चक्रघट्टाका सामुदायिक विद्यालयमा पहिलो पटक अंग्रेजी माध्यमबाट पठनपाठन सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-८ गते   १२२५ पटक हेरिएको

सर्लाहीको चक्रघट्टा गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन सुरु भएको छ । चक्रघट्टा गाउँपालिका ८ स्थित औरहीमा रहेको जनता माध्यामिक विद्यालयमा बाल विकास कक्षाबाट अंग्रेजी माध्यमको पढाई पहिलो पटक सुरु भएको हो ।
नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरि विद्यालयले बाल विकास कक्षाबाट अंग्रेजी माध्यमको पढाई पहिलो पटक सुरु गरेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार यादवले बाल विकासका विद्यार्थीलाई अंग्रेजी माध्यमको पुस्तक वितरण गर्दै बाल विकास कक्षाबाट अंग्रेजी माध्यमको पढाई पहिलो पटक सुरु भएको घोषणा गर्नु भएको हो ।
गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधि,अभिभावक र विद्यार्थीहरुको उपस्थितिमा अंग्रेजी माध्यमको पठनपाठन कार्य शुभारम्भ भएको विद्यालयका प्रधानाध्यापक लक्ष्मीकान्त रायले जानकारी दिनुभयो । चुनावी घोषणापत्रमा उल्लेख गरे अनुसार आफूले बालविकास कक्षादेखि पालिकाका सम्पूर्ण विद्यालयमा अंग्रेजी माध्यमको पठनपाठन सुरु गराएको गाउँपालिकाका अध्यक्ष यादवले बताउनु भयो । उहाँले यस वर्ष पहिलो पटक बाल विकासदेखि सुरु गरिएको र अगामी वर्षहरुमा बर्सेनि एक÷एक कक्षा थपिँदैं लैजाने बताउनु भयो ।
शिक्षा क्षेत्रमा देखिएका कमी कमजोरीलाई क्रमिक रुपमा सुधार गर्दै लैजाने योजना अनुसार पहिलो काम अंग्रेजी माध्यमको पठनपाठन सुरुवात गरिएको गाउँपालिका अध्यक्ष यादवले बताउनु भयो । विस्तारै गाउँपालिकामा देखिएको शिक्षक अभाव, भौतिक संरचनाको निर्माण, विद्यार्थी भर्ना लगायतका कामलाई पनि अगाडी बढाइने गाउँपालिका अध्यक्ष यादवले प्रतिबद्धता जनाउनु भयो । गाउँपालिकाको यो अभियानले शिक्षा क्षेत्रमा सुधार हुने अपेक्षा आफूहरुले राखेको   गाउँपालिकाकी उपाध्यक्ष मीनादेवी यादवले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech