सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा मधेश प्रदेश स्तरीय विपद् व्यवस्थापन पूर्व तयारी अभ्यास गरिएको छ । मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहको प्रमुख आतिथ्यतामा सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा विपद् व्यवस्थापन पूर्व तयारी अभ्यास गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री साहले वर्षातको मौसम सुरु भइसकेकाले यसबाट उत्पन्न हुने विपत्तिको सामना गर्न तयारी अवस्थामा रहन सुरक्षा निकायका अधिकारीहरुलाई निर्देशन दिनुभयो । मन्त्री साहले विपत्तिमा परेकाको उद्धार तथा उनीहरुलाई राहत प्रदान गर्ने काममा प्रदेश सरकार प्रतिवद्ध र गम्भीर रहेको बताउनु भयो ।
सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनीद्धारा आयोजीत विपद् पूर्व तयारी अभ्यास सम्बन्धी कार्यक्रममा मन्सुन जन्य विपद्(बाढी,पहिरो,डुवान) लगायतका समस्यामा परेका मानिसहरुको खोज तलास तथा उद्धार कसरी गर्न सकिन्छ भन्ने विषयमा कृतिम अभ्यास गरिएको सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनीका बाहिनी पति एवम सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश बहादुर ठाडा मगरले जानकारी दिनु भयो । उहाँका अनुसार मन्सुन जन्य विपद्मा मधेश प्रदेश सबै भन्दा धेरै प्रभावित रहेको र विपद्मा परेकाहरुको कसरी खोज तलास तथा उद्धार गर्न सकिन्छ भन्ने विषयमा शसस्त्र प्रहरी कर्माचारीहरुले कृतिम अभ्यास गरेका हुन ।
कार्यक्रममा सर्लाहीको बागमती नगरपालिकाका नगरप्रमुख भरतकुमार थापा, रौतहटको चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्ले, गृह तथा सञ्चार मन्त्रालयका प्रदेश सचिव रामकुमार महतो,मधेश प्रदेशका ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम जिल्ला सुरक्षा समितिका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनीले जनाएको छ ।
मधेश प्रदेशका ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम जिल्ला सुरक्षा समितिको तर्फबाट सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बर्खायाममा मधेश प्रदेशमा बाढी तथा डुबानको समस्या धेरै हुने र स्थानिय निकायहरु त्यसप्रति गंभिर नभएको आरोप लगाउनु भयो । उहाँले विपद्मा आवश्यक पर्ने सामाग्रीहरु स्थानिय नकिाय आफैँले र सरोकारवाला निकायहरुलाई पनि व्यावस्थापन गरिदिनु पर्ने बताउनु भयो ।
बर्खायाममा मधेश प्रदेशमा बाढी तथा डुबानको समस्या धेरै हुने भएकाले सो समयमा गरिने उद्धार कार्यका लागि आफुहरु तयार रहेको र सुरक्षा निकायसंग समन्वय गरेर आवश्यक व्यावस्थापन गर्ने चन्द्रपुर नगरपालिकाका नगर प्रमुख काफ्लेले बताउनु भयो ।
आवश्यक तालिम र पूर्व तयारी अभ्यास समेत सम्पन्न भएसँगै बाढी तथा डुबानको समस्या उत्पन्न हुँनासा तत्कालै उद्धारको काम गर्न सशस्त्र प्रहरीको टोली तयारी अवस्थामा रहेको सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनीले जनाएको छ ।