हबल्दार मेहताको बर्दीमै असुली धन्दा,प्र.नी के.सीलाई जसरी नि कमिसन चाहियो

791 Shares

सर्लाहीको इलाका प्रहरी कार्यालय लालबन्दीमा कार्यरत प्रहरी हबल्दार विरेन्द्र कुमार मेहता गस्ती टोलीको नाममा कमिसन असुलीमा लागेका पाइएको छ । उनले इलाका प्रहरी काार्यलय लालबन्दीमा ४/५ जना प्रहरी कर्माचारीहरुको नेतृत्व गर्दै कमिसन असुली चलाएका प्रमाण सहित फेला परेको हो ।प्रहरी हबल्दार मेहताले लालबन्दीका होटलहरु,भन्सार छली सामानहरु ओसार पसार गर्नेहरु,मोटरसाईकल ग्यारेजहरु र स्थानीय व्यापारी व्यावसायिहरुलाई अनावश्यक दुख दिने गरेको एक प्रहरी अधिकारीले बताए ।
उनका अनुसार प्रहरी हबल्दार मेहताले लालबन्दी र हरिवन नगरपालिकाको सिमानामा रहेको लखन्देही नदीमा अवैध तरिकाबाट नदीजन्य पदार्थ दोहन गर्न दिएर २१ वटा ट्याक्टरहरुबाट प्रति ट्याक्टर पाँच हजारका दरले कुल रु एक लाख पाँच हजार संकलन गरेर ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक हरिबोल के.सीलाई बुझाएका छन् । त्यसैगरी लालबन्दी नगरपालिका ७ स्थित रहेको श्रेष्ठ होटल एण्ड लजबाट गैर कानुनी कार्य गर्न सहजता प्रदान गरिदिए वापत रु १५ हजार मासिक असुल्ने गरेका छन् ।
करिब चार महिना पहिला लालबन्दी सरुवा भएर आएका हबल्दार मेहताले नगर भित्रका अन्य गैर कानुनी कार्य गर्ने होटलहरुका साथै भन्सार छलीका सामानहरु ल्याउने व्यापारीहरुका साथै स्थानीय व्यापारीहरु,मोटरसाईकलहरु चोरी गरी पार्टपुर्जा निकाल्ने र मोटरसाईकलको स्वारुप परिवर्तन गर्ने मोटरसाईकल ग्यारेजहरुका साथै स्थानीय व्यापारी व्यावसायीहरुसंगबाट चर्काे कमिसन असुली प्रहरी निरिक्षक के.सीको विश्वास पात्र बन्ने दाउमा लागेका पाइएको हो ।
उनलाई तपाईको विषयमा यस्ता कुराहरु आएका छन् ? वास्तविकता के हो ? भन्दा आफु खरो स्वाभावको भएकाले कुटाई खाईएला भन्दै प्रश्न सोध्ने मिडियाकर्मीलाई धम्की समेत लगाए ।सादा पोशाकमा नभएपनि डिउटी तालिकामा फिल्ड लेखेर राखिएका हबल्दार मेहताको कमाण्डामा रहेका प्रहरी कर्माचारीहरु बर्दी लगाएर फिल्डमा खटिने र कमिसन असुल्ने गरेका पाइएको हो ।
सो विषयमा ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक हरिवोल केसीलाई बुझ्दा उनले सबै कुरा गलत रहेका र यदी सत्यता भए प्रमाण पेश गर्न भने । यता जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीलाई सोध्दा उनले अनुसन्धान गरी दोषी ठहरिए कार्बाही गर्ने बताए ।

सम्बन्धित समाचार