोबोट पनि रहेको छ।किसानहरूले आफ्नो कृषि समस्याको विषयमा सिधै रोबोटलाई सवाल जवाफ गर्न सक्ने व्यवस्था पनि मिलाइएको छ ।कृषिलाई आधुनिक प्रविधिसँग जोड्न कृषिसँग सम्बन्धित कुनै पनि सवाल जवाफ सोध्न सक्ने गरी रोबोटको विकास गरिएको कनेक्ट किसान प्रा.लिले जनाएको छ।मंसिर १८ गते कृषि प्रदर्शनीको उद्घाटन उप प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले गरेका थिए । प्रदर्शनी मंसिर २४ गते सम्म सञ्चालन हुने र प्रदर्शनीमा करिब दुई लाख मानिसले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार