सर्लाहीको हरिवन नगरपालिका स्थित रहेको इन्दु शंकर चिनी उद्योगले चालु सिजनमा क्रसिङ गरेको उखुको सबै भुक्तानी गरेको जनाएको छ।देशभरका चिनी उद्योगहरु मध्य किसानलाई समयमै भुक्तानी गरेर राम्रो छवि बनाएको इन्दु शंकरले चालु सिजनामा ३२ लाख ९३ हजार एक सय २३ दशमलव ६९ क्विन्टल उखु क्रसिङ गरेको उद्योगका प्रशासकीय प्रमुख ठाकुर प्रसाद नेपालले बताए ।उनका अनुसार चालु सिजनमा क्रसिङ गरिएको उखुको उद्योगले किसानहरुलाई दिनु पर्ने रु दुई अर्ब दुई करोड १८ लाख ६४ हजार एक सय ६९ किसानहरुको खातामा भुक्तानी गरि सकिएको हो ।
सर्लाहीमा रहेका तीन वटा चिनी उद्योगहरु मध्ये इन्दु शंकरले हरेक वर्ष किसानहरुको उखु खरिद वापत उद्योगले दिनुपर्ने भुक्तानी गरेको भएपनि महालक्ष्मी र अन्नपुर्ण चिनी उद्योगले विगतका वर्षहरुको पनि रकम भुक्तानी गर्न बाँकी राख्दा सर्लाहीका उखु उत्पादक किसानहरु चिन्तित बनेका छन् ।
नगदे बालीको रुपमा किसानहरुले लगाउने उखु खेती पछिल्लो समय वर्षाैदेखि उद्यारो बाली हुँदा उखु किसानहरु पलान हुने अवस्था नरोकिएको भएपनि इन्दु शंकरलाई उखु बेच्ने किसानहरुको संख्यामा कमि नआएको उद्योग प्रशासनले जनाएको छ।करिब ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने योजना बनाएको इन्दु शंकरले गतवर्षको भन्दा करिब तीन क्विन्टल उखु क्रसिङ गरेको छ ।
उखु उत्पादक किसानहरुको उत्पादन बृद्धिका साथै किसानहरुलाई प्राविधिक ज्ञान समेत प्रदान गर्दै बढी उत्पादन हुने नयाँ भेराईटीका उखुका जातहरु लगाउन र ती जातहरुको बिऊ किसानहरुलाई उपलब्ध गराउँदै आएको इन्दु शंकरले समय समयमा किसानहरुलाई राम्रो उत्पादन भएको उखु क्षेत्रमा स्थलगत अनुमगन गराउने र केही नयाँ तरिका सिकाउने समेत काम गर्दै आएको उद्योगका उखु प्रवन्धक योग नारायण रजकले बताए।उनका अनुसार किसानहरुले नयाँ भेराईटीका उखुका जातहरु लगाउँदा किसानहरुको उत्पादन बृद्धि हुने साथै उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थको परिपुर्ति पनि हुने भएकाले पनि उद्योगले किसानहरुको उत्पादनलाई बृद्धि गराउने काममा सक्रियता देखाएको हो ।