सर्लाहीमा ठूलो जुवा खेल हुने गरेको रहस्य सार्वजनिक,प्रहरीको संरक्षण रहेको आशंका

348 Shares

सर्लाहीका विभिन्न स्थानमा सुरक्षा अधिकारीहरुकै मिलेमतोमा जुवा खेल हुने गरेको पाइएको छ।शहरका विभिन्न स्थानमा प्रहरीले कारबाही गरेको देखाए पनि सर्लाहीका विभिन्न स्थानहरुमा ठूलो जुवालाई सुरक्षाकर्मीहरुले नै संरक्षण गरेका पाइएको छ । राजधानीका केही पाँचतारे होटल,रिसोर्ट,गुप्त कोठा र भाडाका भवनहरूमा संगठित रूपमा हुने जुवा खेललाई रोकेको प्रहरी संगठनले भित्रि गाउँहरुमा करोडौँको जुवा खालबाट रकम असुली गर्ने गरेको पाइएको हो।सर्लाहीको ब्रम्हपुरी,पीडारीका साथै राईटरखोर र बागमतीमा रातिको समयमा ठुलो जुवा खेल हुने गरेको पाइएको हो ।
स्रोतका अनुसार ललन साह र श्याम बाबु साहले हरेक रात करिब १० बजेदेखि विभिन्न स्थानका मानिसहरुलाई जम्मा पारेर जुवा खेलाउने र त्यस वापत स्थानीय प्रहरी चौकीहरुलाई कमिसन दिने गरेका पाइएको छ।जसका कारण केही स्थानीयले प्रहरीलाई खबर गरे भने पनि प्रहरीले जुवा खेल भई रहेको स्थानमा जानु पहिला नै जुवाडेहरुलाई जानकारी दिने र भगाउने गरेको स्थानीयको आरोप छ।रातीको समयमा धरान, विराटनगर,सिरहा,सिन्धुली,धनुषा र महोत्तरी सहित सर्लाहीका पनि जुवाडेहरु जम्मा हुने र एकै रातमा करोडौँको जुवा खेल्ने गरेका पाइएको छ।
सो विषयमा हामीलाई जानकारी आएपछि हामीले केही प्रहरी कार्यालयहरुका प्रमुखहरुलाई जानकारी गराउँदा ती प्रहरी अधिकारीहरुले आफुहरुको हैसियतले त्यो खेल रोक्न नसकिने र यसका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही,शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाही,मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र शसस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीलाई नै सोध्न र उतैबाट बन्द गराउन निर्देशन दिन लगाउन भनेपछि उनीहरुको मिलेमतोमा जुवा खेल हुने गरेको रहस्य बाहिरिएको हो।
सो विषयमा शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम शसस्त्र प्रहरी उपरिक्षक देव बहादुर चन्दले आफु भरखरै सर्लाही आएको र बदनाम गराउन अन्य मानिसहरु लागि परेका बताए।उनले आफुहरुलाई छापामार्ने अधिकार नरहेको र नेपाल प्रहरीले छापामारी गर्न सहयोग मागे आफुहरु जान तयार रहेको समेत बताए। यता, जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रमुख एवम प्रहरी उपरिक्षक रविन्द्र बहादुर  सिंहलाई जानकारी गराउँदा केही दिन पहिला आफुहरु जिल्लाका केही ठाउँहरुमा छापामारी गर्न गएको भएपनि जुवाडेहरुले प्रहरी गएको सुराकी पाएपछि उनीहरु भागेका कारण नियन्त्रणमा लिन नसकेको बताए।उनले आफुहरुले मानिसहरु नियन्त्रणमा लिन नसकेपनि खेल भई रहेको ठाउंबाट मानिसहरु लखेटेको बताए।यसबाट जिल्लाका विभिन्न स्थानहरुमा ठूलो जुवा खेल हुने गरेको प्रष्ट हुन्छ।यसका साथै शसस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका सादा पोशाका शसस्त्र प्रहरी अधिकारीहरु पनि सो स्थानको पहिचानका लागि गएका भएपनि के कुन उद्धेश्यले उनीहरु त्यहाँ गए भन्ने एकिन हुन सकेको छैन्।तर खेल निरन्तर भई रहनुले उनीहरुपनि लाईन मिलाउन गएका हुन भन्ने सहजै आशंका गर्न सकिने स्थानीयको भनाइ छ।स्रोतका अनुसार,प्रहरीको आँखा छल्न जुवा सञ्चालकहरूले “सेटिङ”को नाममा मासिक ठूलो रकम कमिसन प्रहरी अधिकारीहरूलाई बुझाउने गरेका स्थानीयको आरोप छ।
रातको समयमा मात्र सञ्चालन गरिने यस्ता जुवाको अखडामा धनाढ्य व्यापारी,उच्चपदस्थ कर्मचारी तथा प्रभावशाली व्यक्तिहरू सहभागी हुने गरेका पाइएको छ। यस्ता अवैध गतिविधि नियन्त्रण गर्न प्रहरी संगठनभित्रको भ्रष्टाचार हटाउनु आवश्यक रहेको जानकारहरु बताउँछन्।उनीहरुका अनुसार प्रहरीकै मिलेमतोमा जुवा खेलाइरहने हो भने समाजमा अपराध,ऋण तथा पारिवारिक विघटनका घटनाहरू झनै बढ्ने छन् ।

सम्बन्धित समाचार