नेकपा (एमाले) बाट वडा अध्यक्षमा निर्वाचित भएका एक जनप्रतिनिधि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका रहस्य फेला परेको छ।सर्लाहीको मलंगवा नगरपालिका–२ मा स्थानीय तहको निर्वाचन २०७९ मा एमालेको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका धिरेन्द्र साह एमाले परित्याग गर्दै रास्वपामा प्रवेश गरेका रहस्य फेला परेको हो ।
सर्लाही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य रविन महत्तोको विशेष उपस्थितिमा सर्लाही सदरमुकाम मलंगवामा आयोजना गरिएको एक कार्यक्रममा साह एमाले परित्याग गरी रास्वपामा प्रवेश गरेका र उनलाई सांसद महत्तो र नेता चन्दन सिंहले मालाले स्वागत गरेका फोटो भिडियो सामाजिक सञ्जालमाा बाहिरिएको छ ।वडाअध्यक्ष साहले २०८३ जेठ २ गते एमाले परित्याग गर्दै रास्वपामा प्रवेश गरेर sar २ ख ०००३१५१७१ भएको रास्वपाको सदस्यता समेत लिएका पाइएको छ ।
रास्वपा सर्लाहीका सभापति सरोज बाँनियाले उनको सदस्यता भेरीफाई गरेका समेत पाइएपनि वडा अध्यक्ष साहले प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८३ मा सर्लाही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका सांसद महत्तोलाई स्वागत गर्दाको फोटो रहेको बताएका छन् ।आफु रास्वपामा प्रवेश नगरेको वडा अध्यक्ष साहले दाबी गरेपनि सदस्यता नम्बर सहित फोटो र मोवाईल नम्बर समेत साहको नै राखिएको तथ्य फेला परेको छ ।
वडा अध्यक्ष साहको रास्वपा प्रवेशसँगै स्थानीय राजनीतिक वृत्तमा विभिन्न टिप्पणीहरू सुरु भएका छन्।पछिल्लो समय विभिन्न दलका नेता तथा जनप्रतिनिधिहरू रास्वपातर्फ आकर्षित भइरहेका बेला साहको प्रवेशलाई पनि त्यसैको निरन्तरताका रूपमा हेरिएको रास्वपाका नेताहरुले बताएका छन् ।