घुमुवा राजको छायाँमा सर्लाही,प्रहरी उपरीक्षक पौडेलमाथि गम्भीर प्रश्न

105 Shares

५१ किलो मिटर भारतसँग खुला सीमा जोडिएको सर्लाहीमा पछिल्लो समय तस्करी गतिविधि अस्वाभाविक रूपमा बढेको भन्दै प्रहरी संगठनभित्रै प्रश्न उठ्न थालेको छ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक रविन्द्र नाथ पौडेलले नेतृत्व सम्हालेदेखि नै सुरक्षा व्यवस्थामाथि अहिले विभिन्न कोणबाट चर्चा र आलोचना सुरु भएकोे छ।
प्रहरी उपरीक्षक पौडेल सरुवा भई सर्लाही आएदेखि नै प्रहरी नियमावली २०७१ विपरित सादा पोशाकमा प्रहरी कर्मचारी परिचालन गर्न तम्सीएपछि सर्लाहीका स्मिानाकाहरुबाट भन्सार छली मौलाउन थालेपछि उनको नेतृत्वमा रहेको सर्लाही प्रहरी माथि प्रश्न खडा भएको छ ।असार ६ गते सर्लाहीको इश्वरपुर नगरपालिका–४ सागरनाथमा भएको नागरिक सुनुवाई कार्यक्रममा प्रहरी उपरीक्षक पौडेलको प्रस्तुतीले प्रहरी संगठनको गरिमामाथि नै प्रश्न खडा गरेको छ ।
“सीमा क्षेत्रमा सञ्चालित कुखुरा फर्महरुमा रातारात ब्रोईलर कुखुरा भरीन्छ कसरी र निकासी हुन्छ कसरी ?भारतबाट चिसो पेय पदार्थका साथै सुर्तीजन्य पदार्थहरु सीमानाका भन्दा करिब २५–३० किलो मिटर माथि सम्म आउँछ कसरी ?सर्लाहीको इश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाका विभिन्न स्थानबाट दैनिक १५–१८ वटा पिकअप भ्यानहरु माछा बोकेर संघीय राजधानी सहित देशका विभिन्न स्थानमा जान्छन।तर ट्राफिक प्रहरीको कार्बाही न्यून देखिन्छ किन ?सर्लाहीका करिब डेढ हर्जन होटल,जलहरुका साथै खाजा घरहरु र रेष्टुरेन्टहरुमा खानेकुरा नपाउने ठाउँमा पनि खुलेआम देह व्यापार हुँदा पनि प्रहरी मौन बस्छन् पर्ने कुनै कारण छ र ? कि कमिसनमा मस्त हो ?”भन्दै नागरिक सुनुवाई कार्यक्रममा उठेको प्रश्नको जवाफ दिने क्रममा उनले प्रश्नकर्तालाई आफ्नो चरित्र सुधारेर आउन भन्दै दुव्र्यवहारपूर्ण शब्द प्रयोग गरेपछि उनीबाट सर्लाहीमा शान्ती सुरक्षा तथा गैर कानूनी कार्य न्यूनिकरण हुने अपेक्षा अधुरो भएको हो ।
प्रहरी नियमावली २०७१ विपरित जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट करिब आधा दर्जन प्रहरी कर्मचारीहरुलाई सादा पोशाकमा परिचालन गरेका प्रहरी उपरीक्षक पौडेलबाट सर्लाहीमा शान्ती सुरक्षा तथा गैर कानूनी कार्य न्यूनिकरण हुने नागरिकहरुको अपेक्षामा विराम लागेको छ । 
प्रहरी उपरीक्षक पौडेल सर्लाही प्रहरी प्रमुखको रुपमा आएदेखि नै सहायक हबल्दार धर्मेन्द्र पटेल,राजेश यादव,हबल्दार मख्खन हजरा सहित प्रहरी जवान दिनेश साह,सुमन पण्डित,चहात मन्सुर,राम दियाल बोट र अजय सहनीलाई सादा पोशाकमा विभिन्न वाहनामा परिचालन गरी संगठनको नियमावली विपरित चलेका रहस्य फेला परेको छ।आफुलाई  आदर्शबादी बताउने प्रहरी उपरीक्षक पौडेलले आधार दर्जन प्रहरी कर्मचारीहरु सादा पोशाकमा खटाउँदा ईलाका प्रहरी कार्यालयहरुका साथै सीमा प्रहरी चौकीहरु र प्रहरी चौकीहरुले आफ्नै तरिकाले छुट्टै सादा पोशाकमा प्रहरी कर्मचारीहरु परिचालन गरेका पाइएको छ ।
स्थानीय व्यापारी तथा सुरक्षा स्रोतहरूका अनुसार उक्त टोलीले आफूहरू जिल्ला मात्र नभई प्रदेश तहसम्म पहुँच भएको बताउँदै सीमा नाकाबाट हुने तस्करीलाई प्रोत्साहन दिएका पाइएको छ।केही व्यापारीहरूका अनुसार उनीहरूले आफूहरू उच्च प्रहरी नेतृत्वसँग समेत प्रत्यक्ष सम्पर्कमा रहेको दाबी गर्दै प्रभाव जमाउने प्रयास गर्ने गरेका छन्।जिल्लामा लामो समयदेखि कार्यरत सुरक्षा निकायका केही कर्मचारीहरू भने घुमुवा टोलीको अस्वाभाविक सक्रियताप्रति असन्तुष्ट देखिन्छन्।
सीमावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीहरूको गुनासो अनुसार घरायसी प्रयोजनका लागि भारतबाट सामान्य उपभोग्य सामाग्री ल्याउने नागरिकमाथि कडाइ गरिने गरेको छ।तर ठूलो परिमाणमा हुने संगठित तस्करी भने रोक्न नसकिएको आरोप छ।स्थानीय स्रोतहरूका अनुसार सीमाक्षेत्रमा सक्रिय केही समूहले ठूलो परिमाणमा सामान ओसार पसार गरिरहेको भए पनि प्रभावका आधारमा उनीहरूलाई छुट दिइने गरेको चर्चा व्यापक छ।प्रहरी भित्रकै केही स्रोतहरूले पनि संगठित तस्करी नियन्त्रणमा अपेक्षित परिणाम नदेखिएको स्वीकार गर्छन्।
स–साना र घरका लागि अत्यावश्यक सामान सीमा पारिबाट ल्याउने व्यक्तिका सामान्य सामान बरामद गर्ने यी घुमुवाहरूले ठूला र संगठित तस्करका सामान भने छोडिदिने गरेका छन्। ५१ किलो मिटरको दुरीमा भारतसंग खुल्ला सीमाना रहेको सर्लाहीका सीमा नाकाहरुबाट भेप सहित भैंसी,पाडा,खसी बाख्रा,कुखुराका साथै माछा र हार्डवेयर तथा कपडाहरुका साथै ब्राजेलियन मकै ,कुखुरा,कपडा,कस्मेटिक,कुखुराका चल्ला,मोवाइलका पार्टपुर्जा,भारतीय मिठाइ र मोटर पार्टसहरुका साथै सुर्तिजन्य पदार्थको तस्करी खुलेयाम भइहेको छ ।
सीमाक्षेत्रका बासिन्दाहरूका अनुसार भारतबाट नेपालतर्फ भैंसी,पाडा,खसी बाख्रा,कुखुराका साथै माछा र हार्डवेयर तथा कपडाहरुका साथै ब्राजेलियन मकै,कुखुरा,कपडा,कुखुराका चल्ला, मोवाइलका पार्टपुर्जा,भारतीय मिठाइ र मोटर पार्टसहरुका साथै सुर्तिजन्य पदार्थ र केराको आयात हुन्छ भने कस्मेटिक समाग्रीहरु,फर्सीको बिउ,चाईनिज स्याउका साथै गोरु,बालुवा,गिट्टी र चाईनिज लसुनको निकासी हुने गरेको पाइएको हो।यस्ता वस्तुहरुको अवैध आयात तथा निर्यातले नेपाली अर्थतन्त्रमा ठूलो प्रभाव परेको अर्थविद्धहरु बताउँछन् ।
स्थानीय व्यवसायीहरू भन्छन्, “तस्करी रोक्नुपर्ने निकाय नै प्रभावशाली समूहसँग नजिक भएको आशंका बढेपछि कानुनी रूपमा व्यापार गर्नेहरू मारमा परेका छन्।”राजस्व छली गरी हुने यस्ता गतिविधिले राज्यलाई करोडौं रुपैयाँ बराबरको राजस्व नोक्सानी पुग्ने अर्थविद्हरूको भनाइ छ। यसले वैधानिक व्यवसायीलाई प्रतिस्पर्धामा कमजोर बनाउनुका साथै स्थानीय अर्थतन्त्रमा समेत नकारात्मक असर पार्ने गरेको छ।
सबैभन्दा ठूलो प्रश्न भनेको जिल्लाबाहिर दरबन्दी भएका प्रहरी कर्मचारी किन सर्लाहीमा सक्रिय छन् भन्ने हो।प्रहरी संगठनभित्र पछिल्लो समय घुमुवा संस्कृतिलाई नियन्त्रण गर्ने अभियान सञ्चालन भइरहेको छ।प्रहरी प्रधान कार्यालयले संगठनको छवि बिगार्ने तथा विवादमा मुछिएका घुमुवा प्रहरीलाई अन्तर प्रदेश सरुवा गर्ने नीति अवलम्बन गरेको बताइन्छ।तर सर्लाहीमा भने अन्य जिल्लामा दरबन्दी भएका प्रहरी कर्मचारीहरू लामो समयदेखि सक्रिय रहेको आरोप उठेको छ।उनीहरूलाई विधिवत् रमाना गरिएको हो वा होइन भन्ने विषयमा समेत प्रश्न उठेको छ।यदि उनीहरू आधिकारिक रूपमा जिल्लामा खटिएका हुन् भने त्यस सम्बन्धी आदेश सार्वजनिक हुनुपर्ने स्थानीय सरोकारवालाहरूको माग छ।अन्यथा दरबन्दी बाहिरका प्रहरीको सक्रियता स्वयंमा प्रशासनिक प्रश्न बन्न सक्ने कानुनविद्हरू बताउँछन्।
प्रहरी स्रोतहरूका अनुसार घुमुवा टोलीले कतिपय अवस्थामा मातहतका सीमा प्रहरी चौकीहरु, प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालयका प्रमुखहरूलाई समेत प्रत्यक्ष निर्देशन दिने शैली अपनाउने गरेको आरोप छ।कतिपय प्रहरी अधिकृतहरू अनौपचारिक रूपमा भन्छन्,“घुमुवा टोलीका सदस्यहरूले एसपी सावको नाम लिएर दबाब दिने,आफूहरू नै निर्णयकर्ता भएको जस्तो व्यवहार गर्ने तथा मातहतका कार्यालयमाथि अनावश्यक हस्तक्षेप गर्ने गरेका छन्।”यदि यस्तो भइरहेको हो भने यसले प्रहरी संगठनको कमाण्ड प्रणालीमै प्रश्न उठाउने सुरक्षा विश्लेषकहरूको भनाइ छ।
सीमावर्ती जिल्लामा तस्करी नियन्त्रण केवल स्थानीय प्रहरीको मात्र जिम्मेवारी नभई प्रदेश तथा केन्द्रको समेत साझा दायित्व हो।त्यसैले उठिरहेका आरोपबारे प्रहरी प्रधान कार्यालय,मधेश प्रदेश प्रहरी कार्यालय तथा सम्बन्धित निकायले गम्भीर रूपमा छानबिन गर्नुपर्ने माग बढ्दै गएको छ।खुला सीमाको संवेदनशीलता,राज्यको राजस्व,स्थानीय सुरक्षाको अवस्था तथा प्रहरी संगठनको विश्वसनीयता जस्ता विषय प्रत्यक्ष रूपमा जोडिएकाले सर्लाहीको अवस्था अब केवल स्थानीय मुद्दा मात्र नभई नीतिगत बहसको विषय बन्न थालेको छ।आरोपहरू सत्य हुन् वा होइनन् भन्ने कुरा निष्पक्ष अनुसन्धानबाट मात्र पुष्टि हुनेछ।तर सीमाक्षेत्रमा बढ्दो तस्करी, घुमुवा संस्कृतिको पुनरावृत्ति र प्रहरी नेतृत्वमाथि उठेका प्रश्नहरूले सर्लाहीको सुरक्षा व्यवस्थालाई गम्भीर बहसको केन्द्रमा ल्याइ दिएको छ। 

सम्बन्धित समाचार